पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपालमा आर्थिक सङ्कटमा परेको चिन्ता व्यक्त हुन थालेका छन्। तर यसैबिच राष्ट्र बैङ्कका गभर्नरको निलम्बनको विषयले देशमा थप अन्योल छाएको छ। यस लगायत पछिल्लो सात दिनका प्रमुख समाचार यस हप्ताको नेपाल सन्दर्भमा।
यस हप्ताका प्रमुख समाचारमा:
- नेपालले यही बिहीबारदेखि नयाँ वर्ष २०७९ को स्वागत गरेको छ। नयाँ वर्षका अवसरमा भक्तपुरमा बिस्केट जात्रा, पनौतीमा मेला, बोडेमा जिब्रो छेड्ने जात्रा र सुदूर पश्चिममा विशु पर्वका साथै विभिन्न समुदायले विभिन्न किसिमले यो अवसर मनाएका छन्।
- नयाँ वर्ष लागेसँगै नेपालमा आर्थिक सङ्कटका लक्षणहरू बढ्दै गएका देखिन्छन्। रुस युक्रेन युद्धको प्रभावले विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ र नेपाल गहिरो आर्थिक सङ्कटमा परेको सर्वत्र चिन्ता छ। तर अर्थ मन्त्रालय भने त्यसलाई अस्वीकार गर्दै अवस्था सामान्य रहेको र नेपालले सतर्क मात्र रहनुपर्ने बताउँदै आएको छ। सर्वसाधारणले खानेकुरा, तरकारी लगायतका अत्यावश्यक वस्तुको बढ्दो महँगीको मर्कामा परिरहँदा अर्थमन्त्रीले राष्ट्र ब्याङ्कका गभर्नरलाई निलम्बित गरेपछि अन्योल थपिएको छ।
नेपालमा पछिल्ला केही महिनामा पेट्रोलियम पदार्थको मूल्य बारम्बार वृद्धि हुँदै पेट्रोलको मूल्य हालसम्मकै उच्च १६० रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजेल र हवाई इन्धनको मूल्य पनि त्यसरी नै बढेको छ।
नेपालको आयातको ठुलो हिस्सा अर्थात् १३ प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थको रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा यस वर्ष पेट्रोलियम आयात बापतको रकम झन्डै ९४ प्रतिशतले बढेको देखिएको छ।
नेपालले पेट्रोल मात्र दैनिक ५००० किलो लिटर खपत गर्छ, र नेपालका खाद्यान्न लगायतका धेरैजसो उपभोग्य वस्तु आयातित हुने गर्छन्।
यसरी पेट्रोलियम पदार्थ र अरू कुराको पनि मूल्य बढ्दा विदेशबाट ल्याइने वस्तुमा हुने खर्चको आकार बढेपछि नेपालको अर्थतन्त्र दबाबमा परेको छ र विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएको छ।
राष्ट्र ब्याङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले गत हप्ता अर्थतन्त्रको विषयमा यस्तो बताएका थिए।
पुरा रिपोर्ट सुन्नुहोस्: देश आर्थिक सङ्कटमा परेको चिन्ताका बिच गभर्नरको निलम्बनले थपेको अन्यौलता: साप्ताहिक नेपाल सन्दर्भ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले गएकोले मूल्यवृद्धिमा चाप पर्ने अवस्था रहेको छ भने आयातमा भएको वृद्धि तथा विदेशी मुद्रा प्रवाहका श्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सृजना भएको छ। बढ्दो आयात तथा पर्यटन जन्य आम्दानीमा आएको कमीका कारण चालु खाता तथा शोधनान्तार स्थिति यस आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर घाटामा रहेको अवस्था छ।"
त्यसपछि लगत्तै गत हप्ता नै सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई विभिन्न आरोप लगाएर निलम्बन गरेको छ।
गभर्नर अधिकारीमाथि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको, र अर्थतन्त्र बिग्रिनुको जिम्मेवार रहेको आरोप लागेका छन्।
अर्थमन्त्री जनार्दन शर्मा भन्छन्,
" राष्ट्र ब्याङ्कको अर्थ मन्त्रालयको सल्लाहका हो भन्ने सुनेको। अनि म गभर्नर साहबलाई सोध्ने गर्छु, के हो यो? के गर्नुभएको? कहिलेकाहीँ कोही निवेदन दिन आउँछ। त्यो निवेदन हेरिदिनुहोस् न भन्यो भने मिडियालाई लगेर बुझाइन्छ। मिडिया खोजेर गोप्य कुराहरू त्यहाँ पुर्याइन्छ, किन? कतिपय सूचनाहरू हुन्छन्, रिपोर्ट गर्नुपर्ने, रिपोर्ट हुँदैनन्।"
सरकारले यी आरोपमाथि छानबिन गर्नका लागि पुर्वन्यायधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ।

अर्थतन्त्रमा समस्या भएको बेलामा अचानक गभर्नरलाई निष्क्रिय बनाएकोमा सरकारको र विशेष गरी अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी आलोचना भएको छ।
अर्थमन्त्री शर्मामाथि शङ्कास्पद व्यापारी पृथ्वी शाहले सम्भवतः अवैध रूपमा भित्र्याउन खोजेको करोडौँ रुपैयाँ उनलाई दिलाउन लागिपरेको भन्ने आरोप लागिरहेको बेलामा यो थप आरोपले अर्थमन्त्रीमाथि नै प्रश्न उठाएको छ।
शर्मामाथि अर्थतन्त्रको वास्तविक स्थिति ढाकछोप गरेको आरोप लागिरहेको छ।
हाल आयात खर्च बढेर व्यापार घाटा इतिहासकै उच्च अवस्थामा पुगेको छ भने सर्वसाधारणले अकासिएको महँगीको मार खेपिरहेका छन्।
विगत केही महिनामा पेट्रोलको मूल्य वृद्धिका कारण थुप्रै विरोध प्रदर्शन भइसकेका छन् भने गत महिना एक समय पेट्रोल पाइनै छोडेको थियो।
पेट्रोलियम पदार्थ किन्नका लागि समेत पैसा सकिएर नेपाल आयल निगमले पनि १४ अर्ब भन्दा बढी ऋण दिन लागेको छ।
सरकारले भने आयात खर्च घटाउनका लागि हाल सवारीसाधन, सुन लगायतका विलासी वस्तुको आयातमा रोक लगाएको छ र विभिन्न मितव्ययीताका कदम चालेको छ।
अर्थतन्त्र सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्नका लागि सोमबार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर अर्थमन्त्री जनार्दन शर्माले भने,
"वित्त नीति तथा मौद्रिक नीति, सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, उद्योगमा बढोत्तरी, कम उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादन क्षेत्रमा आयात निरुत्साहन, सुन आयातमा कटौती, ब्याङ्कमार्फत विप्रेषणमा थप ब्याज प्रोत्साहन, वैदेशिक सहायताको प्रतिबद्धता समेत बाट अर्थतन्त्रको बाह्य दबाबको उपयुक्त व्यवस्थापन हुँदै जाने देखिन्छ।"
खपत घटाउनका लागि सातामा दुई दिन बिदा दिने, जोरबिजोर गाडी चलाउने जस्ता उपायहरू पनि राष्ट्र ब्याङ्कले सिफारिस गरेको छ।
तर यी तरिकाहरू मात्र पर्याप्त नभएको र नेपालले विदेशी मुद्रा भित्र्याउनु पर्ने अर्थविद्हरू बताउँछन्।
तर हाल भने नेपालमा विप्रेषण अर्थात् विदेशी कामदारले पठाउने रकम घटिरहेको देखिन्छ।
विदेशी मुद्रा भित्र्याउने एक प्रमुख बाटो पर्यटन पनि हो, तर कोरोना महामारीका कारण धराशायी भएको पर्यटन उद्योग हालसम्म पनि कोभिड पूर्वको अवस्थामा आउन सकेको छैन।
यस्तो अवस्थामा नेपालको स्थिति श्रीलङ्काको जस्तै होला भन्ने चिन्ता बढिरहेको छ भने अवस्था त्यस्तो नाजुक नभएको अर्थ मन्त्रालयको दाबी छ।





