गर्मीको मौसमको सुरुवात सँगै समुन्द्रछेउमा गएर रमाइलो गर्ने बेला पनि सुरु भएको छ। स्कुले बिदाको बेला धेरै परिवारहरू पार्कमा खेल्न जाने, पिकनिक गर्ने र पौडिने जस्ता रमाइला कार्यहरूमा बिताउँछन्।
तर समुन्द्र छेउमा गई पौडने क्रममा धेरैको ज्यान पनि जाने गरेको छ। कहिले पानीको कडा छालले बगाएर लगेको हुन्छ भने, कहिले सावधानी नहुँदा दुर्घटनाहरू हुने गरेको छ।
खास गरी अस्ट्रेलियामा रहेको प्रवासी समुदाय, जसले पौडने तालिम नलिएका वा यससम्बन्धमा जानकार नभएकाहरू यस किसिमको दुर्घटनामा परिरहेको पनि पछिल्ला तथ्याङ्कहरूले देखाएका छन्।
गत सोमवार मात्र भारतीय मूलका दुई पुरुषहरूको न्यु साउथ वेल्सको उत्तरी भेगमा रहेको मुनि बिचमा आफ्ना नातेदारहरूलाई उद्धार गर्ने क्रममा ज्यान गएको थियो। सोही समूहमा रहेका अर्को एक पुरुष भने हालसम्म फेला परेका छैनन्।
भारतीय मुस्लिमहरूको सङ्गठनका अर्शद खानले यस घटनाले आफ्नो समुदाय स्तब्ध भएको बताएका छन्। केही महिना अघि मात्रै आफ्नो समुदायका अर्का एक व्यक्ति पनि समुन्द्रमा पौडने क्रममा डुबेर ज्यान गएको उनले बताए।
एक स्थानीय प्रहरी अधिकारी ब्रेन्डन गोरम्यानले गत सोमवारको मौसम पौडनका लागि उपयुक्त नरहेको बताउँछन्। आइतबार राति भारी वर्षा भएको र पानीको वेग उग्र रहेको पनि उनले उल्लेख गरे।
प्रभावित भएको उक्त परिवार भारतको हैदरावादबाट आएको बताईएको छ।
सर्फ लाइफ सेभिङ्ग अस्ट्रेलियाले यो गर्मी याममा समुन्द्र छेउमा जाँदा सावधानी अपनाउन सबैलाई अपिल गरेको छ। गत वर्षको गर्मी महिनाहरूमा अस्ट्रेलियाभर ५२ जनाको समुन्द्री पानीमा ज्यान गएको थियो, र त्यो विगत १४ वर्षको तथ्याङ्कको तुलना गर्दा सबैभन्दा उच्च रहेको थियो।
यो वर्ष,जुलाई महिना यता, ३५ जनाको डुबेर मृत्यु भएको उक्त संस्थाले बताएको छ।
सर्फ लाइफ सेभिङ्ग अस्ट्रेलियाका सेन डअले पौडन जानु अघि योजना बनाउन, र सावधानी अपनाउन अत्यन्तै आवश्यक रहेको बताउँछन्। उनको बिचारमा पानीको वेग, छालको प्रभाव लगायतका कुराहरूलाई ध्यान दिन पनि उत्तिकै आवश्यक रहेको छ।
उता भारतीय सामुदायिक सङ्गठनका अर्शद खानले भारत लगायत विभिन्न देशहरूबाट आएकाहरूलाई पौडने सम्बन्धमा धेरै ज्ञान नहुने भएकाले- यिनीहरूलाई यस सम्बन्धमा अझ बढी शिक्षा दिन आवश्यक रहेको बताउँछन्।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

