सातै प्रदेशका बजेट सार्वजनिक
सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि आफ्नो पहिलो बजेट सार्वजनिक गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकहरुमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट सार्वजनिक गरेका थिए ।
प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि १ अर्ब १२ करोड विनियोजन गरिएको छ ।
प्रदेश २ को सरकारले भने २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रत्येक प्रदेशसभा सदस्यलाई दुई किस्तामा वितरण गरिने निर्वाचन क्षेत्र विकास कोषका लागि ५८ करोड ७५ लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

प्रदेश ३ सरकारले ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको छ। प्रदेश सरकारले बजेटको १४ दशमलव ८५ प्रतिशत रकम स्थानीय तहलाई विनियोजन गरेको जानकारी दिएको छ ।
प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
त्यस्तै कर्णाली प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ‘जनता सडक कार्यक्रम’ का नाममा सांसदलाई पाँच–पाँच करोड उपलब्ध गराउने भएको छ ।
प्रदेश ७ को सरकारले २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ।
..
आरके ज्वेलर्सबाट सुनचाँदी जफत, बाजेको सेकुवामा छापा
सुन तस्करीसम्बन्धी अनुसन्धान गर्न सरकारद्धारा गठित छानबिन समितिले राजेन्द्रमान शाक्यको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्सबाट गरगहनासहित ३५ प्रकारका धातु जफत गरेको छ।
सोमबार गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समितिले आरके ज्वेलर्समा शिलबन्दी गरेको थियो।
छानबिन समितिले २० करोड बराबरको गरगहना र धातुहरु जफत गरेको थियो । आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य पक्राउ परी पूर्पक्षका लागि मोरङ कारागारमा छन्। यसअघि चूडामणि उप्रेती ‘गोरे’को समूहले अवैध रुपमा भित्र्याएको सुनमा शाक्यको पनि लगानी रहेको समितिले औल्याएको थियो।
त्यस्तै तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी छानबिन समितिले चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ।
समितिले बुधबार बाजेको सेकुवाका विभिन्न ६ शाखामा छापा मारेर शिलबन्दी गरेको थियो ।
चूडामणि उप्रेती ‘गोरे’ का आफन्त समेत रहेका चेतनाथ भण्डारी छानबिन समितिले काम थालेपछि फरार छन् । सुन तस्करीका उप्रेतीमार्फत उनले लगानी गरेको समितिले औल्याएको थियो।
..

एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल –एपिएफ) क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा एपिएफले नेपाल आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
एपिएफले ४१.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भएको थियो ।
एपिएफका बलर करन केसीले तीन तथा भुवन कार्की र बसन्त रेग्मीले दुई दुई विकेट लिए। प्रतियोगिताको विजेता एपिएफले २० लाख रुपैयाँ प्राप्त गरेको थियो। त्यस्तै अनिल शाह प्लेयर अफ दि म्याच र सागर पुन प्लेयर अफ दी सिरिज घोषित भएका थिए ।
..
नेकपाको पहिलो स्थायी समिति बैठक बस्यो
नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । एमाले माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको पहिलो स्थायी समिति बैठकमा राजनीतिक तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन, पार्टी नियमावली र आचारसंहिता गठनबारे छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा समेत छलफल भएको थियो । नवगठित नेकपाको स्थायी समितिमा ४५ जना सदस्य छन् ।

कलाकार भीमबहादुरको निधन
कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ । लामो समयदेखि मुटु र मृगौलसम्बन्धी समस्याबाट ग्रसित उनको मैतीदेवीस्थित निवासमा निधन भएको थियो ।
उनलाई जेठी छोरी सीता र धर्मपुत्री हाँस्यकलाकार दीपाश्री निरौलाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए। पूर्वसेनानीसमेत रहेका उनलाई नेपाल सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
‘देवी’ र ‘तीतो सत्य’ लगायत टेलिसिरियलमा काम गरिसकेका उनी पछिल्लो पटक ‘छक्कापञ्जा २’ फिल्ममा देखिएका थिए ।
१९८३ असारमा खोटाङको लामिडाँडामा जन्मिएका उनका दुई छोरी र एक छोरा छन् । उनले दोस्रो विश्वयुद्धताका १६ वर्षको उमेरमा बर्मा गएर युद्ध लडेका थिए । विश्वयुद्ध सकिएपछि स्वदेश फर्किएलगत्तै उनले नेपाली सेनामा सेवा सुरु गरेका थिए ।
विसं २००८ देखि रेडियो नेपालबाट प्रसारण हुने ‘रेडियो रूपक’ का ‘सुवेदार भीमबहादुर थापा’ ले विसं २०४८ सालको ‘के घर के डेरा’ फिल्म क्षेत्रमा देखिएका थिए ।
..
७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा
दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषाको परीक्षामा ७४ हजारभन्दा बढीले परीक्षा दिएका छन् । नेपाल इपीएस सेन्टरका अनुसार ८२ हजारभन्दा बढीले आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका थिए ।
कोरियन भाषा परिक्षाका लागि उपत्यकामा विभिन्न २४ र पोखरामा चार केन्द्र तोकिएको थियो । कोरियामा विदेशी कामदार ल्याउनेमध्ये नेपाल दोस्रो स्थानमा रहेका छ ।
..
गुन्डा नाइके लामामाथि प्रहरीद्धारा गोली प्रहार
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । सोमबार ललितपुरको युएन पार्कमा सर्च अपरेशन अन्तर्गत प्रहरी टोलीले गोली चलाउँदा दाहिने खुट्टाको तिघ्रामा गोली लागेर उनी घाइते भएका थिए ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र दुई गोली बरामद गरेको थियो ।
महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार गुन्डा नाइके लामाले व्यवसायीहरुसँग धम्क्याएर चन्दा संकलन गर्ने आरोप लागेकाले खोजी भईरहेको बताएका थिए। उनीमाथि यसअघि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।




