बलात्कारपछि हत्या गरिएकी निर्मलाको परिवारलाई सरकारले दियो १० लाख
मन्त्रिपरिषद्को बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको परिवारलाई सरकारले १०र१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो। त्यस्तै गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा समेत गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराउँदै कञ्चनपुर घटनाका दोषीलाई कारबाही गरिने प्रतिवद्धता दोहोर्याएका थिए ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आयोजित प्रदर्शनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा महेन्द्रनगरका १७ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो ।
त्यस्तै अन्य सात जना गम्भिर घाइते भएका थिए । निर्मलाको न्यायको माग गर्दै आयोजित प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार कर्फ्यू आदेश जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालयको गेटमा प्रहरी र प्रदर्शनकारीबीच झडपको क्रममा प्रहरीले ३० राउन्डभन्दा बढी गोली चलाएको थियो। प्रहरीको लाठीचार्जबाट दुई दर्जनभन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।

School students demand justice for Nirmala. Source: Supplied
गत साउन १० मा हराएकी किशोरीको शव भोलिपल्ट फेला परेपछि प्रदर्शनकारीले किशोरी पढ्न गएको घरका परिवारमाथि अनुसन्धान गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका थिए ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई शुक्रबार महेन्द्रनगर पठाएको थियो । मंगलबारदेखि महेन्द्रनगर बजार बन्द रहेको छ ।
...
कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुने बताएका छन् ।
शनिबार कञ्चनपुर घटनाका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य र कञ्चनपुरका सांसदहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली दोषीलाई कारबाहीले प्रतिक्रिया दिएका थिए ।
..
कञ्चनपुरका एसपी बिष्ट निलम्बित
गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार विवादमा तानिएका कञ्चनपुरका एसपी डिल्लीराज बिष्टलाई काठमाडौं फिर्ता बोलाइए लगत्तै निलम्बिन गर्न प्रहरी प्रधान कार्यलयलाई निर्देशन दिइसकिएको थियो।
कञ्चनपुरका एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकिन्द्र खड्कालाई अनुसन्धान गरी कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई शनिबार निर्देशन दिएको थियो।
..
‘जस्टिस फर निर्मला’ मागसहित शान्तिपूर्ण प्रदर्शन
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको सही पहिचान गरेर कारबाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा सर्वसाधारणले शान्तिपूर्ण प्रदर्शनी गरेका छन् ।
‘जस्टिस फर निर्मला’ जनताको भेलामा विभिन्न पेशाकर्मी, राजनीतिकर्मी, पत्रकार र विद्यार्थी लगायतको सहभागितामा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्याली आयोजना गरेको थियो।
यसअघि शुक्रबार दिनभर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्याय माग गर्दै ‘जस्टिस फर निर्मला’ ह्यासट्याग ट्वीटरमा ट्रेन्डिङ भएको थियो ।
बिहीबार रातिदेखि ट्वीटर प्रयोगकर्ताहरुले ‘जस्टिस फर निर्मला’ नामक ह्यासट्याग प्रयोग गर्दै ट्वीटहरु गरेका थिए ।
...

Protesters in Kathmandu demanding justice for Nirmala and against the police handling of the case. Source: Supplied
सरकार आफै तरकारी बिक्री गर्दै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारीहरु प्रहरीको सहयोगमा बिक्री गरेको छ । ललितपुर, भक्तपुर, बारा र झापाबाट तरकारी लिएर आएका गाडीलाई सोमबार नियन्त्रणमा लिइएको थियो ।
यसअघि कालीमाटी तरकारी बजार विकास समितिले प्रति स्टल २० हजार भाडा निर्धारण गरिएपनि विचौलियाहरुले ५ लाखसम्ममा बेचेको पाएपछि टोलीले अनुगमन गर्दा व्यापारीहरुले उनीहरुलाई थुनेका थिए ।
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार सरकारसँग २० हजारमा लिएको स्टल ठाउँअनुसार १ देखि ५ लाखसम्म लिएर भाडामा लगाउने ९५ वटा स्टल सञ्चालकहरुको सम्झौता खारेज गरिएको थियो ।
..
ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । बिहीबार बसेको परिषदको बैठकले न्यायाधीश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको परिषदका सदस्य कानुनमन्त्री भानुभक्त ढकालले बताए ।
यसअघि प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि मिश्रले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा न्याय सम्पादन गर्दै आएका छन् ।
परिषद् सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस मिश्रको नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संघीय संसदको सचिवालयमा पठाएको थियो।
...
धमाधम बिमस्टेक तयारीमा जुट्यो महानगर
आगामी बिहीबारदेखि सुरु हुन लागेको बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको तयारीका लागि काठमाडौं महानगरपालिका राजधानी सरसफाईमा जुटेको छ ।
एयरपोर्ट, चावहिल, बौद्ध, चक्रपथ आसपासका बाटोहरु धमाधम कालोपत्रे गर्ने काम भइरहको छ ।
काठमाडौंमा हुन लागेको बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका राष्ट्र र सरकार प्रमुखहरू सहभागि हुँदैछन् । दुई दिन चल्ने कार्यक्रमको तयारीका लागि महानगरका कर्मचारीहरु १६ घण्टा परिचालन गरिएका छन् ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा थाइल्यान्डमा भएको थियो । नेपाल अध्यक्ष बनेपछि पहिलोपटक काठमाडौंमा सम्मेलन हुन लागेको हो ।
...
पूर्वराजदूत झा मृत अवस्थामा भेटिए
फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी बसन्त लामाका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए ।
८० वर्षीय उनी श्रीमती र पत्नी र सहयोगीसँग बस्दै आएका थिए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति थिए ।
...

Fomer diplomat Keshav Jha was found dead at his house by the police. Source: RSS