अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा आउनेहरू धेरैको गुनासो हुन्छ - यार, यहाँ जीवन त तनावले भरिएको छ। कामको तनाव, पढाइको उस्तै, अनि कहिलेकाहीँ कोठा पाउनेको पनि।
यता मिलायो उता फुस्कने डर, उता मिलायो यता बिग्रने पिर। अनि, यी बाहेकका कुराहरूमा समय मिलाउन फुर्सद कहाँ र?
तर, नीरज थापा मगर, जसले हालै मात्र सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन सकेका छन्, यसमा फरक मत राख्छन्।
उनको विचारमा कामको प्राथमिकता अनुसार समय छुट्टयाउन सकेमा जति गर्यो मानिएका काम पनि व्यवस्थित गर्न सकिन्छ।
“हो, सजिलो छैन। तर मन लागेको काम गर्न नपाउने पनि हैन,” उनी भन्छन्।
थापा मगरले पढाई र कामका साथसाथै उनीलाई मन लागेको “सोसल इनोभेसन”का कार्यहरूमा पनि निकै संलग्न भए। उनी अझै त्यसमा सक्रियताका साथ लागि परेका छन्।
“समाजमा रहेको समस्यहरु अलिक फरक ढङ्गले सोचाई राखी काम गरेमा थोरै भए पनि सुधार हुन्छ,” भन्दै थापा मगरले त्यस किसिमको प्रगति ल्याउने काम र सोचको ढाँचालाई सोसल इनोभेसन भनिने बताए।

व्यवसायले काम गर्ने तरिकामा केही परिवर्तन ल्याउँदा पनि समाजमा फरक ल्याउन सक्छ भन्ने उनको भनाई छ।
“मलाई पहिले देखि नै राम्ररी चलाएको व्यवसायले समाजमा पार्ने फरक प्रति चासो थियो,” उनले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताए।
नेपालमा आफू राम्रो विद्यार्थी रहेका कारण परिवार र अन्यबाट ‘साईन्स’ लिनै पर्छ भन्ने दबाब आएका कारण नचाहँदा नचाहँदै ईन्जिनेरिङ्ग गर्न पुगेका थिए उनी।
“यहाँ आएर बल्ल मैले इञ्जिनियरिङ्गमै भए पनि म्यानेजमेन्टको विषय पढ्ने मौका पाए,” आँखामा खुसी झल्काउँदै उनले भने।
पढाइको क्रममा उनले स्टोरिफ्याक्ट्रीसँग सम्बन्धित भएर पनि काम गरे, जसले पश्चिम सिड्नीका बाटो बिराएका युवाहरूलाई पुन: पढाइको मार्गमा फर्काउने प्रयास गर्छ।

‘गिभिङ्ग युथ अपरट्युनिटि’ नामक अभियान सुरु गर्न पनि थापा मगरले सहयोग गरेका थिए जसको फलस्वरूप आशा मारेका युवाहरूले टेक्निकल वा मार्केटिङ लगायतका सिपहरू कमाउने मौका पाउँछन्।
अहिले उनी सिड्नीमा रहेको क्याम्पसमा सोसल इनोभेसनका प्रमुख पनि हुन्।
पढाई बाहेक विश्वविद्यालयले चलाउने विभिन्न कार्यक्रमहरूमा सक्रिय भएका कारण विभिन्न मौकाहरू पनि उनले पाउँदै गरे।
क्विन्सल्याण्डमा रहेको ग्लयाडस्टोन क्याम्पसमा भएको नेतृत्व तालिममा पनि उनले भाग लिए।
जुझारु रूपले सामाजिक लाभका कार्यमा लागिपरेका थापा मगरको कामलाई कदर गर्दै अमेरिकामा हुने एक कार्यक्रमका लागि विश्वविद्यालयले चयन गरेर आफ्नो तर्फबाट त्यहाँ पठायो।

क्यालिफोर्नियामा भएको उक्त सम्मेलनमा संसारको विभिन्न स्थानहरूबाट आएका सामाजिक परिवर्तनका अभियानकर्ताहरुसँग भेट्ने मौका पाएको उनले बताए।
“नयाँ कुरा सिक्न र अन्य ठाउँहरूमा भएको प्रगतिको बारेमा बुझ्न यो भ्रमण अविश्मरणियनै रह्यो,” थापा मगरले हामीलाई बताए।
अस्ट्रेलिया आएपछि आफूलाई मन लागेको क्षेत्रमा यसरी हाम फाल्न सजिलो भएको उनी बताउँछन्।
“आफू पढेकै क्याम्पस व्यक्तित्व विकासका लागि धेरै नै अवसरहरू रहेका थिए र मैले सकेसम्म त्यसको उपयोग गर्न खोजे,” उनी भन्छन्।
अहिले आफू यसरी निकै ठाउहरुमा गएर विभिन्न मानिसहरूलाई भेटी आफ्नो कुरा राख्ने गरेको उनले बताए।
“नेपालमा म यस्तो खुलिसकेको थिइन्। तर यहाँ आएपछि सबै कुरा सुरुवात खाली पानाबाट हुन्छ।यसले गर्दा पूर्वाग्रहरहित वातावरणमा मैले आत्मा विश्वासको विकास गर्ने वातावरण पाएँ ,” उनले भने।

नेपालमा अवसरको कमी रहेको भन्ने धेरै मानिसहरूको सोचाइसँग उनी सहमत छैनन्।
“नेपालमा गएर हामी के गर्न सक्छौ भन्ने कुरा त्यहाँ नगई थाहै हुन्न। हामी मात्र नकारात्मक सोच्छौ, नेपालको धुवाँ-धुलो, ठप्प सडक र कुथिति,” थापा मगरको भनाई थियो।
“तर त्यहाँ धेरै राम्रा कुराहरू पनि छन्। केही समय लाग्ला, तर अवसर त त्यहाँ पनि सुरु हुन्छ नै,” पुरै विश्वासका साथ उनले उद्घोष गरे।
नीरज थापा मगर हाल टिच फर नेपालको अर्थ सङ्कलनमा पनि संग्लग्न रहेका छन्।




