नाजी स्वस्तिक चिन्हमाथि भिक्टोरियाको औपचारिक प्रतिबन्ध

Verbot Nazi Symbol Victoria Australia

Source: AAP

भिक्टोरिया स्वस्तिक चिन्ह माथि प्रतिबन्ध लगाउने अस्ट्रेलियाको पहिलो राज्य बनेको छ।


बुधवार भिक्टोरियाको संसद्मामा हार्केनक्रस पनि भनिने नाजी चरमपन्थीहरुको उक्त चिन्ह माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित भएको हो।

अब उप्रान्त उक्त चिन्हको सार्वजनिक प्रदर्शन वा दुरुपयोग गर्दा ठुलो जरिवाना र जेल सजाय समेत हुन सक्नेछ।

यद्यपि केही धार्मिक एवम् सांस्कृतिक समुदायमा भने यसको बेग्लै अर्थ लाग्ने भएकाले ती सांस्कृतिक र धार्मिक समूहका मानिसहरूका लागि भने निश्चित मापदण्ड चिन्हको प्रयोगमा छुट दिइने भएको छ।

हार्केनक्रस पनि भनिने चिन्हको प्रयोग २० औँ शताब्दीको सुरुवाती ताका एडल्फ हिट्लर र उनको पार्टी नाजीले प्रयोग गर्ने गरेको बताइन्छ।

यद्यपि आजका दिनमा भने यसलाई यसलाई घृणा, नियन्त्रण र विरोधका रूपमा लिने गरिन्छ।

उक्त विधेयक सांसदबाट पारित भएपछि भिक्टोरियाकी महान्यायाधिवक्ता जेकलिन साइम्सले अस्ट्रेलियाली समाजमा यसको कुनै स्थान नरहेको बताइन्।

“विधेयक पारितसँगै हामीले सहिष्णुता, समावेशिता र शान्तिको सन्देश दिएका छौ,” उनले भनिन्।

पछिल्ला केही वर्ष अतिवादी विचारहरूले अस्ट्रेलियामा बढवा पाइरहेको अवस्थामा उक्त कानुन आएको हो।

भिक्टोरियाबाट सुरुवात भए पनि टास्मेनिया, क्वीन्सल्याण्ड, साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्सले प्रतिबन्ध लगाउने कानुन पारितका लागि तैयारी गरिरहेका छन्।

नाजी सिम्बोल प्रोहीबिसन बिल २०२२ नामकरण गरिएको उक्त विधेयकमा जानाजान सार्वजनिक स्थानमा स्वस्तिक चिन्ह प्रदर्शन गर्ने वा प्रहरीले

यस्ता चिन्हहरू हटाउन आदेश दिएता पनि अटेर गर्ने मानिसहरूलाई आपराधिक कानुन अन्तर्गत ल्याइ कारबाही गर्न सक्ने कानुनी अधिकार दिएको छ।

महान्यायाधिवक्ता जेकलिन साइम्सले उक्त कानुनलाई अटेर गर्ने जो कोहीलाई २२ हजार सम्मको जरिवाना, १२ महिना जेल वा दुवै सजाय हुन सक्ने बताउँछिन्।

गत मे महिनामा उक्त विधेयक माथि संसद्मा पहिलो पटक छलफल सुरु गरिएको थियो।

मानहानि सम्बन्धी मुद्दा हेर्ने संस्था एन्टी डिफेमेसन कमिसनका प्रमुख भिर एब्रामोभिच आफ्नो संस्थाले निकै पहिलेदेखि कानुन निर्माणका लागि वकालत गरिरहेको बताउँछन्।

पाँच वर्षदेखिको प्रयास सांसदबाट पारित हुँदै गर्दा उनी संसद् भवनमै उपस्थित रहेका थिए।

दोस्रो विश्वयुद्धताका होलोकस्ट नरसंहारबाट बाचेका धेरै मानिस मेलबर्नमा बसोबास गर्ने बताइन्छ।

यता अस्ट्रेलियाको यहुदीहरूको सङ्गठनले कोभिड–१९ महामारी पछिको समयमा विभिन्न अतिवादी समूहहरूले नाजी चिन्हलाई प्रयोग गदै आइरहेको बताउँछन्।

भिर एब्रामोभिच उक्त चिन्हले यहुदीहरू माथिको पिडाले थप प्रश्रय पाउने बताउँछन्।

तर कतिपय धार्मिक र सांस्कृतिक समुदायका लागि भने स्वस्तिक चिन्हले बेग्लै अर्थ राख्छ।

घृणा र नियन्त्रणको प्रतिकका रूपमा लिइने स्वस्तिक चिन्ह एसियाका केही समुदायका लागि भने शान्तिका प्रतिकका रूपमा लिइन्छ।

हिन्दु, बुद्ध र जैन समुदायका लागि शान्तिको प्रतिकका रूपमा रहेको चिन्हलाई प्रयोगमा छुट दिइएको छ।

अस्ट्रेलियामा हिन्दुहरूको परिषद् हिन्दु काउन्सिल अफ अस्ट्रेलियाका सह-अध्यक्ष सुरिन्दर जैन धार्मिक रूपमा पवित्र मानिने चिन्ह प्रयोगमा दिइएको छुटलाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गर्छन्।

सुरिन्दर विद्यालयहरूमा समेत चिन्हको भिन्नताका बारेमा अध्ययन गराइनु पर्ने बताउँछन्।

भिक्टोरियाको ससंदले पनि स्वस्तिकको सांस्कृतिक भिन्नताका बारेमा जानकारी दिने व्यवस्था गरिने बताएको छ।

गलत व्याख्या नहोस् भन्ने हेतुले यसका बारेमा आवश्यक ज्ञान र जानकारी समुदायमा बाँढिनु पर्ने सुरिन्दर बताउँछन्।

इतिहासको अध्ययन, विद्यालयहरूमा र विज्ञान सम्बन्धी अध्ययन अथवा प्रदर्शनी स्थलमा राख्नका लागि भने उक्त चिन्हको प्रयोगको अनुमति दिइने भएको छ।

मेलबर्न स्थित होलोकस्ट म्युजियम उक्त नाजी चिन्हको प्रयोग र प्रदर्शन गर्ने प्रमुख संस्था मध्यको एक हो।

उक्त म्युजियममा अनुसन्धान र सङ्कलन व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी एना हर्श नयाँ कानुनले नाजीहरूले प्रयोग गरेका सामाग्री र प्रतीकहरूको सङ्कलन र संरक्षण गर्न मद्दत गर्ने बताउँछिन्।

“इतिहाससँग सम्बन्धित यी सामाग्रीहरूको व्यवसायिक वा व्यक्तिगत रूपमा आदान प्रदान हुनु भन्दा म्युजियम जस्ता स्थानमा सुरक्षित रूपमा रहेको

हामी हेर्न चाहन्छौ, यसका लागि मेलबर्नको होलोकस्ट म्युजियम जस्ता स्थान उपयुक्त हुन्छन्, जहाँ हामीले यसलाई शिक्षाका लागि प्रयोग गर्न सक्छौ,” उनले भनिन्।

संसदबाट पारित भए पनि कानुन भने ६ महिना पछि मात्र लागु हुनेछ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now