क्रिकेट भिक्टोरियाले बर्सेनि आयोजना गर्ने प्रिमियर क्रिकेट अवार्ड्स समारोह बिच गौतमलाई एक उत्कृष्ट अल-राउण्डरका रूपमा उक्त सर्वोकृष्ठ क्लब क्रिकेटरहरूको भिक्टोरियन टोलीमा चयनमा गरिएको हो।
आफ्नो मनोनयन बारे एसबीएस नेपालीसँग कुरा गर्दै गौतमले भने, “चिन्ने सबैले मलाई बधाई दिनुभयो, (टिम अफ द सिजन”मा पर्न सफल) पहिलो नेपाली भएकोमा, यसले मलाई झन् हौसला दिनुका साथै खुसी बनाएको छ।”
यसपालिको २०१८/१९ सिजनमा आफ्नो क्लबका लागि खेल्दै गौतमले एक शतकका साथ कुल ६४४ रन ठोकेका थिए।
त्यसै गरी, बलिङ तर्फ पनि उनले राम्रो प्रदर्शन गर्दै २१.२६ को औसतमा ३८ विकेट लिन सफल भएका थिए।
साथै, अस्ति बेलुका मेलबर्न स्थित क्राउन पलेडियममा आयोजना भएको उक्त समारोहमा गौतमले झन्डै-झन्डै प्रतिष्ठित ज्याक राइडर मेडल हात पारेका थिए।
अम्पायरहरुद्वारा उत्कृष्ट खेलाडी ठहर गर्न भएको मतदानमा गौतमले २५ भोट पाएका थिए भने पदक जित्न सफल भएका ब्रेट फोर्साईथले ३५ भोट पाएका थिए।
यस्तो उपलब्धि नजिक पुग्दा कस्तो लाग्यो भन्ने हाम्रो प्रश्नको जवाफमा नेपाली क्रिकेटका पूर्व प्रशिक्षकहरूलाई स्मरण गर्दै गौतमले भने, “उहाँहरूले बनाइदिएको जगमा नै टेकेर म यहाँसम्म आइपुगेको हुँ।”
साथै, आफ्नो उपलब्धिमा यहाँ अस्ट्रेलियाका अन्य प्रशिक्षकहरू, साथीभाइहरू लगायत अन्य शुभचिन्तकहरूको पनि हात रहेको उनको भनाई थियो।
Image
“टिम अफ द सिजनमा पर्नु मेरो एउटा सपना पनि थियो।”
भिक्टोरियाको क्लब स्तरीय क्रिकेटमा सबैभन्दा अब्बल ठहरिएका खेलाडीले पूर्व अस्ट्रेलियन क्रिकेटर क्याप्टेन - ज्याक राइडरको नाममा रहेको उक्त पदक सम्मान स्वरूप पाउने चलन छ।
गौतम उक्त सम्मानका लागी मनोनयनमा पर्ने प्रथम नेपाली हुन्।
खेल्न पनि सक्दिन, छोड्न पनि सक्दिन

सन् २०१२ ताका अस्ट्रेलिया आउँदाका आफ्ना सुरुवाती दिनहरू निकै सङ्घर्षमा बितेको सम्झँदै उनले भने, “ (क्रिकेट खेल्न) छोड्न पनि नसक्ने र समय दिन पनि नसक्ने थिएँ।”
“नयाँ आएको विधार्थी, आफ्नो पढाइ गर्नु नै पर्यो, काममा पनि जानु पर्ने, अनि क्रिकेट प्रतिको मोहले अलि गाह्रै पारेको थियो। दिनरात नभनी, ट्र्याम, बस ट्रेनमा आफ्नो किट ब्याग बोकी हिंड्थिएँ।”
आफ्नो लगन, अलिक सङ्घर्ष र प्रतिकुल अवस्थासँग जुझारु भएरै आफ्नो नाम चिनाउन सक्ने भएकोमा गौतम दङ्ग छन्।
“क्लबहरूको नजरमा पर्न सकियो भने स्थापित हुन सकिन्छ, उनी भन्छन्।
१९/२० को बीग ब्याशमा चयन हुने मौका

प्रिमियर क्रिकेटको भर्खरै समाप्त भएको यो सिजनमा निकै राम्रो प्रदर्शन गरेका गौतमले धेरैको ध्यान आफू तर्फ तान्न सफल भएका छन्।
उनको क्लब टोलीका एक अर्का सदस्य कायल एडम्सले आगामी बीग ब्याश लीगका लागि गौतमलाई चयन गर्न त्यस लिगका टिमहरूलाई आव्हान गरेका छन् ।
ह्युम लिडरका टिम मिचेलसँग कुरा गर्दै एडम्सले भने, “सुनमले अर्का नेपाली स्पिनर सन्दीप लामिछाने झैँ सफल हुने लक्षण देखाई सकेका छन्।”
केवल अभ्यास खेलहरूका निम्ति नै भए पनि गौतमलाई मौका दिनुपर्ने उनको भनाई छ।
“सुनम कस्तो ब्याट्सम्यान हो भने, उ मैदानमा ओर्लंदासाथ् विपक्षीहरूको पसिना छुट्न थाल्छ। उसले मैदानको कुनै पनि कुनामा बललाई हिर्काउने अद्भुत क्षमता राख्छ।”
उनका अनुसार, पहिलेका वर्षहरूमा प्रतिभा भए त्यति नखारिएका कारण गौतम सजिलै आउट हुन्थे। तर अघिल्लो वर्षदेखि उनको खेल कौशलमा निखार आएको छ।
गौतमको फ़िल्डिङ्ग पनि निकै चुस्त रहेको भिक्टोरियाली क्रिकेटका जानकारहरू बताउँछन्। यो सिजनका खेलहरूमा उनले कुल ६ क्याच लिन सफल भएका थिए ।
“उ एक सुपरस्टार हो र कसैले उसलाई ट्वेन्टी-२०मा खेल्ने मौका प्रदान गरोस् भन्ने मेरो कामना छ।”
गौतमले नेपालमा रहँदा अन्डर १५ बाट क्रिकेट खेलेका थिए।



