भिक्टोरिया सरकारले दियो दुई नेपाली भाषीहरुलाई पुरस्कार

Raju Bhakta

Source: Facebook, Supplied

भिक्टोरियामा बसोबास गर्दै आएका नेपाली एवम् भूटानी पृष्ठभूमिका व्यक्तित्वहरूले उक्त राज्यमा उत्कृष्ट बहुसांस्कृतिक योगदान पुर्याएको भन्दै भिक्टोरियाली सरकारले पुरस्कार प्रदान गरेको छ।


भिक्टोरिया राज्य सरकार अन्तर्गत रहेको भिक्टोरिएन मल्टीकल्चरल कमिसनले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा सन् २०१९को “मल्टीकल्चरल अवार्ड्स फर एक्सिलेन्स” पुरस्कार प्रदान गरेको छ।

अन्तर-सांस्कृतिक समझदारीलाई बढावा दिने, आप्रवासी तथा शरणार्थीहरुलाई सहयोग पुर्याउने र विभिन्न संस्कृतिका विविधतालाई जगेर्ना गर्न सघाउने व्यक्तित्व तथा संघ-संस्थाहरुलाई भिक्टोरिया सरकारद्वारा हरेक साल उक्त पुरस्कार दिएर सम्मानित गर्ने गरिन्छ।

भिक्टोरियाकी गभर्नर लिण्डा डेसाउको प्रमुख आतिथ्यमा उक्त पुरस्कार वितरण समारोह आयोजना भएको थियो।

Dr Raju Adhikari
पुरस्कार ग्रहण गर्दै डा अधिकारी Source: Supplied

यही क्रममा, अस्ट्रेलिया छरिएर रहेका नेपाली संस्थाहरूको राष्ट्रिय महासङ्घ - फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्न्का)को स्थापना गरेको र ती २०० भन्दा पनि बढी सङ्ख्यामा रहेका नेपाली सङ्घ संस्थालाई एकजुट गर्दै अस्ट्रेलियाली एवं भिक्टोरियाली सरकारी नीति निर्माणमा प्रतक्ष्य योगदान दिएको भन्दै डा राजु अधिकारीलाई “अवार्ड फर मेरीटोरियस सर्भिस टु दि कम्युनिटी” अन्तरगतको “इन्डीभिजुअल्स - भोलनटरी वर्क” पुरस्कार दिईएको हो।

“एक्लै काम गर्नुभन्दा पनि सबैले मिलेर काम गर्दा राम्रो हुन्छ, रिसोर्स मोबिलाइजेसन हुन्छ, भन्ने कन्सेप्टलाई…प्रमोट, एड्भोकेसी गरेको देखाएको भएर यो अवार्ड दिएको हो की भन्ने लागेको छ,” उनले एसबीएस नेपालीसँग कुरा गर्दै भने।

VMC Awards Nepali
Source: Supplied

२०१६ को अप्रिलमा पहिलो पटक सामुदायिक संस्थाहरूको बैठकका बिच अवधारणा आएको फेन्न्काको ५ जना सदस्यहरू भएको एक कार्यदल बनाएर यसको दर्ताका लागी पहल सुरु गरिएको थियो। विभिन्न बैठकबाट प्राप्त सुझावहरूका साथ सङ्गठन दर्ता ऐन १९९१ अन्तर्गत फेन्न्का अन्ततः सन् २०१७ मा दर्ता भएको हो। यसबारे थप पढ्नुहोस्

आफ्नो कामको सम्मान भएकोमा खुशी व्यक्त गर्दै उनले यस्ता पुरस्कारहरुको दायरा अझ फराकिलो बनाउदै धेरै संस्थाहरू तथा मानिसहरूलाई सम्मान गरिनुपर्ने उनले बताए। डा अधिकारीको यो दोस्रो मल्टीकल्चरल अवार्ड्स फर एक्सिलेन्स पुरस्कार हो। उनी यस अघि, सन् २०१५ मा पनि उक्त पुरस्कारबाट सम्मानित भईसकेका छन्।

Bhanu Bhattarai VMC
आफ्नो पदकका साथ भट्टराई Source: Supplied

यसै गरी, भिक्टोरिया र न्यु साउथ वेल्सको सीमानामा पर्ने अल्बरी-वडङ्गाको स्थानिय समुदायमा एक स्वयंसेवकको रूपमा काम गर्दै आएका भुटानी पृष्ठभूमिका भक्त भट्टराईलाई पनि उक्त क्षेत्रमा सामाजिक एकतालाई बढावा दिने सामुदायिक कार्यक्रमहरु आयोजना गरेको र विभिद सांकृतिक पृष्ठभूमिका मानिसहरुलाई एकसाथ ल्याएको भन्दै सोही श्रेणीको पुरस्कार सम्मान स्वरुप दिइएको थियो।

“मैले सोचेको पनि थिइन्, मैले चाहिँ यस्तो अवार्ड गभर्मेन्टको तर्फबाट पाउँछु होला भनेर,” भट्टराईले एसबीएस नेपालीसँग भने।

सँधै सफा मन राखेर, समुदायमा सक्दो काम गर्न एक शरणार्थीको भएर अस्ट्रेलिया आउँदा पाएको सहयोगले सदैव प्रेरणा दिईराखेको उनको भनाइ छ।

Bhakta VMC
पुरस्कार ग्रहण गर्दै भट्टराई Source: Supplied

“मलाई समाजमा काम गर्न एकदम मनपर्छ…मलाई यसबारे अझ सिक्न मन छ,” रजिस्टर्ड नर्सको पढाई भर्खरै सकाएका २३ वर्षीय भट्टराईले आफ्नो भावी योजना बारे भने।

नर्स बन्नु आफ्नो सपना मात्र नभएर समाजका लागि केही गर्न पाउनु आफ्नो लागि निकै महत्त्व राख्ने धारणा पनि उनको रहेको छ।

“आउँदा दिनहरूमा अझ ठुला-ठुला कार्यक्रमहरू आयोजना गर्दै अल्बरी-वडङ्गाको सक्दो सेवा गर्न सकुँ भन्ने मेरो ठुलो धोको छ,” भट्टराईले भने।

VMC Particpants
समारोहका सहभागीहरू Source: Supplied
उहाँहरूसँग हामीले गरेको कुराकानी सुन्न यो पेजको सबैभन्दा माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now