‘समृद्ध नेपाल र सुखी नेपाली’
आर्थिक वर्ष २०७५र७६ लाई सरकारले ‘समृद्धिको आधार वर्ष’ घोषणा गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।
सरकारले रेल, जलमार्ग, विज्ञान प्रविधिको विकास र आर्थिक वृद्धिलगायतलाई प्राथमिकतमा राखेको काम गर्ने उनले उल्लेख गरेकी थिइन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा सरकार प्रतिबद्ध रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।
सरकारले मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगन्ज रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमागको निमार्ण कार्य यसै वर्षमा अघि बढाउने भएको छ ।
१० वर्षभित्र नेपालको आर्थिक विकास गर्ने लक्ष्यसहित रोजगार प्रवद्र्धक, आत्मनिर्भर र निर्यातमूलक बनाउन अर्थतन्त्रको संरचना परिवर्तन गरिनेछ । उनको अनुसार भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष र पोखराको विमानस्थल तीन वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
सरकारले विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सार्वजनिक यातायात, सडक, विमानस्थल, पार्क, सार्वजनिक तथा निजी क्षेत्रबाट प्रदान गरिने सेवामा ‘नेपाल गुणस्तर’ लागू गर्ने कार्यक्रम ल्याउने भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीकोको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेभसाइटमा राखिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार २१ जना मन्त्रीहरुले आफूसँग भएको सम्पत्ति विवरण दिएका थिए ।
सार्वजनिक गरेको विवरणमा ओलीको २ वटा घर, १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको उल्लेख गरिएको थियो।
विवरण अनुसार ओलीको श्रीमती राधिका शाक्यको नाममा भक्तपुरको सूर्यविनायकमा तीन तल्लाको दुइटा घर, झापामा १० कट्ठा जग्गा रहेको खुलाइएको थियो।
त्यस्तै शाक्यको माछापुच्छ्रे बैंकमा चार लाख, प्रभु बैंकमा छ लाख र एभरेष्ट बैंकमा केपी ओलीको नाममा ४२ लाख रहेको विवरणमा उल्लेख गरिएको थियो । सार्वजनिक विवरणमा अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति देखिएको छ ।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग सबैभन्दा धेरै १ सय ५० तोला र महिलामन्त्री थममाया थापासँग सबैभन्दा थोरै १ तोला सुन रहेको उल्लेख गरिएको थियो ।
बालकृष्ण ढुंगेललाई माफी विरुद्ध सर्वाेच्चमा रिट
सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भएको छ।
ढुंगेललाई माफी दिन लागिएको भन्दै बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका थिए ।आगामी गणतन्त्र दिवसको अवसर पारेर बालकृष्ण ढुंगेललाई कैदमुक्त गर्ने तयारी भइरहेको निवेदनमा उल्लेख गरिएको थियो ।
ढुंगेललगायत झण्डै ८ सय जनाको कैद माफी दिन लागिएको आशंका गरिएको छ।
‘नेपाली क्रिकेटको स्तर बढ्दैछ’
इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै राम्रो प्रदर्शन गरेका सन्दीप लामिछानेले आफ्नो लागि आईपीएल अविस्मरणीय यात्रा रहेको बताएका छन् ।
मंगलबार काठमाडौं फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आगामी वर्षमा आईपीएलमा अन्य नेपाली खेलाडीपनि देखिनुपर्ने बताए ।
उनले दिल्लीको अन्तिम ३ खेलमा अवसर पाएका थिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।
सन्दीपलले आइपिएल खेलिरहँदा आइसिसीले उनलाई विश्व ११ मा समावेश गरेको थियो । वेस्ट इन्डिजविरुद्ध जेठ १७ मा इङ्ल्यान्डको लडर््समा हुने ट्वान्टी–२० खेलका लागि आइसिसीले सन्दीपलाई आइसिसी विश्व ११ को टोलीमा समावेश गरेको थियोे ।

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार
भारतको मेदान्त अस्पतालका उपचारार्थ भर्ना गरिएका राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको जानकारी नयाँदिल्लीमा रहेको नेपाली दूतावासले गराएको छ ।
शुक्रबार विज्ञप्तिमार्फत नेपाली दूतावासले राष्ट्रकवि घिमिरेको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको जानकारी गराएको थियो । ‘राष्ट्रकवि घिमिरेको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा.नरेश वेहानले बताएका छन् ।
उपचार अझै केही दिन जारी रहने समेत चिकित्सकहरुले बताएका छन्,’विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घिमिरेलाई जेठ ९ मा मेदान्त अस्पताल र्पुयाइएको थियो। उच्च रक्तचाप र दिसामा रगत देखा पर्ने समस्या कारण विगत दुई सातादेखि घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिएको थियो ।
त्यस्तै ९९ वर्षीय राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय सरकारले गरिसकेको छ ।
सुन तस्करीका मुख्य आरोपी ’गोरे’ पक्राउ
सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तर्गत खटिएको प्रहरीको टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए ।
समितिका संयोजक ईश्वरचन्द्र पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिएका थिए।
सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो।
पक्राउ परेलगत्तै साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) को जिल्ला अदालत मोरङमा बुधबारदेखि बयान लिन सुरु गरिएको थियो ।
बयानका क्रममा गोरेले आफू निर्दोष रहेको भन्दै फसाइएको बताएका थिए ।

काठमाडौंमा बर्ड फ्लु
राजधानीमा बर्ड फ्लु संक्रमण देखिएको छ । शुक्रबार तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा पालिएको हाँसमा बर्ड फ्लु देखिएको थियो ।
बर्ड फ्लु देखिएको स्थानको करिव ३ किलोमिटर वरपरको क्षेत्रमा विशेष निगरानी राखिएको छ । त्यस क्षेत्र वरपर ४२ दिनको लागि पंक्षीजन्य पदार्थ निषेध गरिएको जानकारी पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.सम्झना काफ्लेका अनुसार शुक्रबार बर्ड फ्लु देखिएका लामबगर क्षेत्रमा ५ हजार हाँस, १ सय कुखुरा, ३ हजार अण्डा र दुई सय ५० किलो दाना नष्ट गरिएको थियो ।




