मन्त्री मण्डल पुर्नगठन
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको २१ महिनापछि मन्त्रीमण्डल फेरवदल गरेका छन । यसमा केहि नया मन्त्री थपिएका छन भने केहिको मन्त्रालय फेरिएको छ । लामो समय चर्चामा रहेको मन्त्री मण्डल फेरवदल बुधबार अबेर राती भएको हो ।
यसपटक ९ जना मन्त्री फेरिएका छन । मुलुकको मन्त्रीका रुपमा भने यी सबै नया अनुहार भने होइनन । थपिनेमा सुर्य चिन्हबाट चुनाव लडेका तर नेपाल कम्युनिष्ट पार्टिमा औपचारिक प्रवेश नगरेका मधेशवादी नेता ह्दयेश त्रिपाठी छन । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन ।
आफ्नो बिचारका लागि पार्टिभित्र पनि चर्चामा रहेका तर हालसम्म मन्त्री नभएका घनस्याम भुसालले कृषि तथा पशुपन्छि मन्त्रालयको जिम्मेवारी पाएका छन । प्रधानमन्त्री ओलीका समेत पार्टिभित्र कटु आलोचक भुसालको कार्यकाल भने हेर्न लायक हुनेछ ।

दुइपटक मन्त्री भएर दुरगामी काम थालेका चर्चित अनुहार गोकर्ण बिष्टलाई प्रधानमन्त्रीले हटाएका छन । उनको ठाउमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्न सर्लाहीबाट निर्वाचित रामेश्वर राय यादव आएका छन ।
मलेसियाको रोजगारी व्यवस्थित गर्नमात्र नभइ सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी गरेका गोकर्ण बिष्टको बर्हिगमनको भने सामाजिक संजालदेखि संचारमाध्यममा चर्चा भइरहेको छ । मन्त्री बिष्टले मन्त्री पद फेरवदल हुनु सामान्य प्रक्रिया भएको जनाउदै आफु पार्टि मुलुक र जनताका लागि काम गरिरहने वताएका छन ।
‘मन्त्री पद अस्थायी हो रहनु नरहनु कुनै ठूलो कुरा भएन,’ उनले एसबिएससंग भने, ‘केहि सुधारका काम थालेको थिए ६ महिनामात्रै अरु काम गर्न पाएको भए रोजगारीको क्षेत्र व्यवस्थित भइसक्थ्यो ।’
मन्त्रीमण्डल फेरवदलमा कुनै पनि प्रकारको चलखेल नभएको सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले वताए ।
‘पैसा खाएर मन्त्री बनायो भन्ने हल्ला बेकार हो,’ विहिबारको नियमित भेटघाटमा उनले उल्टै पत्रकारलाई प्रतिप्रश्न गर्दै भने, ‘बरु यस्तो हल्ला चलाउने सत्तापक्षकै नेता को हो भन्नुस त ।’
नया मन्त्रीमण्डलमा सुदुरपश्चिमका लेखराज भट्टले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय पाएका छन । उनीसंगै व्यवसायी मोतीलाल दुगडले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन । चर्चित मन्त्री मात्रिका यादव भने बाहिरिएका छन ।
बसन्त नेम्बांगले भौतिक पुर्वाधार र यातायात मन्त्रालय दिइएको छ । यसैगरि पार्वत गुरग महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन ।
महिलालाई हटाएर पुरुषलाई मन्त्रालय दिइएकोमा पनि आलोचना भइरहेको छ ।
२५ सदस्यीय मन्त्री मण्डलमा दुइ जनामात्रै महिला छन । भानुभक्त ढकाल कानुनबाट स्वास्थ्य र स्वास्थ्य मन्त्री स्वास्थ्यबाट कानुन मन्त्रालय सरेका छन ।
नेपाल कुवेतसंग पराजित
फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसंग पराजित भएको छ । दुइ देशबीच भएको होम म्याचमा नेपाल १– ० गोलअन्तरले पराजित भएको हो ।
होम म्याच भनिएपनि काठमाडौंको दशरथ रंगशाला खेल्न योग्य नभएकाले भुटानमा खेल भएको थियो । यो हारले विश्वकपको तेस्रो चरण तथा एसियन कपमा छनोटको सम्भावना झिनो बनेको छ ।
भुटानको चाङलिमिन्थाङ रंगशालामा नेपालले पहिलो हाफमै गोल खाएको थियो ।
पुनर्निर्माणको चरणमा रहेको दशरथ रंगशालामा खेल गर्न एसियाली फुटबल महासंघले स्वीकृति नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाको प्रस्तावमा कुवेतसगको होम म्याच भुटानमा खेलाइएको हो ।
यसअघि गएको भदौमा कुवेतमा खेलिएको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले ५ खेलमा एक खेलमात्र जितेको छ । चाइनिज ताइपेइबिरुद्धको अवे खेल नेपालले २–० ले जितेको थियो । त्यसयता सबै खेलमा हारेको छ ।

पाच बर्ष ओली नै प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओली पाच बर्ष पुरै अवधिका लागि प्रधानमन्त्री रहने भएका छन । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को सचिवालय वैठकले ओली आगामी निर्वाचनसम्म प्रधानमन्त्री रहने तय गरेको हो ।
प्रतिनिधिसभाको अवधिभर सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीले नै गर्ने सहमति भएको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए । यसको अर्थ अबको करिब ३९ महिना ओली नै प्रधानमन्त्री रहनेछन । ‘प्रतिनिधिसभाको यो कार्यकाल भरि कमरेड केपी ओली नै प्रधानमन्त्री रहनुहुनेछ,’ उनले भने ।
यसअघि सार्वजनिक एक सहमति अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीले आधा आधा कार्यकाल अर्थात साढे २ बर्षका दरले प्रधानमन्त्री चलाउने तय भएको थियो । तर बुधबार बसेको सचिवालय वैठकले पाचै बर्ष ओली मुलुकको कार्यकारी प्रमुख रहने बाटो खुला गरिदिएको हो ।
पार्टिको काम भने अब प्रचण्डले गर्नेछन । प्रवक्ता श्रेष्ठका अनुसार पार्टिका निर्णय सहमतिमा गरिने भएपनि कार्यकारी अध्यक्षका रुपमा प्रचण्ड रहनेछन ।

कालापानी फिर्ता ल्याउछौः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने पनि उनले दावी गरे । ‘हामीलाई अरु कसैको भूभाग कब्जा गर्नु पनि छैन,’ उनले भने, ‘तर हाम्रो भूमिमा रहेका छिमेकीलाई त्यहाबाट हटन म आग्रह गर्दछु ।’
नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा आइतबार उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन । कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने बताए ।
केही अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ ।
एनसेललाई करमा राहत
लामो समयदेखि विवादमा रहेको एनसेल पुजीगत लाभकर विवादमा सर्वोच्च अदालतले नयाँ फैसला गरेको छ । जस अनुसार अब एनसेलले सरकारले भने बमोजिमको कर तिर्नुपर्ने छैन ।
एनसेलको निवेदन कानुनसम्मत भन्दै ठूला करदाता कार्यालयले निर्धारण गरेको करमध्ये करिब १८ अर्ब छुट दिई बाँकी २१ अर्ब १० करोड रुपैयाँ बुझाए हुने फैसला गरेको छ ।
ठूला करदाता कार्यालयले एनसेलको ८० प्रतिशत सेयरमा बिक्रीमा ६२ अर्ब ६३ करोड रुपैयाँ पँजीगत लाभकर तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो । यसमध्ये एनसेलले पहिल्यै २३ अर्ब ५७ करोड रुपैयाँ बुझाइसकेको छ ।
बाँकी ३९ अर्ब ६ करोड कर बुझाउनुपर्ने पत्र ठूला करदाता कार्यालयले ताकेता गरेपछि टेलिकम कम्पनी अदालत गएको थियो । अब ठुला करदाता कार्यालयले भनेको ३९ अर्ब ६ करोड मध्ये १७ अर्ब ९५ करोड रुपैया एनसेलले तिर्नु पर्ने छैन ।
त्रिशुली ३ ए को उदघाटन
त्रिशुली ३ ए जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको एक्सन रुमबाट स्वीच दबाएर उदघाटन गरे ।
६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना उदघाटनको क्रममा अर्थमन्त्री युवराज खतिवडा र उर्जामन्त्री बर्षमान पुन भने आयोजनाको विद्युतगृह रहेको ठाउ नुवाकोट नै पुगेका थिए ।
अपेक्षा गरिएभन्दा दोब्बर समय र लागत लागेको यस आयोजनाबाट राजधानी नजिक र तुलनात्मक रुपमा हिउदमा पनि बढि उर्जा प्राप्त हुने उर्जा सचिव दिनेश घिमिरेले वताए ।
‘अरु यस्तै खाले नदी वहावमा आधारित जलविद्युत आयोजनाबाट हिउदमा २० प्रतिशत जतिमात्रै बिजुली निस्कन्छ,’ उनले भने, ‘तर यसमा ४० देखि ५० प्रतिशत बिजुली प्राप्त हुन्छ ।’ आयोजनामा करिब १७ अर्ब रुपैया लगानी भएको वताइएको छ ।





