नयाँ लेबर सरकार अन्तर्गत २३ मध्ये १० वटा मन्त्रालय महिलाहरूको नेतृत्वमा परेको छ।
तान्या प्लिबर्सेक, क्याथरिन किङ्ग, क्लेयर व निल, मिसेल रोल्याण्ड लगायतका नयाँ निर्वाचित महिला सदस्यहरूले विभिन्न मन्त्रालयको बागडोर सम्हाल्ने भएका छन्।
लेबरको नियम अनुसार पार्टी भित्रका गुटले फ्रन्ट बेन्चर्स अर्थात् सरकारको नेतृत्वमा जानेहरुका बारेमा सहमति दिएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरू बाडफाड गर्ने चलन छ।
वेस्टर्न अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रगतिशील सांसद एन अलि प्रारम्भिक बाल शिक्षा मन्त्रालयमा सामील भएकी छन्। यसलाई वेस्टर्न अस्ट्रेलियाका लागि ठुलो उपलब्धिका रूपमा लिइएको छ।
रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यसै गरी दक्षिणी न्यु साउथ वेल्सको एडेन मोनार क्षेत्रकी प्रतिनिधि क्रिस्टी म्याकबेन, क्षेत्रीय विकास मन्त्री बनेकी छन्।
नयाँ सरकारमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्रीका रूपमा रिचर्ड मार्ल्स नियुक्त भएका छन् भने मार्क डिफ्रस, एर्टोनी जनरल अर्थात् महान्यायाधिवक्ता नियुक्त भएका छन्।
यसै गरी टोनि बुर्क रोजगार एवम् कार्यस्थल सम्बन्धी मन्त्रीमा नियुक्त भएका छन्, कला सम्बन्धी मन्त्रालय पनि उनले हेर्ने गरी तोकिएको छ।
यसै गरी पेनी योङ्गले भने विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।
नयाँ सरकारमा जिम चल्मर्स ट्रेजरर र केटी गलाघारले अर्थ मन्त्रालय एवम् महिला एवम् सामाजिक सेवा मन्त्रालय सम्हाल्ने भएकी छन्।
३१ औ प्रधानमन्त्रीका रूपमा एन्थोनी एल्बनिजीले शपथ लिएसँगै पार्टी एकता, अनुशासन र विशिष्टताको महत्त्वका बारेमा चर्चा गरेका छन्।
“हामीले यो देशमा राजनीति गर्ने तरिकामा परिवर्तन गर्नुपर्दछ, हामी थप समावेशी हुनु पर्दछ,” प्रधानमन्त्रीले भनेका छन्।
“विभिन्न मुद्दाहरुमा पहुँच राखी संलग्न हुनु जरुरी छ, हामी यो सब यही संसद्मा गर्न सक्छौ, मेरो उद्देश्य संसद्को पुरानो अवस्थालाई परिवर्तन गरी अगाडी बढ्ने हो।”
लेबरले बहुमतका लागि आवश्यक ७६ सिटका अलावा न्यु साउथ वेल्सको गिलमोरमा अर्को एक सिटमा पनि जित हासिल गरेको पनि प्रधानमन्त्रीले बताए।

यसै गरी भिक्टोरियाको डेकिन क्षेत्रको एक सिटका लागि पनि गणना जारी छ।
आगामी बर्षकालागि एजेन्डाहरू सार्वजनिक गदै प्रधानमन्त्रीले मुलुकको ४७ औ संसद जुलाई २६ देखि सुरु हुने पनि बताएका छन्।
भाषणका क्रममा प्रधानमन्त्रीले उलुरु वक्तव्यलाई हृदयदेखि स्वीकार गर्ने र आदीवासीहरुको आवाजलाई संसद्मा स्थापना गर्नेमा आफ्नो प्रतिबद्धतालाई दोहर्याएका छन्।
राष्ट्रिय अखण्डता आयोगको निर्माण आफ्नो प्राथमिकता रहेको पनि प्रधानमन्त्रीले बताए।
राष्ट्रिय मेलमिलाप र उलुरु वक्तव्य लागु गर्नका लागि सांसद प्याट डडसनलाई विशेष दूत बनाइएको छ भने लिन्डा बर्ने सङ्घीय आदिवासी मन्त्रीका रूपमा नियुक्त भएकी छन्।
प्रधानमन्त्री एल्बनिजीले जापानमा भएको क्वाड बैठकमा आफ्नो उपस्थिति र विदेश मन्त्री पेनी वोङ्गको सोलोमन टापुको भ्रमणलाई उपलब्धिका रूपमा व्याख्या गरे।
“जलवायु परिवर्तन सम्बन्धी मुद्दामा हाम्रो नयाँ प्रतिबद्धता प्रति प्रशंसा भएको छ, ९ वर्ष बर्बाद गरेपछि विश्वको प्रयासमा हामी पुन: सामेल हुदैछौ,” प्रधानमन्त्रीले भने।
“म सबैलाई एक पटक पुन: सम्झाउन चाहन्छु, हामीले सरकारमा एक मिनेट पनि खेर फाल्नु हुँदैन।”
यता नयाँ ट्रेजरर जिम चाल्मर्सले सरकारले आर्थिक चुनौतीहरूको सामना गरिरहेको भन्दै यसका बारेमा तुरुन्त सम्बोधन गर्नु आवश्यक रहेको बताएका छन्।
पूर्ववर्ती सरकारले अर्थतन्त्रमा 'ठुला' विसंगतिहरु छाडेकाले यसको समाधानका लागि बर्षौ लाग्ने पनि उनले बताएका छन्।
म सबैलाई एक पटक पुन: सम्झाउन चाहन्छु, हामीले सरकारमा एक मिनेट पनि खेर फाल्नु हुँदैन
यद्यपि उनले बजेटको सुधारका लागि टोनि एबोट सरकार जस्तो उच्च आयकर्ताहरूलाई लेभि लगाउने हल्लालाई अस्विकार गरिदिएका छन्।
ट्रेजररले सरकार बचत गर्नमा लागि पर्ने पनि स्काई न्युजसँगको कुराकानीका क्रममा बताए।
“हामीले चुनावको केही दिन अघि नै बजेट सुधारका लागि ११ अर्बको प्रस्ताव गरिसकेका छौ, त्यसैले पनि यो हाम्रो प्राथमिकता हो,” ट्रेजररले भने।
यता पूर्व गठबन्धन सरकारमा रहेको दल नेशनलको पनि नेतृत्व परिवर्तन भएको छ।
डेभिड लिटलप्राउड र डेरेन चेष्टरले चुनौती दिएपछि पार्टीका नेता बार्नवी जोईस अपदस्थ हुन पुगे।

पार्टीको नेतृत्व अब डेभिड लिटलप्राउडको हातमा पुगेको छ।
पार्टीको नेतृत्व लिएसँगै लिटलप्राउडले टेन नेटवर्कसँग कुराकानी गदै फरक शैलीको नेतृत्वको भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले जलवायुको पक्षमा पार्टीका एजेन्डाहरूलाई पुनर्विचार गदै विश्व तापमानबृद्धीका कारण किसानहरूलाई परेको असरलाई कम गर्न समाधान खोज्ने वाचा गरेका छन्।
उता पार्टीका पूर्व नेता जोयसले भने पार्टीको नेतृत्वबाट अलग हुनु 'पिठ्युँ माथिको भार' कम हुनु जस्तै भएको बताए।
जोयस न्यु साउथ वेल्स राज्यको न्यु इङ्गल्यान्ड क्षेत्रलाई प्रतिनिधित्व गदै सांसदका रूपमा रहनेछन्।
यता लिबरलकी सहायक नेतृत्व सम्हालेकी सुसान ले भने पार्टी भित्र लैङ्गिक कोटाहरूका बारेमा पुन:विचार हुन सक्ने बताएकी छन्।
महिला मतदाताहरूको मन जित्ने प्रयास स्वरूप अस्ट्रेलियाभर भ्रमण गरी व्यक्तिगत कुराकानी गर्ने आशा गरेकी छन्।
डेपुटी लिडर सुसान ले भन्छिन् कि “पछिल्लो निर्वाचनमा हामीलाई भोट गर्ने महिलाहरूलाई म यो भन्न चाहन्छु कि हामी अझै यही छौ र सम्पूर्ण लिबरलका नीतिहरू प्रतिबद्ध छौ।”







