विदेशका नेपालीलाई मतदानमा सहभागी गराउने "प्रयास हुँदै" र हिम पहिरोमा परि ३ जनाको मृत्यु: गत सात दिन नेपालमा

Nepal Politics

Nepalese Prime Minister Pushpa Kamal Dahal walks to speak before taking the vote of confidence in Nepal's parliament in Kathmandu, Nepal, Tuesday, Jan. 10, 2023. (AP Photo/Niranjan Shrestha) Source: AP / Niranjan Shrestha/AP

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूलाई मतदान प्रक्रियामा सामेल गराउने प्रयास भइरहेको बताएका छन्। यो लगायत अन्य पछिल्ला सात दिनका प्रमुख समाचार संवाददाता प्रतीक्षा दुलालबाट।


हिम पहिरोमा परी तीन जनाको मृत्यु

सगरमाथामा गएको हिम पहिरोमा परी तीन जनाको ज्यान गएको छ।

बुधवार बिहान एक्कासि आएको हिम पहिरोमा पुरिएर तीन जना टुरिस्ट गाइडको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

आरोहीहरुको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरूको करिब पाँच हजार सात सयको उचाइमा रहेको खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा तल हिमपहिरोमा परेर मृत्यु भएको हो।

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको छ।

यसरी मृत्यु हुनेमा खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन्।

nepal_mountains.jpg

विदेशमा रहेका नेपालीलाई मतदानमा गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा प्रयास भइरहेको बताएका छन्।

राष्ट्रिय समाचार समितिका अनुसार माओवादी केन्द्रको शुक्रवार बसेको प्रवास समन्वय समितिको भर्चुअल बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

अर्थतन्त्रका सूचकहरू सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यामा क्रमिक सुधार आएको दाबी गरेका छन्।

यस साता निजी क्षेत्रले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

' मैले सुरु देखिनै अर्थतन्त्र सुधारका लागि पहल गरी रहेको छु। हाल अर्थतन्त्रका सूचकहरूमा केही सुधार आएको छ,' उनले भने।

'हामीसँग करिब ११ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ भने रेमिटेन्समा पनि सुधार आएको छ।'

पछिल्लो समय नेपालको अर्थतन्त्रमा समस्या देखिएको आर्थिक विश्लेषकहरूले बताउँदै आएका छन् र यसलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले समन्वयन गर्नु पर्ने उनीहरूको भनाइ रहेको छ।

Balen Shah.jpg
Source: Facebook / Balen

काठमाण्डौं महानगरपालिका र सङ्घीय सरकारबिच फोहर किचलो

काठमाण्डौं महानगरपालिकाले सिंहदरबार, शीतल निवास बालुवाटार लगायत देशका उच्च ओहोदाका कार्यालय रहेका स्थान र प्रधानमन्त्री र राष्ट्रपतिको निवास लगायतका स्थानका फोहर सङ्कलन नगरेको विषयले यस साता स्थानीय सरकार र सङ्घीय सरकारबिच एक आपसमा दोहोरी चल्यो।

गत साता सामाजिक सञ्जालमा एक स्ट्याटस खेल्दै सिंहदरबारको फोहर नउठाउने घोषणा काठमाण्डौंका मेयर बालेन्द्र शाहले गरेका थिए।

उनको उक्त कदमको मिश्रित प्रतिक्रिया आएको छ। जसमा सङ्घीय सरकारका अधिकारीहरूले उनको कदमको आलोचना गरेका छन्।

यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले बताइन्।

"काठमाण्डौं महानगरपालिकाको फोहर स्थानीय तहले उठाउने व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्था अनुसार काम गर्नुपर्छ," मन्त्री शर्माले भनिन्।

"यस विषयमा गम्भीरता पूर्वक छलफल भएको छर आवश्यक पहल अघि बढाउने निर्णय भएको छ।"

यसबिच मेयर शाहले सरकारलाई सहयोग नगरेको कारण यस्तो कदम लिएको भन्दै, 'कि काठमाण्डौंको हितमा काम गर्नुहोस्, होइन भने सिंहदरबार सार्नुहोस्,' भन्दै समन्वय हुन नसकेका विभिन्न विषयको बुँदागत जानकारी दिँदै एक लामो स्ट्याटस लेखे।

उनले बिहीबार यस्तो स्ट्याटस लेखेका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार समन्वय गर्न तयार रहेको र यस विषयमा मेयर शाहसँग कुराकानी भएको बताएका छन्।

यस बारे संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने, "काठमाण्डौंका मेयरले फोहर उठाउन्न भन्न मिल्छ, त्यो पनि फेसबुकमा स्ट्याटस लेखेर।

यस विषयमा मैले उहाँसँग कुरा गरेको छु ।

समन्वयको आवश्यकता परेको विषय उहाँले लिएर आउनु पर्‍यो सङ्घीय सरकार समन्वय गर्न तयार छ।"

यसैबिच महानगरपालिकाले अब डिजिटल्ली नक्सा पास गर्ने प्रणाली सुरु गरेको छ।

काठमाण्डौंका मेयर शाहले उक्त जानकारी शुक्रवार दिएका हुन।

सामाजिक सञ्जालमा राखिएको भिडियो मार्फत उनले उक्त जानकारी दिँदै, अब पहिलेको तुलनामा छिटो र सरल तरिकाबाट नक्सा पास हुने बताएका हुन्।

रास्वपाले ढाकाकुमार श्रेष्ठलाई गर्‍यो निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)अडियो प्रकरणमा परेका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्दै पार्टीको सदस्यबाट निलम्बन गरेको जनाएको छ।

श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि पार्टीको बैठक बसेको थियो।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले भने, 'यस्ता विषयमा हाम्रो जिरो टलरेन्सको नीति छ त्यसैले हामीले उहाँलाई पार्टी सदस्यबाट निलम्बन गरेका छौँ।

हामीले उहाँसँग कुरा गर्‍यौ, उहाँले त्यो अडियो सही नभएको बताउनु भएको छ तर फेरी उहाँले सहयोग मागको अर्को अडियो पनि आएको छ। त्यसैले उहाँको कुराहरू सबै मिलेका छैनन्।'

सार्वजनिक भएको अडीयोमा मन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई पैसा दिन पर्ने कुराकानी भएको सुनिन्छ। बैठकमा ढाकासँग कोर टिमबारे सोधपुछ भएको लामिछानेले बताए।

'हामीले उहाँलाई कोर टिमको बारेमा पनि प्रश्न गर्‍यौँ त्यो को हो भनेर उहाँले त्यस्तो भनेकै छैन भन्नु भयो। तर फेरी कुरा गर्दै जाँदा उहाँले आफू फसे सबैलाई फसाउने भन्नु भएको छ,' लामिछानेले भने।

पार्टीको कारबाही पछि ढाकाले पनि संचारकर्मीहरुसँग कुरा गरे र आफूमाथि लागेको आरोप गलत भएको दाबी गरे।

उनले यस विषयलाई लिएर अदालत गएको जानकारी दिँदै भने, 'अहिले प्रविधिको प्रयोग गरेर धेरै कुरा एडिट गरेर मिलाउन मिल्छ। त्यो ह्वाटस्यापमा गरेको कुराकानी भनिएको छ तर त्यो होइन।

म अदालत पुगेको छु न्यायका लागि र निर्दोष साबित भएर आएपछि छिट्टै यस्तै पत्रकार सम्मेलनमा आएर आफ्ना कुरा राख्ने छु।'

तत्कालिन सांसदको यस किसिमको अडियो सार्वजनिक भएको विषयले संसद्मा पनि प्रवेश पायो।

नेपाली काँग्रेसका सांसद धनराज गुरुङले र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उक्त विषयमा सदनमा बोले।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टीको सांसदबारे सार्वजनिक भएको अडियोबारे पार्टीले कदम चालेको बताए।

उक्त विषयबारे अख्तियारले छानबिन सुरु गरेको बताइएको छ।

अख्तियारको छानबिन पछि आउने निर्णय अनुरूप सरकारले थप निर्णय गर्ने गृहमन्त्री श्रेष्ठले बताए।

विमानस्थल कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने

नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेज ओसार पसार गर्ने कर्मचारीहरूले खल्ती नभएको पोसाक लगाउन पर्ने नियम बनाएको छ।

लगेज सम्बन्धी गुनासो आएपछि यस्तो निर्णय गरेको निगमले जनाएको छ।

यस्तै निगमले लगेज ओसार पसार गर्ने ट्रलीहरूमा बार र चेन लगाउन थालिएको र लगेजको सुरक्षाका लागि कर्मचारी खटाइएको पनि जनाएको छ।

KP Sharma Oli.
Nepal's Prime Minister KP Sharma Oli. Source: AAP

पानी जहाज जस्ता महत्त्वाकाङ्क्षी योजनाका कारण अर्थतन्त्रमा समस्या

माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले विगतका सरकारले पानी जहाज, रेल जस्ता महत्त्वाकाङ्क्षी कुराहरू गरेका कारण हाल देशको अर्थतन्त्रमा समस्या निम्त्याएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, 'अहिले देश आर्थिक सङ्कटमा छ, किन यस्तो अवस्था आयो? पक्कै पनि पहिलेका सरकारले ध्यान नदिए होला। पानी जहाज, रेल, घर घरमा ग्यास लाइन पुर्‍याउने कुरा गरेर समय खेर फालेर होला।'

यसैबिच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हाल उनको नेतृत्वको सरकार रहेको भए देशमा पानी जहाज चली सक्ने बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

डढेलोले बढायो प्रदूषण

सुख्खा याम सुरु भएसँगै देशका विभिन्न स्थानमा डढेलो लागेको छ। वन विभागका अनुसार यस साता देशभरका ९० भन्दा बढी स्थानमा डढेलो लागेको हो।

वर्षा नभएको, यसलाई निभाउने स्तरीय प्रविधि र बजेटको अभावमा यसको नियन्त्रण गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

डढेलोका कारण वन्यजन्तु र बोटबिरुवाको क्षति भएको छ भने कारण प्रदूषण पनि बढेको छ।

वातावरण विभागका अनुसार डढेलोका कारण काडमाण्डौं उपत्यका र देशका मध्य र पूर्वी भागमा वायु प्रदूषणको स्तर बढेको छ।

कोरोना सङ्क्रमणका कारण एकको मृत्यु

कोरोना सङ्क्रमणका कारण मङ्गलवार एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण ३ महिनापछि नेपालमा मृत्यु भएको हो।

यसरी मृत्यु हुने व्यक्तिको वीर अस्पतालमा उपचार गराइएको र उनी ७८ वर्षका पुरुष रहको जनकारी दिइएको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणका कारण २३ पुसमा एक जनाको मृत्यु भएको थियो। केही महिना अघिको तुलनामा पछिल्ला साता कोरोना सङ्क्रमणको सङ्ख्या बढेको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप नलगाएका लागि लगाउन र लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now