गर्मी मौसम सुरु भएसँगै रोयल लाइभ सेभिङ्ग अस्ट्रेलियाले पानीमा डुबेर हुने मृत्युलाई कम गर्न नयाँ अभियानको सुरुवात गरेको छ।
सन् २०२०/२१ मा ३३९ जना मानिस पानीमा डुबेर मारिएको नयाँ रिपोट सार्वजनिक भएको छ।
मारिनेमा पुरुष त्यस माथि पनि बहु सांस्कृतिक समुदायका सदस्यहरूको सङ्ख्या बढी छ।
विभिन्न सामुदायिक सङ्घ संस्थाहरूले पानी सुरक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहँदा, रोयल लाइभ सेभिङ्ग न्यु साउथ वेल्स र एसीटीले नयाँ कार्यक्रमको घोषणा गरेका छन्।
रिर्पोटले देखाए अनुसार बालबालिकाहरू पानीमा डुब्ने घटनाको प्रतिशतमा केही कमी आए पनि पुरुष विशेष गरी ३३ देखि ४५ वर्ष उमेर समूहमा भने यो प्रतिशत निकै बढेको छ।
रोयल लाइभ सेभिङ्ग अन्तर्गत न्यु साउथ वेल्स रोकथाम र शिक्षा सम्बन्धी प्रमुख क्रेग रोर्बटस् बालबालिका भन्दा पनि पुरुषहरूमा पानीमा डुब्ने घटना बढी रहेको बताउँछन्।
“पानीमा डुबेर मारिनेमा ८२ प्रतिशत पुरुषहरू छन्, पौडी खेल्ने, बोटीङ्ग र अन्य मनोरञ्जन गतिविधि गर्दा निकै ध्यान दिनु पर्ने देखिन्छ,” रोर्बटस्ले भने।
पूर्बी अस्ट्रेलियामा आएको बाढीका कारण पनि समग्रमा १० वर्ष यताको मृत्युदरलाई ३४ प्रतिशतले बढाएको छ।
रोयल लाइभ सेभिङ्गको सन् २०२२को सुरक्षा अभियानमा एम्बेसडरको भूमिका निर्वाह गरिरहेका पूर्व खेलाडी म्याट सिर्भीङ्गटन पछिल्लो समय मौसमी प्रभावका कारण स्थानीय नदीहरूमा पनि बहाव बढेकाले थप सतर्क रहन आग्रह गर्छन्।
“विशेष गरी रिजनल क्षेत्रमा बाढीका कारण नदीहरूको बहाव र गहिराइमा परिवर्तन आएको छ, हामीले पहिले देखिरहेका नदी भन्दा यो फरक पनि हुन सक्छ, त्यसैले सर्तकर्ता अपनाउनु महत्त्वपूर्ण छ,” सिर्भीङ्गटन भन्छन्।
पूर्व ओलम्पियन समेत रहेका सिर्भीङ्गटन पानीमा खेल्न डराउने नभई, समुदाय र खतरामा रहेका मानिसहरूको सुरक्षामा ध्यान दिन पनि सुझाव दिन्छन्।
यस्तै भनाई क्रेग रोर्बट्सको पनि छ, उनी चाहिँ विशेष गरी बहु सांस्कृतिक पुष्ठभुमीका मानिसहरू सुरक्षा सम्बन्धी कार्यक्रमहरूबाट छुटेका वा आफ्नो भाषामा निर्देशन प्राप्त नगरेकाहरूलाई केन्द्रमा राख्नु पर्ने बताउँछन्।

“विशेष गरी बहु सांस्कृतिक समुदायका सदस्य जसले पौडी खेल्न जानेका छैनन्, सिक्नका लागि उमेरले छेक्दैन, हामीसँग यस्ता थुप्रै कार्यक्रमहरू छन्,” उनले भने।
यता मेलबर्नमा पनि ब्राइटन लाइभ सेभिङ्गस क्लबले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसलाई समेट्ने गरी आउँदो शनिवार एक कार्यक्रमको आयोजना गर्दैछ।
अफगानी महिलाहरूको सङ्गठनसँग मिलेर हुन लागेको कार्यक्रममा ६० भन्दा बढी भर्खरै अस्ट्रेलिया आएका महिलाहरूलाई तालिम लगायत विभिन्न गतिविधिहरू आयोजना गरिँदै छन्।
क्लबका प्रवक्ता टिम स्टेवार्टले यस अघिका यस्ता कार्यक्रमहरूले समुदायमा निकै ठुलो प्रभाव पारेको बताए।
“भाग लिएका मानिसहरूले आफ्नो समुदायका अन्य मानिससँग ज्ञान बढ्दा, नयाँ आएका आप्रवासीहरूको पानीमा डुबेर मृत्यु हुने दरलाई कम गर्न मद्दत गर्दछ।”





