नर्दर्न टेरिटोरीको राजधानी डार्विनको स्थानीय सरकारले दुइ नेपाली संस्थालाई यस वर्षको अस्ट्रेलिया दिवस अन्तर्गतको उच्च पदकबाट संयुक्त रुपमा सम्मानित गरेको छ। नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरी र उक्त प्रदेशमा रहेको गैर आवासीय नेपाली संघ एनआरएन अस्ट्रेलियाको शाखाले स्थानीय समुदायमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त सम्मान पाएका हुन्।
२००८ मा स्थापना गरिएको 'नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरी' (न्यान्ट्) ले नेपाली समुदायलाई सेवा गर्ने उद्देश्य लिदैं नर्दर्न टेरिटोरी बहुसांस्कृतिक काउन्सिलको समितिमा २००९ देखि नै प्रतिनिधित्व जनाउँदै आएको छ।
स्थानीय काउन्सिलको वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा नव आगन्तुक नेपाली आप्रवासी, विद्यार्थी र स्थानीय नेपाली समुदायको आवश्यकता अनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भनिएको छ।
उक्त संस्थाले २०१८ मा पहिलो पटक उक्त प्रदेशमा रहेको गैर आवासीय नेपाली संघ एनआरएन अस्ट्रेलियाको शाखासँगको सहकार्यमा आयोजना गरेको नेपाल फेस्टिभलको लागी 'डार्विनको वर्षको उत्कृष्ट सामुदायिक कार्यक्रम' को उपाधि दिइएको हो।
डार्विनका लर्ड मेयर कोण भ्यट्स्क्यलिस् ले भने, "अस्ट्रेलिया दिवसको अवसरमा यो वर्ष पुरस्कृत हुनेहरू सर्बोत्कृष्टता, लगन र डार्विन समुदायलाई बसोबासका लागी अझ राम्रो बनाउनमा गरेको अथक मेहनतका लागी पुरस्कार पाउन योग्य छन्।"
स्थापना गरिए देखि नै नेपाली नयाँ वर्ष मनाउन कार्यक्रम आयोजना गर्दै आएको नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीले नेपाली नयाँ वर्ष र संस्था स्थापनाको दश वर्ष पुगेको अवसरमा नेपाल फेस्टिभलको आयोजना गरेको थियो।
डार्विनमा आयोजना भएका कार्यक्रमहरू मध्येबाट चुनिएर सम्मानित भएको नेपाल फेस्टिभल २०१८ डार्विनको गैर आवासीय नेपाली महासङ्घको नर्दर्न टेरिटोरीको समन्वय समितिको सहयोगमा न्यान्ट् ले आयोजना गरेको थियो।

संस्थाका अध्यक्ष सुवास पोखरेलले एसबीएस नेपालीसँग कुरा गर्दै उक्त नेपाल फेस्टिभलमा नेपालको सांस्कृतिक सम्पदाका बारेमा नेपाली सँग सँगै अन्य समुदायलाई जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको थियो।
नेप्लिज एसोसियशन अफ नर्दर्न टेरिटोरीका अध्यक्ष सुबास पोखरेलसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
साथै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक भेषभुषा सहितको झाँकी, खानाका स्टलहरू र साङ्गीतिक कार्यक्रमहरू समावेश गरिएको पोखरेलले जानकारी दिए।
बुधवार डार्विनका लर्ड मेयर कोण भ्यट्स्क्यलिस् ले उक्त पुरस्कारको घोषणा गर्दै सम्पूर्ण पुरस्कारका उम्मेदवारहरूलाई बधाई दिँदै उनीहरूको प्रयासको प्रशंसा गरेका थिए।
साथै उनले भने, "अस्ट्रेलिया दिवसको अवसरमा यो वर्ष पुरस्कृत हुनेहरू सर्बोत्कृष्टता, लगन र डार्विन समुदायलाई बसोबासका लागी अझ राम्रो बनाउनमा गरेको अथक मेहनतका लागी पुरस्कार पाउन योग्य छन्।"
न्यान्ट् का अध्यक्ष सुवास पोखरेलले आगामी दिनमा पनि नेपालमा मनाइने सम्पर्ण चाडपर्वहरूलाई धूमधामका साथ मनाउनुका साथै उक्त संस्था साच्चिकै समस्यामा परेका विद्यार्थी वा नेपाली समुदायका अन्य जो कोहीलाई सहयोग गर्न नहीचकिचाउने बताएका छन्।




