कोरोना
नेपालमा कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण अन्तर्गत आईतबारदेखि ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप दिइँदैछ।
यसपटक खोप समुदाय स्तरमा दिइँदैछ, र ६५ वर्ष माथिका मानिसलाई घर नजिकैको स्वास्थ्य सँस्थामा जानु पर्नेछ। यस चरणमा विश्वविद्यालयका प्राध्यापकलाई पनि खोप दिइनेछ।
हाल कोरोनाबाट सकृय संक्रमित मानिसको संख्या ८०० को हाराहारीमा रहेको छ भने प्रतिदिन थपिने नयाँ संक्रमितको संख्या १०० को हाराहारीमा छ। कूल संक्रमितको संख्या २७ लाख भन्दा बढी छ, र मृतकको संख्या ३,००० भन्दा बढी पुगेको छ।

विप्लव समूहसँग सहमति
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ। भूमिगत रहेको नेत्रविक्रम चन्द माओवादी समूहले बम पड्काउने लगायतका विभिन्न हिंसात्मक गतिविधि गर्दै आईरहेको थियो।
विप्लव समुहले हिंसात्मक गतिविधि त्यागेर राजनीतिक तरिकाले अघि बढ्ने, सरकारले त्यो समूहका राजनितिक बन्दीहरुलाई रिहा गर्ने र समूहमाथिको प्रतिबन्ध हटाउने सहमति गरिएको छ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
त्यसको एक दिन पछि, भूमिगत रहेका नेत्रविक्रम चन्द सार्वजनिक भएका छन्। शनिबार काठमाण्डुमा प्रधानमन्त्री ओलीसँग एउटै मञ्चबाट बोल्दै चन्दले भने, "तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ। यसलाई हामी पालना गर्छौं। यसलाई हामी दृढतापुर्वक भन्छौं – यहाँ कसैले पनि कहीँबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक या अर्को ढंगले कुतर्क गर्नु जरुरी छैन।"
लामो समयको वार्ता र प्रयासपछि यो सहमतिमा हस्ताक्षर गरिएको दुवै पक्षले बताएका छन्।
विप्लव समूहका हिंसात्मक गतिविधि रोकिने भएकोमा धेरै मानिस खुशी देखिन्छन् भने राजनीतिशास्त्रीहरुले यो कदमलाई ओली नेतृत्वको अलोकप्रिय सरकारले केही ठोस उपलब्धी देखाउनका लागि चालेको रणनैतिक कदमका रुपमा हेरेका छन्।

संसद
प्रधानमन्त्री ओलीले डिसेम्बरमा अचानक विघटन गरेको संसदको अधिवेशन फेरी आईतबार बस्न लागेको छ।
संसदको अवधी दुई वर्ष बाँकी हुँदै प्रधानमन्त्रीले विघटन गरेको कदमलाई गत हप्ता सर्वोच्च अदालतले असंवैधानिक भन्ने फैसला गर्दै अधिवेशन पनि बोलाउने आदेश दिएको थियो।
अधिवेशनको तयारीमा सांसदहरु र संसद सचिवालयका कर्मचारीलाई कोरोना विरुद्धको खोप दिइएको छ।
संसदको अबको सत्रमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने र सरकार परिवर्तन हुने सम्भावना देखिएकाले यसलाई देशभरबाट अत्यन्त रुचिका साथ हेरिएको छ।
आईतबारको कार्यसूचिमा तेजाब, फौजदारी ऐन, र संवैधानिक परिषद लगायतका विषयमा केही अध्यादेश राखिएका छन्।
कोमल वली
नेकपाका नेता रघुजी पन्तले गायिका र राष्ट्रिय सभाकी सदस्य कोमल वलीका बारेमा भनेका केही भनाइका कारण महिला विरुद्धका भनाइका बारेमा चर्को बहस शुरु भएको छ।
राजनीतिमा महिलाका स्थानका बारेमा गत हप्ता पन्तले यस्तो भनेका थिए, "छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। बीसौं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्, राष्ट्रिय सभा पनि पाएनन्। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिँडुला देखाउँदै पोइलो जान पाम् भनेपछि त सांसद त तिनै भइन्।"
महिलाको सफलता शारीरिक आकर्षणबाट वा पुरुषसँगको निकटताबाट मात्र आउँछ भन्ने आशय व्यक्त गरेको भन्दै पन्तको सर्वर्त्र आलोचना भएको छ। थुप्रै महिलावादी व्यक्ति र सँस्थाले उनको अभिव्यक्तीको निन्दा गरेका छन्।
महिला आयोगले एउटा विज्ञप्तीमा महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने गलत प्रवृत्ती देखिएको भन्दै सार्वजनिक पदमा रहिसकेका पन्तले सभासद जस्तो सम्माननीय पदमा रहेकी वलीप्रतिको आपत्तीजनक भनाइको भर्त्स्ना गरेको बताएको छ।
वलीले पन्तलाई एउटा खुलापत्र लेख्दै यस अभिव्यक्ति विरुद्ध प्रहरी चौकी र अदालत जाने बताएकी छिन् भने पन्तले वलीसँग माफी मागेको बताइएको छ।
यस घटनाले एकजना महिलाको अपमान मात्र नगरेर समाजमा महिलाप्रति यस्तो सोच व्याप्त रहेको देखाएको छ र यस्ता गैह्र जिम्मेवार भनाइहरु भइराख्ने प्रवृत्ती पनि उजागर गरेको छ।

लक्ष्मीनारायण मूर्ती
३६ वर्षअघि ललितपुरबाट चोरिएको वासुदेव-कमलाजा अर्थात लक्ष्मी–नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।
शुक्रबार वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई त्यो मूर्ति हस्तान्तरण गरेका हुन्।
डालास म्युजियम अफ आर्टमा रहेको त्यो ७० किलोको मूर्ती पाटनमा ८०० वर्षदेखि स्थानीयवासीले पूजा गरिरहेका थिए। मूर्तीलाई नेपाल ल्याउने खर्च डालास म्युजियम र एफबीआईले नबेहोर्ने भएपछि हाललाई अमेरिकास्थित नेपाली दूतावासमै राखिएको छ।
यो हस्तान्तरणले नेपालका थुप्रै कलाकृति र ऐतिहासिक सम्पदा चोरी हुने गरेको घटनामाथि पनि प्रकाश पारेको छ।
नेपालका थुप्रै मूर्तीहरु यसै गरी युरोप र अमेरिकाका विभिन्न संग्रहालयमा भेटिन्छन्। तर कमैले मात्रै त्यसरी मूर्ती चोरिएको कुरा स्वीकार गर्छन् र अझ कमले त्यस्ता वस्तु फर्काउने गर्छन्।
पछिल्लो समयमा सम्पदाप्रेमीहरुको बढ्दो सकृयताका कारण यस्ता चोरिएका सामग्रीको बढी चर्चा हुन थालेको छ।
मुस्कान खातुन
एसीड आक्रमणबाट पीडित नेपाली किशोरी मुस्कान खातुनले अमेरिकी सरकारको एउटा प्रतिष्ठित पुरस्कार इन्टर्नेशनल वुमन अफ करेज पाएकी छिन्।
सन् २०१९ मा आक्रमणमा परेपछि दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत खातुनले त्यसपछि पीडितहरुका हकमा काम गरिरहेकी छिन्।
केही महिना अगाडि एसिड आक्रमण सम्बन्धी नेपालको कानुन परिवर्तन गरिएको थियो, र त्यसो गर्नमा खातुनको अभियानको पनि महत्वपूर्ण भूमिका रहेको थियो।
१७ वर्षीया खातुन यो पुरस्कार पाउने सबभन्दा कम उमेरकी महिला हुन्।

यो भन्दा अगाडि अफगानिस्तानकी महिला शिक्षा अभियन्ता मलाला युसुफजाइले पाइसकेको पुरस्कार पाउँदा आफु धेरै खुशी भएको र थप जिम्मेवारी पाएजस्तो भएको खातुनले सञ्चार माध्यमलाई बताएकी छिन्।
खातुनलाई अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा यो पुरस्कार भर्चुअली अमेरिकाकी प्रथम महिला जिल बाइडेनले दिने योजना रहेको छ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali




