SKIP TO MAIN CONTENT

नेपाली चङ्गा महोत्सव: सिड्नीमा दशैंको अनुभव

children preparing to fly kite in kites festival
Source: sunita pokharel

अक्टोबर १३, शनिबार रक्डेल बाइसेन्टेनिएल पार्कमा गुठी अस्ट्रेलियाको आयोजनामा चङ्गा महोत्सव हर्षोल्लासकासाथ सम्पन्न भएको छ।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

अक्टोबर १३, शनिबार रक्डेल बाइसेन्टेनिएल पार्कमा गुठी अस्ट्रेलियाको आयोजनामा चङ्गा महोत्सव हर्षोल्लासकासाथ सम्पन्न भएको छ।


नेपालमा दशैंमा हुने माहोलहरुको केहि झलकहरु समावेश गरिएका थिए। जसमा चङ्गा उडाउने त कार्यक्रमको प्रमुख आकर्षण थियो नै त्यो बाहेक अन्य सांस्कृतिक प्रस्तुतिहरूले पनि थप रौनकता प्रदान गरेको थियो।

कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणहरुले आफन्तजन तथा घर परिवारबाट टाढा भए पनि, चङ्गा महोत्सवले आफुहरुलाई दशैं आएको अनुभूति दिएको प्रतिक्रिया जनाएका थिए।

"चाडपर्वका बेला विदेशी भूमिमा आयोजना हुने यस्तो कार्यक्रमले एक्लोपनाबाट केही क्षण राहत त दिन्छ तर पनि नेपालमै मनाएको जस्तो त कहाँ पाएर हुनु नि!", उक्त महोत्सवमा सहभागी हुन आएका एकजनाले एसबीएस नेपालीलाई भने।

त्यस्तै, भर्खरै अस्ट्रेलिया आएका केही अभिभावकहरुका अनुसार भने उक्त कार्यक्रमले उहाँहरुलाई भरपुर मनोरंजन दिन सफल भएको थियो।

सांस्कृतिक झाँकी एवं लाखे नाँचमा झुमेका दर्शकहरु मध्ये अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा पनि एक थिइन्। शेर्पाले अस्ट्रेलियामा बहुसांस्कृतिक पृष्ठभूमिका धेरै मानिसहरु रहेको टिप्पणी गर्दै, अस्ट्रेलियाली सरकार सांस्कृतिक महत्वका कार्यक्रमहरुका लागी लगानी गर्न उत्सुक रहेको आफूले पाएको बताईन।

उनले भनिन्, "सांस्कृतिक सम्पदा संरक्षण गर्न यस्ता कार्यक्रमहरुले निक्कै सहयोग गर्छ। अब यहाँ बस्ने नेपालीहरु एकजुट भई आफ्नो संस्कृतिको जगेर्ना गर्ने हेतुले थप आर्थिक सहयोगका निम्ति अस्ट्रेलियाली सरकार समक्ष राम्रो प्रस्ताव राख्नुपर्छ।"

भिन्न परिवेशमा हुर्केका बाल-बालिकाहरुका लागी आफ्नो पुर्खौली संस्कृतीका बारेमा जानकारी दिन पनि उक्त कार्यक्रम सफल रहेको देखियो।

काठमान्डू उपत्यका तथा नेपालका विभिन्न स्थानहरुमा विशेष चाडपर्वहरुमा रथ तान्ने प्रचलन रहेको छ। त्यसै बमोजिम महोत्सव आयोजना गर्ने गुठी अस्ट्रेलियाले एउटा सानो रथ बाल-बालिकाहरुका निमित्त तयार गरेको थियो। त्यहाँ उपस्थित् बाल-बालिकाहरुले उक्त रथ स्वंसेवकहरुको सहयोगमा तानेर पार्कको एक फन्को लगाएका थिए।

महोत्सवमा चङ्गा उडाईरहेका एक बालकले कार्यक्रमको सबैभन्दा रमाईलो पक्ष भनेको चंगा उडाउनु भएको हामीलाई बताए।

उनकै छेउमा निकै ध्यान पुर्वक चंगा उदाइरहेका एक सहभागीले भने, "चङ्गा उडाउन पनि कला चाहिन्छ!"

महोत्सवमा म:म खाने प्रतियोगीताका साथै चर्चित गाएक दिपक बज्राचार्य र रिदम व्याण्डको प्रस्तुतिमा दर्शकहरु बर्षाको समेत वास्ता नगरी झुमेका थिए। कार्यक्रमस्थलमा विभिन्न खानाका स्टलहरुमा म:म, सेकुवा, पानी पुरी, सेल रोटी र चिसो मौसममा तातो चिया खान सर्वसाधारणको लाम लागेको थियो।

साथै, एसबीएस नेपालीको फोटो बुथमा नि:शुल्क तस्वीर खिचाउनेहरुको भिड पनि कम थिएन।

"यहाँ आएको सम्झना पनि त चाहियो नि!", तस्वीर खिचाउन बुथ आगाडि उभिएका एक सहभागीले हामीलाई हाँस्दै भने।
Flying Kites! Posted by SBS Nepali on Sunday, 14 October 2018


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now