सरकारको तयारी
कोरोना भाइरसको बढ्दो प्रकोपलाई सम्बोधन गर्नका लागि नेपाल सरकारले विभिन्न कदमहरु चालेको छ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार बेलुकी ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अत्यावश्यक बाहेकका सबै सरकारी सेवाहरु बन्द गरिने जानकारी दिएका छन्।
कोरोना भाइरसको प्रकोपका कारण मानव सम्पर्क सकेसम्म कम गर्ने उद्देश्यले सरकारले यस्तो कदम लिएको उनले बताएका छन्।
ओलीले भनेः " देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।"
अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य, सञ्चार, दैनिक आपूर्तीका सामग्रीहरु, फोहोर मैला, हुलाक, पेट्रोलियम, आदि परेका छन्।
यी बाहेकमा पर्ने अदालत, संसद, आदि सरकारी निकायहरु हालका लागि बन्द रहनेछन् र विद्यालय र कलेजका पढाई र परीक्षाहरु स्थगित गरिएका छन्।
यसका साथै प्रधानमन्त्रीले नीजि क्षेत्रमा पनि घरबाट गर्न सकिने कामहरु घरबाटै गर्न सबैलाई आग्रह गरेका छन्।
सरकारले कोरोनाका बिरामीका लागि काठमाण्डु भित्र र बाहिर ठाउँठाउँमा अस्पताल र आइसोलेशन वार्डहरु बनाइरहेको छ। त्यही क्रममा सेनाले त्रिपुरेश्वर स्थित आफ्नो मुख्यालयको परिसरमा टेण्ट बनाएर स्वास्थ्यकर्मीलाई तालीम दिइरहेको छ।
५४ वटा टेण्टमा १०८ जना मानिसलाई आइसोलेसनमा राख्न सकिनेछ। यसैगरी काठमाण्डु बाहिर चितवन, बुटवल, पाल्पा लगायत विभिन्न ठाउँमा अस्पतालहरुले आइसोलेसन वार्डको व्यवस्था गरिरहेका छन्।

सार्क तयारी
यसै हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सार्क राष्ट्रहरुले कोरोना भाइरसको बारेमा भिडियो कन्फेरेन्स गरेका छन् जसमा मोदीले कोरोना नियन्त्रणका लागि सार्क राष्ट्रहरुको संयुक्त कोषको प्रस्ताव गरेका छन्।
भारतले कोषमा एक करोड डलर राख्ने पनि मोदीले बताएका छन्।नेपाल सहित सार्क राष्ट्रहरुले यो प्रस्तावको स्वागत गरेका छन्।
भर्खरै मृगौला प्रत्यारोपण गरेर घर फर्केका नेपालका प्रधानमन्त्री केपी ओलीले पनि बैठकमा भाग लिएका थिए।
नेपालको तयारीका बारेमा सबैलाई जानकारी दिएका थिए। उनले भने: "हामीले हाम्रो तयारी अझ राम्रो बनाउनका लागि थुप्रै कदम चालेका छौं। हाम्रो उद्देश्य नेपालमा यो रोग पस्न नदिनु हो।"
नेपालले परीक्षण, र क्वारेण्टाइनको व्यवस्था गरेको भन्दै उनले नेपालले पनि आपतकालीन कोषमा योगदान दिने बताएका छन्।
उच्चस्तरीय समिति
कोरोनाको प्रकोपका बारेमा शनिबार बेलुकी बसेको उच्चस्तरीय समितिको बैठकले प्रधानमन्त्रीले घोषणा गरेका निर्णयलाई कसरी कार्यान्वयन गर्ने भन्ने वियमा छलफल भएको छ।
कोरोनाका कारण अर्थतन्त्र र जनजीवनमा पर्ने प्रभावलाई कम गर्ने बारेमा समितिले कार्ययोजना तय गरेको छ।त्यसको कार्यान्वयनका लागि समितिले ६ वटा कार्यदल गठन गरेको छ।
भारतसँगको खुला सीमानाबाट अहिले पनि हजारौं मानिस नेपाल आइरहेकाले सीमा बन्द गर्ने बारे पहल गर्ने निर्णय भएको छ र परराष्ट्रमन्त्री ईश्वर पोखरेलले यसबारे भारतसँग कुरा अघि बढाएको बताएका छन्।
हाल ठुलो संख्यामा भारतमा काम गर्नका लागि गएका मानिसहरु कोरोनाको त्रासले नेपाल फर्किँदै छन्।
भारतसँग भएको खुला सीमाका १४ नाका मध्ये मुख्य चार नाकाहरु मात्र अहिले खुला राखिएका छन् र त्यहाँ कूल १३३ हेल्थ डेस्क राखिएका छन्।
त्यहाँ शरीरको तापक्रम लगायतको स्वास्थ्य परीक्षण गरिन्छ तर त्यो परीक्षण पर्याप्त नभएको मानिसहरुको गुनासो रहेको छ।
साना नाकाहरुबाट भने मानिसहरु बेरोकटोक आवतजावत गरिरहेका छन्, र सीमा बन्द गर्नुपर्ने भन्दै कतिपयले दवाव दिइरहेका छन्।

आवागमन
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएका छन्। र नेपालभित्र पनि लामो दूरीका बसहरु चैत ९ गते देखि बन्द गरिनेछन्।
हालसम्म हवाई मार्गबाट नेपाल छिरेका मानिसहरुले आफैं आइसोलेसनमा बस्नुपर्ने सरकारको नियम रहेको छ र विदेशीलाई पदयात्रा पनि निषेधित गरिएको छ।
कोरोना संक्रमण भएका ५५ देशबाट मानिसहरुलाई आउन निषेध गरेपछि अधिकांश एयरलाइन्सका उडानहरु बन्द भइसकेका छन्, र यसैबीचमा शनिबार राती नेपाल आइपुगेको सिल्क एयरको विमानबाट यात्रुहरुलाई धेरै बेरसम्म अवतरण गर्न दिइएको थिएन।
यस्तै तनावका बीच प्रतिबन्धको उल्लंघन गर्दै विभिन्न उडानहरुबाट कोरोना संक्रमण भएका मुलुक हुँदै ६१ जना नेपाली पनि विमानस्थल आइपुगेका छन् र उनीहरुलाई खरीपाटीको क्वारेण्टाइनमा पठाइएको छ।
यसअघि त्यहाँबाट आउने विदेशीहरुलाई फर्काइएको थियो।
स्थल र हवाई मार्ग बन्द नभएसम्म भने मानिसहरुको आवागमनको चाप निकै बढिरहेको छ। काठमाण्डु उपत्यकाबाट बाहिरिने मानिसको संख्या बढेपछि सरकारले सार्वजनिक यातायातलाई देशभर जान पाउने अनुमति दिएको छ।
हाल दैनिक १ देखि २ लाख मानिस काठमाण्डुबाट बाहिरिँदै छन्।

धार्मिक क्षेत्र
कोरोना भाइरसको प्रभावका कारण थुप्रै धार्मिक गतिविधिहरु स्थगित गरिएका छन्।
नेपालको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा आरती रोकिएको छ भने काठमाण्डुमा नेवार समुदायले थुप्रै जात्राहरु यो वर्षको लागि रद्द गरेको छ। सरकारले लगाएको २५ जना भन्दा बढी नभेट्ने नियमअनुसर विवाहमा र मलामीमा समेत २५ जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ।
कोरोनाका कारण काठमाण्डुको बागबजारमा रहेको जामे मस्जिद पनि बन्द भएको छ।
होटल र पर्यटन क्षेत्र
कोरोनाका कारण सबभन्दा मारमा होटल र पर्यटन क्षेत्र परेका छन्।
काठमाण्डुमा याक एण्ड यती र ह्यात जस्ता प्रसिद्ध होटलले अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् भने नेपालको लोकप्रिय पर्यटनस्थल नाम्चेका पर्यटन व्यवसायीले त्यहाँका होटलहरु बन्द गर्ने सूचना दिएका छन्।
काठमाण्डु उपत्यकामा साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने बताएका छन् ।
होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले त्यस्तो निर्णय गरेको हो।





