Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

साहित्यकार पारिजातको प्रसिद्ध उपन्यास “शिरीषको फूल” नाटकबाट जीवन्त बन्दै

Parijat's Sirishko Phul Theatre Mall

A scene from the play adopted from the famous Nepali novel - Sirishko Phul at Theatre Mall in Kathmandu. Source: Theatre Mall via Facebook

२०२२ सालमा प्रकाशित साहित्यकार पारिजातको प्रसिद्ध उपन्यास शिरीषको फूललाई थिएटर मलले नाटकका रूपमा प्रदर्शन गर्न थालेको छ। कोभिडको महामारीपछि काठमाण्डूमा अनलाइन नाटक प्रदर्शन सम्बन्धी एकाध प्रयोगहरू भएता पनि भौतिक रूपमा भर्खरै मात्र नाटकहरू प्रदर्शन हुन थालेका हुन्। नेपाल संवाददाता सेवा भट्टराईले थिएटर मलका निर्देशक तथा शिरीषको फूल नाटकका परिकल्पनाकार केदार श्रेष्ठसँग कुराकानी गरेकी छिन्।


Published

Updated

By सेवा भट्टराई

Source: SBS




Share this with family and friends


२०२२ सालमा प्रकाशित साहित्यकार पारिजातको प्रसिद्ध उपन्यास शिरीषको फूललाई थिएटर मलले नाटकका रूपमा प्रदर्शन गर्न थालेको छ। कोभिडको महामारीपछि काठमाण्डूमा अनलाइन नाटक प्रदर्शन सम्बन्धी एकाध प्रयोगहरू भएता पनि भौतिक रूपमा भर्खरै मात्र नाटकहरू प्रदर्शन हुन थालेका हुन्। नेपाल संवाददाता सेवा भट्टराईले थिएटर मलका निर्देशक तथा शिरीषको फूल नाटकका परिकल्पनाकार केदार श्रेष्ठसँग कुराकानी गरेकी छिन्।


यसै क्रममा २०२२ सालमा प्रकाशित यो उपन्यासलाई चौथो आयामले नाटकमा रूपान्तरण र अञ्जान प्रदीपले निर्देशन गरेका छन्।

"साहित्यिक कृतिमा नाटक गर्नका लागि खोजिरहँदा शिरीषको फूल हामीलाई मन पर्‍यो,"  थिएटर मलका निर्देशक तथा शिरीषको फूल नाटकका परिकल्पनाकार केदार श्रेष्ठ भन्छन्।

"महिला स्वतन्त्रता सम्बन्धी यसको विषय आज पनि सान्दर्भिक छ भन्ने लागेर यसलाई रोजेका हौँ।"

मदन पुरस्कार प्राप्त र नेपालमा निकै नै रुचाइएको यो उपन्यासमा दोस्रो विश्वयुद्ध लडेर आएका सुयोगवीर र सकम्बरी भन्ने पात्रबिचको कथा छ।

Parijat's Sirishko Phul Theatre Mall
नाटकको एक दृष्य Source: Theatre Mall via Facebook

"सुयोगवीरका अनेक यौन कुण्ठा र महत्त्वाकाङ्क्षा सम्बन्धी कुण्ठा छन्। यहाँ शिरीषको फूल र सुनगाभाको प्रसङ्ग आउँछ। सुनगाभा त्यस्तो हो, जसभित्र एउटा भमरा पस्यो भने त्यसले आफूलाई बन्द गरिदिन्छ र भमरा निसासिन्छ। शिरीषको फूल भने त्यसको ठिक उल्टो, एक भ्रमर चुम्बनमै ओइलाइजान्छ। यी दुई कथा र द्वन्द्वका माध्यमबाट मानवीय सम्बन्ध र भावनाहरूलाई हेरिएको छ," श्रेष्ठले नाटकको सान्दर्भिकता बारे भन्छन्।

"यो नाटकलाई पटकथा त बनाइयो, तर संवादहरू मात्र राखेर त त्यो रेडियो नाटक जस्तो हुन्छ।"

तर उपन्यासका यी घटनाक्रममा एउटा समसामयिक बुझाई पनि थपेको उनी बताउँछन्।

"सकम्बरी यस्तो पात्र हुन् जो आफ्नो जीवन आफ्नै लागि बाँच्न चाहन्छिन्, अरूको दबाबमा होइन। उनको आत्मसम्मान माथि प्रहार हुन्छ, र त्यही घटनापछि उनको अन्त्य पनि हुन्छ। तर हामीले के भनेका छौँ भने अन्त्यका पनि विभिन्न आयाम हुन्छन्, र त्यो अन्त्य एउटा विद्रोह पनि हुनसक्छ। तत्कालीन समाजमा पुरुषको एउटा कदमलाई त्यसरी विश्लेषण गर्नु भनेको सानो चेतना होइन," श्रेष्ठ भन्छन्।

यो उपन्यास आफैँमा धेरै विम्ब र प्रतीक भएको र पढ्दा खेरी अमूर्त लाग्ने मानिन्छ, त्यस कारणले त्यस्ता तत्त्वहरूलाई दृश्यमा रूपान्तरण गर्नका लागि निकै मेहनत गरेको श्रेष्ठ बताउँछन्।

Parijat's Sirishko Phul Theatre Mall
नाटकको एक दृष्य Source: Theatre Mall via Facebook

"यसलाई दृश्यमा कसरी रूपान्तरण गर्ने भन्ने कुरामा अलिक चुनौती थियो र त्यसैका साथसाथै आर्थिक चुनौती पनि थपिएको थियो। किनकि नाटक क्षेत्रको सबभन्दा ठुलो चुनौती भनेकै आर्थिक हुन्छ," श्रेष्ठको अनुभव छ।

"यसलाई हामीले ड्रामाटिक लिबर्टीको प्रयोग गरेर मञ्चमा देखाउने कोसिस गरेका छौँ; सबै कुरा शब्दमा भन्नुपर्छ भन्ने छैन, प्रकाशको परिकल्पना देखि लिएर सेटको परिकल्पनासम्म र पात्रहरूको आवतजावत जस्ता कुराले धेरै कुरा बुझाउँछन्।"

महामारीपछि पहिलो पटक नाटक प्रदर्शन गरिरहँदा थिएटर मल उत्साहित छ, तर डर पनि उत्तिकै छ।

"हामीले स्वास्थ्य मापदण्ड अपनाएर, मास्क र स्यानिटाइजर प्रयोग गरेर, धेरै भिडभाड नगरी प्रदर्शन गरिरहेका छौँ। महामारीपछि सहरमा एकै पटक चार नाटक घरमा नाटक प्रदर्शन भइरहेका छन्। यो उत्साहको कुरा हो, हामी आशावादी छौँ। उत्साह सँगसँगै थोरै त्रास पनि छ, अब हामी यसलाई निरन्तरता दिन सक्छौँ त? भन्ने प्रश्न चाहिँ छ," श्रेष्ठ भन्छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now