दशकमा एक पटक सार्वजनिक हुने एक रिपोर्ट मार्फत विज्ञान अध्ययन संस्थाले आगामी २० वर्षमा अस्ट्रेलियाले लिने गतिका बारेमा अध्ययन सार्वजनिक गरेको छ।
चरम मौसमी घटनाहरू, कोरोनाभाइरसको लामो प्रभाव, बढ्दो अनलाइन संसार जस्ता चीजहरूको अनुभव हामीले आगामी २० वर्षमा गर्ने उक्त संस्थाको भनाई छ।
निकै अस्थिर र अनिश्चित संसारमा बाँची रहेका बेला, समस्याहरूको समाधानका लागि अन्तर्राष्ट्रिय समन्वय सबैभन्दा महत्त्वपूर्ण हुने संस्थाका प्रमुख ल्यारी मार्सलको भनाई छ।
“मेगा ट्रेन्डले असहज सत्य र हाम्रो भविष्य निर्माणका लागि विशाल अवसरहरूलाई आकार दिन्छ, र यसले हामीले काम गरेको खण्डमा हाम्रो भविष्य समृद्ध बनाउने शक्ति पनि दिन्छ, तर यदि त्यसलाई अनदेखा गर्यौ भने यसले विनाश पनि निम्त्याउन सक्छ,” उनले भने।
उक्त प्रतिवेदनमा शीर्ष स्थान दिइएका मेगा ट्रेन्डमा जलवायु परिवर्तनको प्रभावहरूसँग अनुकूल हुने, नवीकरणीय ऊर्जामा बढ्दो निर्भरता र महामारीपछिको परिस्थितिमा कसरी बाच्न सिक्ने भन्ने कुरालाई महत्त्व दिने भन्ने कुरालाई केन्द्रमा राखिएको छ।

जलवायु सम्बन्धी संस्था क्लाईमेट काउन्सिलकी प्रमुख एमेन्डा म्याकन्जी जलवायु परिवर्तनमा तत्काल कदम चाल्नु आवश्यक भएको बताउँछिन्।
जसका लागि सङ्घीय सरकार, राज्य सरकार र व्यापार एवम् सामुदायिक समूहहरूबाट समन्वयात्मक प्रतिक्रियाहरू आवश्यक रहने उनको भनाई छ।
अस्ट्रेलिया पहिले नै पछाडि परिसकेको अवस्थामा जलवायु परिवर्तनको प्रभावलाई उल्टाउनका लागि कदम चाल्नु जरुरी रहेको उनले बताइन्।
“सिएसआइआरओको रिर्पोटले यसअघिका विभिन्न खाले रिर्पोटहरुले भनेकै कुराहरूलाई प्रस्ट्याएको हो, जलवायु परिवर्तनसँग जुध्न असफल हुनुको मूल्य ठुलो चुकाउनु पर्नेछ,” उनले भनिन्।
“तर अर्को तर्फबाट हेर्ने हो भने चाहिँ, परिस्थतीसँग जुधेर अगाडी बढ्ने हो भने हामीसँग थुप्रै अवसर छन्।”क्लाईमेट काउन्सिलकी प्रमुख एमेन्डा म्याकन्जी
ल्यारी मार्सलका अनुसार कोरोनाभाइरस महामारी पछिको स्वास्थ्य सेवा आर्टीफिसिएल इन्टीलीजेन्स भनिने कृत्रिम बृद्धीमता र डिजीटाईजेसनसँग बढी जोडिने छ।
उनका अनुसार अस्ट्रेलिया, यी रोमाञ्चक प्रविधिहरूको प्रयोगमा अन्य मुलुक भन्दा पछाडि छ।
खोपको विकास र खडेरीको भविष्यबाणी गर्नका लागि आर्टीफिसिएल इन्टीलीजेन्सको प्रयोग भइसकेको अवस्थामा यसबाट फाइदा लिनका लागि नयाँ रोजगारीहरूको सिर्जना गर्ने र यसको फाइदाहरूको मुल्याकंन चाहिँ गर्नु पर्ने उनी बताउँछन्।
पछिल्लो समय विश्व भू-राजनीतिक तनावबाट गुज्रीरहेको छ, चाहे त्यो युकेन र रुस बिचको द्वन्द्व होस् या चाहे एसिया प्रशान्त क्षेत्रमा देखिएको पछिल्लो मनमुटाब।
तर मेगाट्रेन्डका बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाल देखिएका चुनौतीहरू विरुद्ध लड्न विश्वव्यापी प्रयासमा विज्ञानलाई सामेल गराउनु भएको उनको भनाई छ।
“महामारीका कारण पनि समस्याहरुको समाधानका लागि विज्ञानको आवश्यकता पर्ने कुरा स्पष्ट भइसकेको छ, आगामी दिनका चुनौतीका लागि पनि विज्ञानलाई केन्द्रमा राख्नु पर्दछ,” उनले प्रस्ट पारे।
“मैले बारम्बार भन्ने गरेको छु, हामीले गर्नुपर्ने कुरा धेरै छन्, तर विज्ञानले हामीलाई बाटो देखाउन सक्छ।”ल्यारी मार्सल





