अस्ट्रेलियाका ४०% महिलाहरूले बिना पूर्व योजना गर्भाधान गर्ने तथ्याङ्कले देखाउँछ। आफ्नो योजना विपरीत बसेका यस्ता गर्भ मध्ये ३०% को गर्भपतन हुने गरेको छ।
मोनाश विश्वविद्यालयको जनरल प्राक्टिस विभागकी प्रमुख प्राध्यापक ड्यनियल माट्जा अस्ट्रेलियामा, पहिले गर्भपतन सम्बन्धी कडा कानुनहरू भए तापनि क्रमबद्ध रूपमा ती कानुनमा धेरै परिवर्तन आइसकेको बताउँछिन्।
“गर्भपतनलाई अस्ट्रेलियामा अहिले कानुनी मान्यता दिइएको छ, यो स्वास्थ्य सेवा मार्फत उपलब्ध छ,” उनले भनिन्।
“तर कानुनी मान्यता दिइनु र सेवामा पहुँच पाउनु दुई फरक कुरा हुन्, सेवा पाउनका लागि सेवा दिने पर्याप्त मानिसहरू पनि हुनु पर्छ।”
एक दशक अघिसम्म धेरै जसो गर्भपतन सेवा निजी स्तरबाट सञ्चालित संस्थाहरूबाट हुन्थ्यो भने यसका लागि शल्यक्रिया आवश्यक पर्दथ्यो।
अहिले विकल्पका रूपमा मेडिकल टर्मिनेसन अर्थात् औषधिका मार्फत पनि गर्भपतन हुन्छ। तर केवल १०% चिकित्सकहरू मात्र यस्ता औषधि दिने अधिकार राख्दछन्। यी सेवा भेट्टाउन पनि त्यति सजिलो भने छैन।
प्राध्यापक माट्जा राज्य र प्रदेश पिच्छे कानुनहरू फरक फरक भएका कारण यसो भएको बताउँछिन्।
भिक्टोरिया गर्भपतनको कानुनको हिसाबले सबैभन्दा स्वतन्त्र मानिन्छ, केही राज्यमा भने २० हप्ता भन्दा बढीको गर्भपतन गर्नु परेमा अनुमति कसले दिने हो भन्ने कुराले मान्यता राख्छ।प्राध्यापक ड्यनियल माट्जा, मोनाश विश्वविद्यालयको जनरल प्राक्टिस विभागकी प्रमुख प्राध्यापक
गर्भपतन सम्बन्धी कानुनले महिलाहरूले चिकित्सकहरूसँगै जतिसक्दो अप्ठेरो अवस्थामा पनि आफ्ना कुराहरू राख्ने अनुमति दिएको छ।
“यदि महिलाहरूलाई गर्भपतनको आवश्यकता छ र उनीहरू चिकित्सककोमा गए भने उनीहरूले आफूले सेवा दिन अनुमति प्राप्त नगरेको भए अन्य चिकित्सक वा सेवा प्रदायककोमा पठाउनु पर्दछ,” उनले भनिन्।
“कानुनमा यस्तो खण्ड छ, जहाँ चिकित्सकले धार्मिक वा अन्य कुनै कारणवश आफूले गर्भपतन गर्न नसक्ने भए अन्य सेवा दिने अन्य संस्थामा पठाउनु आदेश दिन्छ।”
समग्र अस्ट्रेलियाली समाज भन्दा भाषिक रूपमा विविध र बहु सांस्कृतिक समुदाय भित्र गर्भपतनलाई कलङ्कका रूपमा हेरिने गरिन्छ।
न्यु साउथ वेल्सको फ्यामिली प्लानिङकी स्वास्थ्य निर्देशक डा. क्लेर बोर्मा बहु सांस्कृतिक समुदायमा अझै बढी व्यवधानहरू रहेको बताउँछिन्।
मलाई लाग्छ, धेरै अस्ट्रेलियालीहरूलाई यो गार्हो कुरा छ, तर बहु सांस्कृतिक समुदाय जो, यौन वा सम्बन्धहरूका बारेमा कुरा गर्दैनन् उनीहरूलाई सामाजिक रूपमा झनै बढी चुनौतीपूर्ण हुन्छ।डा. क्लेर बोर्मा, न्यु साउथ वेल्सको फ्यामिली प्लानिङकी स्वास्थ्य निर्देशक

It's important to speak with your GP or contact the service that is nearest to you. Credit: Getty/kupicoo
गर्भपतनका बेला सामान्य चिकित्सक जीपीको जिम्मेवारी
आप्रवासी समुदायका महिलाहरूले आफ्नै समुदायका चिकित्सकहरूसँग परामर्श लिन जाने भएका कारण पनि उनीहरूले के भन्लान् भन्ने डर पाल्ने गरेको बताइन्छ।
गर्भपतन सम्बन्धी सेवा स्थान अनुसार फरक पर्ने भएकाले एउटै प्रक्रिया नहुन पनि सक्छ।
डाक्टर बोर्मा, जीपी मार्फत सुरुका परीक्षण गर्न सकिने र उनीहरूको सिफारिसमा सेवा दिने संस्थामा जान सकिने बताउँछिन्।
आंशिक रूपमा तपाईँले गर्भधारण गरेको कति समय भयो भन्ने कुराले पनि के विकल्पहरू छन् भन्ने कुराका बारेमा थाहा हुन्छ, यस बाहेक कहाँ बस्नुहुन्छ भन्ने कुराले सेवाको उपलब्धताका बारेमा थाहा हुन्छ, कतिपय अवस्थामा गर्भपतन गर्न यात्रा गर्नु पर्ने पनि हुन सक्छ।डा. क्लेर बोर्मा, न्यु साउथ वेल्सको फ्यामिली प्लानिङकी स्वास्थ्य निर्देशक
मेडिकल र सर्किजल सेवा मार्फत गर्भपतन
हाल दुई किसिमका गर्भपतन सेवा उपलब्ध छ, मेडिकल अबोर्सन भनिने औषधिको प्रयोग गरी हुने गर्भपतन र शल्यक्रिया मार्फत हुने गर्भपतन।
चिकित्सकले दिएको औषधि खाएर गरिने गर्भपतन भने गर्भ बसेको ९ हप्ता अघिसम्म मात्र गर्न सकिन्छ।
“यो चाहिँ स्वास्थ्यकर्मीहरूले औषधिको प्रयोग गरेर गर्ने गर्भपतन हो, जहाँ स्वास्थ्य जाँच पछि औषधि दिइन्छ, र यसको मद्दतले गर्भपात हुन्छ, घरमै परिवारको रेखदेखमा यो सम्भव हुन्छ,” प्राध्यापक माट्जा भन्छिन्।
यस्तो औषधि जीपी, निजी क्लिनिक वा परिवार योजना सेवाले पनि खरिदका लागि सिफारिस दिन सक्छ।
ग्रामीण क्षेत्रहरूमा टेलिहेल्थ सेवा वा भिडियो सेवा मार्फत पनि औषधिहरू सिफारिस हुन सक्छ।

Credit: Getty/Catherine McQueen
“सबै महिलाहरू गर्भका बारेमा सुरुमै व्यवस्थापन गर्न इच्छुक नहुन सक्छन् त्यस्तो अवस्थामा शल्यक्रियाको सहयोग लिन सकिन्छ, यस्तो अवस्थामा डे क्लिनिक वा अस्पतालमा गई गर्भपतन गर्न सक्छन् र घर जान सक्छन्।”
यस्तो सेवाका बारेमा जानकारी लिनका लागि आफ्नो जीपी वा राष्ट्रिय वा राज्यमा अवस्थित रिफरल सेवालाई सम्पर्क गर्न सकिन्छ।
- हेल्थडिरेक्ट यस्तै सेवा हो जस मार्फत २४ घण्टा रजिस्टर्ड नर्ससँग परामर्श लिन सकिन्छ:१८०० ०२२ २२२
- भिक्टोरियामा १८०० माइ अप्सन्स सम्पर्क सेवामा सम्पर्क गर्न सक्नु हुन्छ: १८०० ६९६ ७८४
- न्यु साउथ वेल्समा प्रेगनेन्सी चोइसेस हेल्पलाइनमा सम्पर्क गर्न सकिन्छ: १८०० ००८ ४६३
- परिवार योजना सम्बन्धी फ्यामिली प्लानिङ क्लिनिकहरूले अस्ट्रेलिया भर विभिन्न सेवा प्रदान गर्दछन्। उदाहरणको लागि फ्यामिली प्लानिङ न्यु साउथ वेल्सलमा १५ हप्ता भन्दा कमको गर्भावस्थामा मेडिकल र सर्किजल सेवा उपलब्ध छ।
- सार्वजनिक अस्पतालहरूमा सीमित गर्भपतन सेवाहरू उपलब्ध छन्।

Credit: Getty/AJ Watt
गर्भपतन गर्दा कति शुल्क लाग्छ?
धेरै जसो गर्भपतन सेवा निजी स्तरबाट प्रदान हुने हुँदा, आफ्नो अवस्था अनुसार शुल्क लाग्न सक्छ।
“मेडीकेयरबाट रिबेट पनि उपलब्ध हुन्छ, यद्यपि कति महिनाको गर्भावस्था हो र कुन उपाय अपनाउने हो भन्ने कुरामा पनि शुल्क निर्धारण हुन्छ।”
चिल्ड्रेन बाइ चोइसमा काउन्सलिङ टिम लिडर रहेकी निकोल ह्युइग निजी बिमा सेवाले पनि फरक फरक अवस्थामा उपचार खर्च बेहोर्ने बताउँछिन्।
“हामीसँग सम्पर्कमा रहेका अधिकांश महिलाहरूको गर्भपतन निजी बिमा कम्पनीले बेर्होदैन, त्यसैले उनीहरू आफैले पुरा खर्च बेहोर्नु पर्ने हुन्छ, अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा पनि निजी बिमा कम्पनीले राज्यद्वारा सञ्चालित अस्पतालमा मात्र यसलाई बेहोर्छ, तर गर्भपतन अधिकांश अवस्थामा डे सर्जरीहरूमा हुन्छ,” उनले भनिन्।

Credit: Getty/milanvirijevic
केही अस्पतालहरूले भने मेडीकेयर भएको अवस्थामा निःशुल्क गर्भपतन सेवा उपलब्ध गराउँछन्।
निजी क्लिनिकहरू मार्फत गर्भपतन गर्दा भने ५०० डलरसम्मको औषधि खर्च लाग्ने ह्युइग बताउँछिन्।
“यस बाहेक चिकित्सकको परामर्श शुल्क, रगत जाँच, अल्ट्रासाउन्ड गरेर १००० डलर जति पर्न आउँछ, शल्यक्रिया गर्ने हो भने चाहिँ बढीमा ८,५०० डलर सम्म पनि लाग्न सक्छ।”
फ्यामिली प्लानिङ न्यु साउथ वेल्सले औषधि र शल्यक्रिया मार्फत गर्भपतन सेवा उपलब्ध गराउँछ। कन्सेसन र हेल्थ केयर भएकाहरूलाई बल्क बिलिङ पनि गरिन्छ।
शल्यक्रिया मार्फत गर्भपतन गर्नु परेमा ३५० डलरदेखि ४५० डलरसम्मको अतिरिक्त शुल्क लाग्न सक्दछ।