ज्ञानेन्द्र मल्ल बने क्रिकेट टोलीको कप्तान
नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त गरेको छ।
पारस खड्काले असोज अन्तिम साता सामाजिक सञ्जाल मार्फत कप्तानको पदबाट राजीनामा दिएयता उक्त पद रिक्त रहेको थियो।
क्यानले ज्ञानेन्द्रलाई कार्यवहाक कप्तानको रुपमा नियुक्त गरेको जनाएको छ। "अर्को निर्णय नभएसम्मलाई हामीले ज्ञानेन्द्रलाई कार्यवहाक कप्तानको जिम्मेवारी दिने निर्णय गरेका छौं,” क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए।
सन् २००९मा पारस कप्तान नियुक्त भएयता ज्ञानेन्द्रले उपकप्तानको भूमिका निर्वाह गर्दै आएका थिए।
नयाँ जिम्मेवारी पाएपछि निकै प्रसन्न देखिएका ज्ञानेन्द्रले नेपाली टोलीलाई नयाँ उचाइमा पुर्याउन सबैको सहकार्य आवश्यक भएको बताए।
“म मेरो जिम्मेवारी पुरा गर्न तयार छु। अब सबैजना मिलेर काम गर्नु पर्छ। म, सबै खेलाडी, प्रशिक्षक र क्यान सबैजना मिलेर अघि बढ्ने हो भने हामी नेपाली क्रिकेटका सामू रहेका चूनौती पुरा गर्न सक्छौं, ” ज्ञानेन्द्रले भने।
महराविरुदध मुद्धा साढे ७ वर्ष कैदको मागदाबी
सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्ण बहादुर महरा विरुदध जिल्ला अदालत काठमाण्डूमा बिहिवार मुद्धा दर्ता गराएको छ।
उनले संघीय संसदको सचिवालयमा कार्यरत एक कर्मचारी माथी बलात्कारको प्रयास गरेको आरोपमा साढे ७ वर्ष कैदको मागदावी सहित मुद्धा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले बताए।
"महराले पीडित भनिएकी महिलालाई जबरजस्ती करणी गरेको नभई करणीको उद्योग गरेको आरोपमा मुद्धा दर्ता गरिएको हो," उनले भने।
“संघीय संसदको सभामुख जस्तो पदमा रहेर उक्त पदको दुरुपयोग गरी कसुर गरेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५को उपदफा २ को (ङ)को बमोजिम थप सजाय होस् भनेर मागदाबी गरिएको छ।”
मुलुकी अपराधसंहितामा आठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको भए सात वर्षदेखि दश वर्षससम्म सजायको व्यवस्था गरिएको छ।
तर उद्योगमात्रै गरेकोमा तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ। यस अनुसार उक्त सजाय अवधि साढे ३ वर्ष देखि ५ वर्षसम्म हुन आउँछ।

दुईपटक डायलाइसिस गराएर बालुवाटार फर्के प्रम
प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनमा दुईपटक मिर्गोलाको डायलाइसिस गराएर बिहिबार साँझ बालुवाटार फर्केका छन्।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा समास्या देखिएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए र त्यही दिन उनको पहिलो डायलाइसिस गरिएको थियो।
तर उनी भर्ना भएको अस्पताल ग्रान्डी र उनको सचिवालयले नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको जनाएका थिए।
दोस्रो दिन पनि डायलाइसिस भएको कुरा सुरुमा नेकपाका अर्का अध्यक्ष पुष्ष कमल दाहाल प्रचण्ड मार्फत बाहिर आएको हो।
"उहाँको दुईपटक डायलाइसिस गरिएको छ। उपचारपछि उहाँको अवस्था सामान्य रहेको छ," प्रधानमन्त्रीलाई भेटेर फर्केका प्रचण्डले बताएका थिए।
बिहिवार प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्नु अघि ग्रान्डीले पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्था बारे जानकारी गराएको थियो।
"अस्पताल आउँदा उहाँको रगतमा क्रयाटिनिनको स्तर सामान्यभन्दा माथी थियो। दुई दुई पटक डायलाइसिस गरेपछि अहिले अवस्था सामान्य छ," ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने।
उनले प्रधानमन्त्रीलाई थप डायलाइसिस गर्न पर्ने वा नपर्ने बारे भने केहि खुलाएनन्। केहि समयअघि उनले सिंगापुरमा समेत स्वास्थ्य उपचार गराएका थिए। प्र
धानमन्त्रीको आइतबार फेरी डायलाइसिस गर्न सकिने संभावना रहेको बताइएको छ।

माथिल्लो त्रिशूली १ को लागी ठूलो बैदेशिक लगानी
माथिल्लो त्रिशूली १ को लागी ठूलो बैदेशिक लगानी जुटेको छ। २१६ मेगावाटको उक्त आयोजनाका लागि ८ वटा दातृ निकाय र आयोजना प्रवद्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच शुक्रवार सम्झौता भएको हो।
आयोजनाको निर्माणका लागि अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)को अगुवाइमा ८ वटा दातृ निकायले ४५ करोड ३० लाख डलर लगानीको सम्झौता भएको हो।
नेपाल वाटर एन्ठ इनर्जी डेभलपमेन्ट कम्पनी मार्फत प्रत्यक्ष बैदेशिक लगानी भित्रिने उर्जामन्त्री वर्षमान पुनले बताए।
"हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लागनी भित्रिएको छ। यसमा कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत सेयर रहने छ," उनले भने। "आयोजना निर्माणको लागत ६५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।"

सर्वसाधरणलाई अनुभूति हुने गरी विकास नभए परिवर्तनकारी शक्तिहरूलाई अफ्ठ्यारो
पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारीहरु नै अफ्ठ्यारोमा पर्ने सक्ने चेतावनी दिएका छन्।
बहिनी शोभा शाहीसंग टिका लगाएर फर्की रहँदा भाइटिकाको दिन संचारकर्मीहरूसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
“जुनसुकै परिवर्तन हुँदाखेरी दुईवटा महत्वपूर्ण कुरा हुनुपर्दछ, एउटा प्रगति अर्को विकास। यी दुईटा कुरालाई मन्न गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न स्कछ,” उनले भने।
यस्तै उनले धन हुनेले मन र मन हुनेले नेपाली पन पाउन् भन्ने शुभकामना पनि व्यक्त गरे।
पूर्व राजा ज्ञानेन्द्र शाहाले दशैं, तिहार लगायतका चाडपर्व र विभिन्न धार्मिक स्थलमा जाँदा सन्देश दिँदै आएका छन्। उनले दिने शुभकामनाहरूमा राजनीतिक सन्देश मिसिएर आउने गरेको छ।




