नेपाल, भारत लगायत विश्वभरका हिन्दु धर्मावलम्बीको आस्था रहेको पशुपतिनाथ मन्दिर कोरोनाको महामारीका कारणले गत मार्च महिनादेखि बन्द थियो।
यस अवधिमा पशुपतिनाथको नित्य पूजा भने भइरहेको थियो। बुधवार देखि भक्तजनका लागि खुला गरिएता पनि अझै केही बन्देज भने बाँकी छन्।
पशुपतिनाथ विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले इमेज टिभीलाई यस्तो जानकारी दिएका छन्,
"मन्दिरको कोर एरिया क्षेत्रको ठुला गेटहरू अहिले खुल्दैनन्। साना साना दुइवटा गेटहरू खोलेर इण्ट्री एउटा र एक्जिट एउटा मात्र बनाएका छौँ। र पश्चिम द्वारको दायाँपट्टि रहेको सानो गेटबाट भित्र हामीले भौतिक दुरी कायम राख्दै भक्तहरूलाई भित्र पठाउने गर्दछौँ।
भित्र एउटा र्याम्प तयार गरेका छौँ पश्चिम द्वार मा नै। त्यो पश्चिम द्वारको र्याम्पमा उभिएर दर्शन मात्र गर्न पाइन्छ।"
सयौँ वर्ष देखि पशुपतिनाथमा चल्दै आएको भक्तजनको पूजा कोरोना महामारीका कारण ९ महिना रोकिएको हो।

यति लामो समय मन्दिर बन्द भएको यो पहिलो पटक भएको हुनाले मन्दिर खोल्नु अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकी छिन्।
केही समयदेखि मन्दिरको एउटा ढोकामा मन्दिर खोल्नका लागि दबाब दिनका लागि दीप प्रज्वलन गरेर साङ्केतिक प्रदर्शन समेत भइरहेको थियो।
यस पटक मन्दिर खुल्दा दर्शनार्थीका लागि थुप्रै नियम लागु गरिएका छन्।
अनिवार्य मास्क लगाउनु पर्ने, तापमान जाँच गराउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, पूजाका सामग्री लैजान नपाइने, दुई पटक साबुन पानीले हात धुनुपर्ने लगायतका नियम भक्तजनले पालना गर्नुपर्ने छ भने मन्दिरको दर्शन मात्र गर्न पाइने छ र परिक्रमा गर्न पाइने छैन।
यति सबै हुँदाहुँदै पनि मन्दिरमा प्रवेश गर्न पाइएकोमा भक्तजन खुसी देखिन्छन्। यसका साथै भजन कीर्तन जस्ता सामूहिक कार्य अझै पनि प्रतिबन्धित छन्।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको आर्यघाट भने विगतका ९ महिनामा पनि चलिरहेको थियो।
भगवान् शिवको मन्दिर पशुपतिनाथ नेपाल र भारतका महत्त्वपूर्ण हिन्दु तीर्थस्थल मध्ये एक मानिन्छ।
यो पनि पढ्नुहोस ।

भारत र चीनको पछिल्लो नेपाल भ्रमण बारे के अड्कल गरिँदै छ ?
शिवरात्रि जस्ता अवसरमा त्यहाँ निकै टाढादेखि भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। र तीज, श्रावणको सोमबार र बाला चतुर्दशी जस्ता अवसरमा पनि त्यहाँ विशेष भीड हुने गर्दछ।
बुधवार देखी पशुपतिनाथ मन्दिर सँगै नजिकै रहेको शक्ति पीठ गुह्येश्वरी र पशुपति क्षेत्रका अरू मन्दिर र चैत्य पनि भक्तजनका लागि खुला गरिएका छन्।





