संघीय संसद विघटन गरेको प्रधानमंत्रीको विरोध र नेपालमा क्रिसमसको रमाईलो: गत ७ दिन नेपालमा

protest in Nepal

Pushpa kamal Dahal and Madhav Kumar Nepal have been opposing Prime Minister KP Sharma Oli. Source: RSS

नेपालका प्रधानमंत्री के पी ओलीले संसदको विघटनका साथै नयाँ मंत्रीमण्डको गठन गरेका छन् र यसपल्टको मनाईएको क्रिसमसमा पहिले जै उत्साह देखिएन : गत सात दिनका नेपालको समाचार यहाँ सुन्नुहोस्।


प्रमुख विषय:

  • प्रधानमंत्री ओलीको समसद विघटनकोसडकमा विरोध
  • नयाँ मंत्रीमण्डलको गठन
  • कोभिड-१९ले संक्रमित हुनेहरुको कुल संख्या अढाई लाख भन्दा माथि

 

सडकमा विरोध

प्रधानमन्त्री केपी ओलीले अचानक संघीय संसद विघटन गरेको विरोधमा यस हप्ता थुप्रै प्रदर्शन गरिएका छन्। संसदको अवधी दुई वर्ष बाँकी हुँदाहुँदै ओलीले त्यस्तो निर्णय गरेका हुन्, तर संविधानमा त्यस्तो प्रावधान नै नभएको उनका विरोधी तथा संविधानविद बताउँछन्। ओलीकै नेकपा पार्टीका नेताहरुले समेत ओलीको नेतृत्वबाट अलग हुने घोषणा गरेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा नेकपाका थुप्रै नेताहरु निर्वाचन आयोग पुगेर आफ्नो पार्टी आधिकारिक नेकपा भएको दावी गरेका छन्। पत्रकार सम्मलेनमा ओलीको विरोध गर्दै प्रचण्ड भन्छन्, "सदन जीवितै छ। दुईजना मान्छेलाई सदन भंग गर्ने अधिकार संवधानले दिएको छैन। संविधान भन्दा माथि कोही हुँदैन। त्यस कारण यो निर्मम छ।

यो निरंकुश छ। यो तानाशाहीको नांगो रुप हो। हामी कोही आँखा चिम्लिन सक्ने स्थिति छैन।"
Protest in Nepal
काठमाडौंमा विरोध प्रदर्शन। Source: RSS
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाण्डुमा आयोजना गरेको र्यालीमा हजारौं मानिसको उपस्थिति रहेको थियो भने शनिबार नै माइतीघरमा बृहत नागरिक समाजले पनि नाटक मञ्चन सहित आन्दोलन गरेको छ।

आगामी हप्ता सोमबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्रीको कदमको पुर्ण विरोध गरेर संसदको पुनर्स्थापनाको माग गर्ने वा प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै चुनावमा जाने भन्ने विषयमा नेपाली कांग्रेस अन्योलमा रहेको बताइएको छ।

 

अदालतमा संवैधानिक मुद्दा

प्रधानमन्त्री केपी ओलीले यस हप्ता आईतबार संघीय संसद विघटन गरेको विरोधमा सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनको शुक्रबार सुनुवाई भएको छ। सुनुवाईको पहिलो दिनमा अदालतले यस मुद्दामा कुनै फैसला गरेको छैन, बरु थप प्रमाणका लागि सरकारका सबै निर्णयको सक्कल प्रति मागेको छ।

अदालतले सरकारसँग संसद विघटन गर्नुको कारण माग्दै त्यो निर्णयको सक्कल प्रति, र प्रतिनिधि सभामा दर्ता गरिएको भनिएको प्रधानमन्त्री ओलीमाथिको अविश्वासको प्रस्तावको पनि सक्कल प्रति मगाएको छ।

सर्वोच्च अदालतले संवैधानिक मुद्दाहरु हेर्नका लागि यस हप्ता संवैधानिक इजलास गठन गरेको छ, जसमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित सर्वोच्च अदालतका पाँच जना न्यायाधीश रहेका छन्।


यो इजलासमाथि प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा फैसला गर्ने नत्र अन्तरिम आदेश भएपनि दिने दवाव बढिरहेको छ। तर अदालत हतार गर्ने पक्षमा देखिँदैन। प्रधानमन्त्री ओली भने आफ्नो कदम प्रति विश्वस्त देखिन्छन्, र सबै राजनीतिक पार्टीलाई चुनावमा भाग लिन आह्वान गरिरहेका छन्।

"निर्वाचन हुँदा पार्टी फुट्छ? फुट्न पर्छ पार्टी निर्वाचन हुँदा? झन् एकजुट भएर अगाडि बढ्नु पर्दैन? एकजुट भएर हामी निर्वाचनका काममा अगाडि बढौं। प्रधानमन्त्री नै बन्नु छ भने पनि चुनावबाट बन्ने होला नि त।

प्रधानमन्त्री चुनावबाट बने भो। अरु पार्टीहरु पनि सकेसम्म एकजुट हुँदैछन्, चुनावका लागि। चुनावको सामना गर्नका लागि।"

कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको कूल संख्या २ लाख ६० हजारको नजीक रहेको छ। त्यसमध्ये झण्डै अढाइ लाख निको भइसकेका छन् भने सकृय संक्रमितको संख्या ६००० भन्दा बढी रहेको छ। सकृय संक्रमितको संख्या घट्दो देखिएको छ, तर कम मानिसले परीक्षण गराउने हुँदा त्यस्तो भएको अनुमान गरिएको छ।

 

मन्त्रीमण्डल पुनर्गठन

प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डलको विस्तार गर्दै ८ जना मन्त्री र १ जना राज्यमन्त्री थपेका छन्। ओलीको कदमको विरोधमा सात जना मन्त्रीले राजीनामा दिएपछि उनले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्। नयाँ मन्त्रीमण्डलमा ओली पक्षीय नेताहरु राखिएका छन्। कतिपय ठाउँमा प्रचण्ड-माधव नेपाल पक्षीय कार्यकर्ताले नवनियुक्त मन्त्रीको विरोध गरेका छन्।

संघीय संसद विघटन भइसकेतापनि शपथ ग्रहण समारोहमा दुवै सदनका सभामुखहरुको उपस्थितिले धेरैको ध्यानाकर्षण गरेको छ। अर्को संसदको निर्वाचन नभएसम्म उनीहरु पदमा बहाल रहिरहने संवैधानिक व्यवस्थाका कारण त्यस्तो हुन गएको छ।

त्यस्तै, संसद नभएको अवस्थामा प्रधानमन्त्रीको वैधानिकतामाथि पनि प्रश्न उठिरहेको छ। अरु सांसद सँगै प्रधानमन्त्री पनि पदमुक्त भएका छन्, र निर्वाचनको तयारी गर्नका लागि संसद विघटन गरिसकेको अवस्थामा प्रधानमन्त्रीले निर्वाचन सम्बन्धी मामिला बाहेक अरु विषयमा निर्णय लिन नहुने आलोचकहरुको भनाइ छ।


यस्तो अवस्थामा मन्त्रीमण्डल विस्तार गरेर प्रधानमन्त्री अधिनायकवाद तर्फ ढल्केको गुनासो उनकै पार्टीका नेताले समेत सार्वजनिक रुपमा गरिरहेका छन्।

मन्त्रिपरिषद्ले भने आफ्नो काम कारवाही शुरु गर्दै शुक्रबार राति बैठक बसेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

 

क्रिस्मस

इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिस्मस नेपालमा पनि धेरैले मनाउने चलन बढिरहेको सन्दर्भमा यस वर्ष शुक्रबार क्रिस्मस मनाइएको छ। विगतका केही वर्षभन्दा यस वर्ष कम उल्लास देखिएको छ। तर पनि धेरै समय बन्द रहेका पर्यटकीय क्षेत्र ठमेलका नाइट क्लबहरु खुलेपछि त्यहाँ रमाउन थुप्रै स्वदेशी र विदेशी नागरिक पुगेका छन्।
Christmas EVE Celebrated in Nepal
Christmas Eve special holy Mass and prayers at Catholic Assumption Church in Lalitpur, Nepal in 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images) Source: Getty
सञ्चार माध्यममा देखिएका तस्वीरमा त्यस्ता ठाउँमा ठुलो भीड देखिन्छ, र ती तस्वीर देखेर सामाजिक सञ्जालमा आत्तिने मानिसको संख्या अझ ठुलो देखिन्छ। नेपालमा यस हप्ता देखि सिनेमाघर पनि खुल्ने तयारी भइरहेको छ, जसले गर्दा जनस्वास्थ्यको चिन्ता अझ बढिरहेको छ।

सन्तोष शाह

नेपाली खाना बनाएर चर्चित बनेका शेफ सन्तोष शाह ब्रिटेनको टेलिभिजन कार्यक्रम मास्टर शेफमा उपविजेता बनेका छन्। त्यो कार्यक्रममा भाग लिने र अन्तिम चरणसम्म पुग्ने उनी पहिलो नेपाली हुन्।

उनले कार्यक्रमको हरेक चरणमा नेपाली खाना खुवाएर निर्णायकहरुको प्रशंसा बटुलेका थिए, र नेपाली खानालाई पहिलो पटक विश्वमा यो स्तरमा चिनाएका हुन्।

कार्यक्रमको अन्तिम चरणमा नेपाली टोपी लगाएका शाहले देशविदेशका नेपालीको माया र समर्थन पाएका छन्। शाहले मास्टर शेफ नजिते पनि यसमा भाग लिँदा र यो चरणसम्म आईपुग्दा आफ्नो सपना पुरा भएको बताएका छन्।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
संघीय संसद विघटन गरेको प्रधानमंत्रीको विरोध र नेपालमा क्रिसमसको रमाईलो: गत ७ दिन नेपालमा | SBS Nepali