माबो निर्णयको तीस बर्ष: सम्पूर्ण अस्ट्रेलियालीका लागि किन महत्त्वपूर्ण छ त?

Mabo Day commemorates Torres Strait Islander Eddie Koiki Mabo and his role in overturning the “terra nullius” declaration - which claimed that Australia was once land belonging to no-one.

Source: NITV / SBS News

आज भन्दा करिब ३० वर्ष अघि अस्ट्रेलियाको उच्च अदालतले एक ऐतिहासिक निर्णय गरेको थियो जसलाई माबो निर्णय भनिन्छ।


तीन दशक अगाडीको उक्त ऐतिहासिक निर्णयको सम्झना गरिँदै गर्दा आदिवासी कानुनका विज्ञ एवम् एड्डी माबोका परिवारले अदालतको निर्णयलाई अगाडी बढाउन, सन्धिलाई स्थापित गर्न र सत्य बोल्ने बाटोमा अघि बढ्न आग्रह गरिरहेका छन्।

एड्डी माबो नागरिक अधिकार अभियानकर्ता मात्र नभएर आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूका लागि एक सामुदायिक नेताका रूपमा पनि चर्चित थिए।

उनको प्रयासमा अस्ट्रेलियामा पहीलोपटक आदिवासी सामुदायिक विद्यालयको पनि स्थापना भएको थियो, उक्त विद्यालयका उनी सह-सस्थापक थिए।

१९८२ मा जेम्स कुक विश्वविद्यालयमा बिद्यार्थीहरुलाई अतिथि शिक्षकका रूपमा कक्षा लिँदै गर्दा मेर र मर्री द्विपको जग्गामा परम्परागत मालिकहरूले हक दाविका लागि आफू र अन्य चार जनाले कसरी योजना बनाए भन्ने बारेमा उनले  खुलासा गरेका थिए।

विश्वविद्यालयमा सामान्य एक मालिका रूपमा काम गर्दै गर्दा केही इतिहासका विज्ञहरूसँग उनले कुरा गर्ने मौका पाउँथे जहाँ, आफ्ना आगामी दिनहरू आफू जन्मेको मुर्रे द्विपमा बिताउने चाहनाहरू सुनाउँथे।

तर उनी त्यति बेला छक्क परे जब उनले मुर्रे टापुको अधिकार उनका परिवारसँग नभई राजसंस्थासँग भएको पत्ता लगाए।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

गेल  माबो एड्डी माबोकी छोरी हुन, उक्त दिनको सम्झना गदै उनी भन्छिन् कि जग्गाको हक आफ्नो स्वामित्वमा नरहेको थाहा पाउँदा उनका बाबु निकै आक्रोशित बनेका थिए।

“मेरो बुबाको मानसिकतामा उक्त जग्गाको स्वामित्व एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ भन्ने थियो, तर जब उहाँले स्वामित्व आफ्नो नभएको थाहा पाउनु भयो, उहालाई जलन भयो र भूमिको अधिकार आफ्ना सन्तानहरूमा हस्तान्तरण हुनुपर्छ भन्ने कुरामा दृढ हुनुभयो,” गेल माबोले भनिन्।

त्यसको लगत्तै एड्डी माबोले कानुन व्यवसायी ग्रेस मेकिनटायरलाई यसका बारेमा कानुनी कारबाही अगाडी बढाउन निर्देशन दिए।

“एड्डीलाई राम्रोसँग थाहा थियो कि यो विषय टोरेस स्ट्रेट आइल्याण्डरहरुका लागि निकै खास हुने थियो र यसको प्रभाव मुख्य भूमिमा पनि पर्ने थियो,” मेकिनटायर सम्झना गर्छन्।

र करिब १० वर्षको अनवरत सघर्ष पछि उच्च अदालतले सन् १९९२ को जुन महिनाको तीन तारिखका दिन एक ऐतिहासिक निर्णय गर्‍यो, जसलाई माबो निर्णय भनेर पनि इतिहासमा पढ्न पाइन्छ।

यो निर्णयले परम्परागत मालिकहरूलाई उनीहरूको जमिन र पानीमा पूर्ण अधिकार दिएको थियो।

यस निर्णयले तत्कालीन समयमा रहेको टेरा न्युलयसको कानुनी सिद्धान्तलाई पनि उल्ट्याइदियो जसमा उपनिवेश हुनु अघि अस्ट्रेलिया कसैको स्वामित्व नभएको भूमि थियो भन्ने झूटो दाबी गरिएको थियो।

सन् १७८८ मा बेलायतीहरू अस्ट्रेलिया भित्रनु भन्दा दशौ हजार वर्ष अघिदेखि यस भूमिमा आदिवासीहरू बस्दथे भन्ने कुरालाई निर्णयले मान्यता दिएको थियो।

तत्कालीन समयमा आदिवासी एवम् टोरेस आइल्याण्डर मामिला सम्बन्धी मन्त्री रोर्वट टिकनर थिए, तत्कालीन घटनालाईलाई स्मरण गदै उनी अस्ट्रेलियालाई धेरै तरीकाले परिवर्तन गरेको र उक्त दिनको अदालती निर्णय आफूले बिर्सन नसक्ने बताउँछन्।

हालै मात्र आदिवासी मन्त्रीका रूपमा लिन्डा बर्नेले शपथ लिएकी छन्।

“यो निर्णय अविश्वसनीय रूपमा निकै महत्त्वपूर्ण थियो, रेडियोमा यस सम्बन्धी समाचार आउँदै गर्दा म कहाँ थिए भन्ने मलाई स्मरण छ, पहीलोपटक कानुनले टेरा न्युलसलाई गलत साबित गरिदिएको थियो,” बर्ने भन्छिन्।

उक्त माबो निर्णयले नेटिभ टाइटल ऐन र नेटिभ टाइटल ट्रिब्युनलको स्थापनाका लागि ठुलो भूमिका खेलेको छ।

निर्णयले तीस वसन्त पार गदै गर्दा सङ्घीय अदालतले अन्य ५५६ वटा नेटिभ टाइटल सम्बन्धी निर्णय पनि गरिसकेको छ।

१४८ वटा दाबीहरूका बारेमा त अझै निर्णय हुनै बाँकि छ।

तर दु:खको कुरा उच्च अदालतको निर्णय आउनु पाँच महिना अघि नै ५६ वर्षको उमेरमा माबोले क्यान्सरका कारण ज्यान गुमाउन पुगे।

उनका वकिल एवम् तत्कालीन समयमा कानुनी लडाइँमा जानका लागि सहयोगीको भूमिका निर्वाह गरेका मेकिनटायर उक्त निर्णय प्रति गर्व गर्ने बताउँछन्।

“क्यानडा,न्युजिल्यान्ड लगायका मुलुकले यस्तै प्रकारका मुद्दालाई मान्यता दिइसकेका थिए, हामी अस्ट्रेलियाली यस मुद्दामा अलि ढिला हुन पुग्यौ, हामी खुसी छौ किनकि हामीले यो गर्न सक्यौ, र यो तीस वर्ष पुगिसकेको छ,”

आदिवासी कानुन व्यवसायी टोनि म्याकभोय विश्वास राख्छन् कि सन्धिहरू र सत्य बोल्ने जस्ता कुराहरूले पुराना घाउहरू निको पार्दै लानेछ।

गेल  माबोका लागि अस्ट्रेलियाले पुराना घाउहरूलाई निको पार्नलाई ससाना कदम मात्र चालेको भान हुन्छ, यद्यपि तर तिनै साना कदमहरूले परिवर्तनको ठुलो गति लिइरहेकाले भने खुसी लाग्छ।

“अबको समयमा भनेको हाम्रा पाइलाहरूलाई अगाडी बढाउने र हामीलाई मिलेका कुराहरूमा बसेर छलफल गर्ने अनि ज्ञानलाई साझा गर्ने समय हो, जसले एक राष्ट्रका रूपमा हामीलाई अगाडी बढाउन मद्दत गर्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now