नोभेम्बर २६ र २७ मा भारतका विदेश सचिव हर्षवर्धन शृंगला नेपाल आएका थिए, र त्यसको लगत्तै नोभेम्बर २९ मा चिनियाँ रक्षा मन्त्री वेइ फङ्ख नेपाल आएका छन्।
शृंगलाले दुई देशबिचको सम्बन्ध, व्यापार, यातायात, र भारतको सहयोगमा बनिरहेका परियोजनाका बारेमा वार्ता गरेको परराष्ट्र मन्त्रालयले बताएको छ। त्यस्तै, वेइले सैन्य सहयोग अभिवृद्धि गर्नेमा वार्ता केन्द्रित गरेको नेपाल सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताएका छन्।
"विगतमा सहमति भएका विभिन्न सैनिक सहायता सम्बन्धी विषय पनि कोभिड १९ का कारणले त्यसको डेलिभरी प्रभावित भएको थियो भने त्यसलाई पनि सुचारु गर्ने विषयमा छलफल भयो।"

नेपाल भारत सम्बन्ध थुप्रै समयदेखि चिसिएको अवस्थामा भारतीय उच्च पदाधिकारीको भ्रमणले भारत सम्बन्ध सुधार्न इच्छुक रहेको अनुमान गरिएको छ।
नेपालले चीनसँग औपचारिक रूपमा सैन्य तालीम गर्न थालेको र सैन्य सामग्री किन्न थालेको सन् २०१६ देखि मात्रै हो भने यसभन्दा पहिले नेपालले सबभन्दा बढी सैन्य सहकार्य र खरिद भारतीय सेनासँग गर्दथ्यो।
र वेइको भ्रमण पछि भारतीय सञ्चार माध्यममा चीन नेपालसँग धेरै नजिक भइरहेको, र यसबारेमा भारतले केही कदम चाल्नुपर्ने खबरहरू प्रकाशित भइरहेका छन्।

उता चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा पनि भारतको बढ्दो शङ्काका बारेमा समाचार प्रकाशित भइरहेका छन्।
दुवै देशले नेपालमा आफ्नो प्रभाव बढाउन खोजेपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको डर बढ्दो छ।
केही महिनाअघि नेपालले आफ्नो नक्सामा भारतसँगको सिमानामा रहेको विवादित भूमि राखेर प्रकाशित गरेपछि नेपालले चीनको इशारामा त्यस्तो गरेको थियो भन्ने समाचार भारतीय सञ्चार माध्यमले बनाइरहेका थिए।

त्यस्तै, सत्तारुढ कम्युनिस्ट पार्टी फुटको सङ्घारमा पुगेको बेला चिनिया राजदूत होउ याङ्छीले पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेर पार्टी एकता कायम गर्न खोजेको आरोप लागेको छ।
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै नेपालमा केहीले यस्ता गतिविधिको विरोध गरिरहेका छन्।
त्यस्तै, भारतसँग अत्यावश्यक वस्तुहरू लगायत थुप्रै कुरामा निर्भर नेपालले भारतसँगको यो निकटताको नकारात्मक पक्ष पनि सन् २०१५ मा भोगिसकेको छ, जुन बेला भारतले नेपालमा नाकाबन्दी लगाएको थियो।
यो पनि पढ्नुहोस्:

नेपालको नयाँ राजनीतिक नक्सा र भारतको आपत्ति
त्यस बेलादेखि नेपालले भारतको विकल्पका रूपमा चीनसँग सम्बन्ध बढाउने र सामान खरिद गर्ने प्रयास गरिरहेको छ, जुन भौगोलिक विकटताका कारण भारतसँग जत्तिको सजिलो छैन।
तर यो बढ्दो निकटताका बारेमा भारत निकै सशङ्कित देखिन्छ।
संसारका दुई उदाउँदा शक्ति राष्ट्र भारत र चीनको बिचमा रहेको नेपालले दुवै मुलुकप्रति तटस्थ र मैत्रीपूर्ण नीति राखेको छ। तर दुवै मुलुकको क्षत्रिय र अन्तर्राष्ट्रिय रणनीति बीच नेपाल फस्ने हो कि भन्ने चिन्ता रहेको छ।
यो पनि पढ्नुहोस्:

के भन्छीन त विश्वको प्रभावशाली सुचीमा परेकी नेपाली किशोरी





