SKIP TO MAIN CONTENT

"घाउमा नुन छर्कने": वान नेशनको कदमले अस्ट्रेलिया पोस्ट र मेलबर्न सिटी काउन्सिल बिच झगडा

One Nation leader Pauline Hanson is threatening to take the Queensland Government to court.
One Nation leader Pauline Hanson Source: AAP

वान नेशनद्वारा जन-आवासको लागि प्रयोग गरिएको एक भवनका निवासीहरूका लागि आफ्नो दलको लोगो र एक नारा सहित पठाएको ११४ वटा "स्टबी होल्डर" मेलबर्न सिटी काउन्सिलले पुर्‍याउन नमानेपछि अस्ट्रेलिया पोस्ट पनि विवादित बन्न पुगेको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

वान नेशनद्वारा जन-आवासको लागि प्रयोग गरिएको एक भवनका निवासीहरूका लागि आफ्नो दलको लोगो र एक नारा सहित पठाएको ११४ वटा "स्टबी होल्डर" मेलबर्न सिटी काउन्सिलले पुर्‍याउन नमानेपछि अस्ट्रेलिया पोस्ट पनि विवादित बन्न पुगेको छ।


गत जुलाई महिनामा मेलबर्नको फ्लेमिंगटन र नर्थ मेलबर्नमा रहेका जन-आवासको लागि प्रयोग गरिएका ९ भवनहरूलाई लकडाउनमा राखिँदा, त्यहाँका सयौँ मानिसहरू आफ्ना घर-कोठाबाट बाहिर जान पाएका थिएनन्।

ती मध्ये एक बिल्डिङमा रहेका सबै अपार्टमेन्टहरूका लागि, वान नेशनको लोगो सहितको बोतल वा क्यानहरूलाई चिसो राख्न प्रयोग गरिने "स्टबी होल्डर" पठाइएको थियो।

तर मेलबर्न सिटी काउन्सिलद्वारा उक्त प्रचार सामग्रीको डेलिभरीमा रोक लगाइएपछि, अस्ट्रेलिया पोस्टकी कार्यकारी प्रमुख क्रिस्टिन होलगेटले मेलबर्न सहरका अधिकारीहरू विरुद्ध प्रहरीमा रिपोर्ट गर्ने धम्की दिइएको कथित दाबीहरू बारे हाल समाचार आइरहेका छन्।

मेलबर्नमा कोरोनाभाइरस सङ्क्रमणलाई बढ्न नदिन, सरकारी अपार्टमेन्टहरूमा बस्ने मानिसहरूलाई लक्षित सरकारी कदमको आलोचना गरिएको थियो।

तर वान नेशन नेत्री पलीन ह्यान्सनले चाहिँ ती अपार्टमेन्टहरूमा बस्ने आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूले - आफूहरूलाई यसरी लकडाउनमा राखिएको बारे आलोचना गर्न नपाउने बताएकी थिइन्।

साथै लागूपदार्थ र मदिरा दुर्व्यसनमा लागेकाहरू प्रति उपयुक्त कदम चालिएको उनको भनाइ थियो।

त्यसको केही दिन पछि, वान नेशनद्वारा जन-आवासको लागि प्रयोग गरिएको एक भवनका निवासीहरूका लागि आफ्नो दलको लोगो र एक नारा सहितको ११४ वटा "स्टबी होल्डर" पठाएको थियो।

बोतल वा क्यानहरूलाई चिसो राख्न, हातमा समात्न मिल्ने उक्त होल्डरमा "तपाईंले सोची रहेको कुरा बोल्न हामी डराउँदैनौ" भनी लेखिएको थियो। साथै "नो हार्ड फीलिंग्स" वा पलीन ह्यान्सनको भनाइ प्रति नरिसाउन पनि एक छुट्टै पर्चा मार्फत आग्रह गरिएको थियो।

उक्त प्रचार सामाग्री पाउने स्थानीय निवासी मध्ये एक थिए अहमद डिनी र उनी भन्छन् शरणार्थी र आप्रवासीहरू बारे दुष्प्रचार गर्ने व्यक्तिबाट यस्ता सामाग्री पठाउनु भनेको संवेदनशीलताको कमी हो।

सो समयमा लकडाउनमा रहेका सबै अपार्टमेन्टका लागी चिठ्ठीहरू मेलबर्न सिटी काउन्सिलका कर्मचारीहरूले पुर्‍याउने गरेका थिए र परिस्थितिलाई ध्यानमा राख्दै वान नेशनका प्रचार सामाग्रीहरू अपार्टमेन्टहरूमा नपुराउने आफूहरूले निर्णय गरेको बत्ताउँछिन्, मेलबर्नकी मेयर स्याली क्याप।

Melbourne Lord Mayor Sally Capp has condemned the attack on two Chinese students.
Melbourne Lord Mayor Sally Capp Source: AAP

मेलबर्न सिटी काउन्सिलको उक्त कदमबारे प्रतिक्रिया दिनेहरूमा रहेका सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले स्टबी होल्डर पठाइएका मानिसहरूले त्यसको प्रयोग कतिको गर्लान् त भन्नेबारे प्रश्न गरेका थिए।

अस्ट्रेलिया पोस्टलाई चाहिँ मेलबर्न सिटी काउन्सिलको निर्णय स्वीकार्य रहेन।

मेलबर्नबाट प्रकाशित हुने दैनिक पत्रिका दि एजका अनुसार, ती वान नेशन पार्सलहरू काउन्सिलद्वारा वितरण नगरिए, प्रहरी बोलाउनबारे पनि आफूहरूले सोच्न सक्ने भन्दै अस्ट्रेलिया पोस्टद्वारा धम्की दिइएको थियो।

अस्ट्रेलिया पोस्टद्वारा चिट्ठीहरुहरु पुराउने सङ्ख्यालाई घटाउने आफ्नो प्रयासलाई सङ्घीय संसद्को माथिल्लो सदनमा पारित गराउन, वान नेशनको समर्थन चाहिने भएकोले, राष्ट्रिय हुलाक सेवाको उक्त कदम आएको दाबी गरिएको छ।

तर अस्ट्रेलिया पोस्टले चाहिँ, आफ्नो कार्यकारी प्रमुख क्रिस्टिन होलगेटको उक्त मामिलामा कुनै प्रत्यक्ष भूमिका नरहेको बताएको छ।

साथै होलगेटले सांसद ह्यान्सन वा वान नेशनसंग पनि यसबारे केही कुरा नगरेको र मेलबर्न सिटी काउन्सिललाई उनले धम्क्याएको भन्ने आरोप पनि गलत रहेको अस्ट्रेलिया पोस्टको भनाइ छ।

उक्त विवाद बारे प्रतिक्रिया लिन एसबीएसद्वारा वान नेशनलाई सम्पर्क गरिएता पनि, उक्त पार्टीले यो सामाग्री तयार पारुन्जेल कुनै प्रतिक्रिया पठाएको छैन।

तर पलीन ह्यान्सनले चाहिँ सामाजिक सञ्जाल मार्फत "स्टबी कुलर" बारे जरुरत भन्दा बढी चर्चा भएको दाबी गरेकी छिन्।

उनको उक्त कदमको पनि अहमद डिनीले आलोचना गरेका छन्।

आफूहरूले सामना गर्नुपरिरहेको सङ्कटको समयमा ह्यान्सनको प्रचार सामाग्रीले आफूहरूको घाउमा नुन छर्किने प्रयास गरेको डिनी बत्ताउँछन्।

साथै अपार्टमेन्टका केही अन्य निवासीहरुले पनि वान नेशन नेत्रीको पछिल्लो कदमलाई ठट्टा को रूपमा लिन नमिल्ने बताएका छन्।

त्यसै गरी मेलबर्न सिटी काउन्सिलले पनि सो दलद्वारा स्टबी होल्डर पठाउने कदम राजनीतिक नाटकको रूपमा रहेकोले ती सामग्रीहरू नपुर्‍याउने निर्णय गरेको भन्दै आफ्नो कदमको बचाउ गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now