Key Points
- ब्याङ्करप्सीको प्रभाव ठुलो र गहिरो हुन्छ।
- टाट पल्टिएको घोषणा गर्दैमा प्राय सबै ऋणहरू माफ भएका हुँदैनन्।
- टाट पल्टिएको घोषणा गर्नु अगि आर्थिक परामर्शदातासँग सल्लाह लिनु जरुरी हुन्छ।
अस्ट्रेलियाको कुरा गर्दा, ब्याङ्करप्सी वा टाट पल्टिएको घोषणा गर्नु एक कानूनी प्रक्रिया हो जसबाट तपाईँले ऋण मुक्त हुँदै आफ्नो आर्थिक अवस्थामाथि पुनः नियन्त्रण हासिल गर्न सजिलो हुन्छ।
आफू टाट पल्टिएको घोषणा तपाईँले आफू खुसी वा आफ्ना ऋणदाताहरूको आग्रहमा अदालतले गर्न सक्छ।
सामाजिक रूपमा टाट पल्टिनु राम्रो कुरा मानिँदैन तर पनि यो एक सकारात्मक कदम हो।
यद्यपि टाट पल्टिएको घोषणा गर्नु अगि निकै सोच विचार हुनु एकदमै जरुरी छ किनकि यो कदमका कारण परिणामहरू घातक पनि हुन सक्छन्।
विकल्पहरू
फाइन्डर नामक आर्थिक सल्लाह दिने एक अनलाइन सेवामा वरिष्ठ विज्ञकी रूपमा रहेकी सेरा मेगिन्सन भन्छिन् कि टाट पल्टिएको घोषणा गर्न सघाउने एक ऐन, ब्याङ्करप्सी एक्ट अन्तर्गत पर्ने अन्य विकल्पहरू बारे पनि विचार गर्नु आवश्यक छ।
उनका अनुसार डेट अग्रिमेन्ट वा ऋण सम्झौता पहिलो विकल्प हो।

तपाईँले आफ्नो ऋणको केही हिस्सा तिर्न सक्नुहुन्छ भने आफू टाट पल्टिएको घोषणा गर्नु अगि डेट अग्रिमेन्ट बारे सोच्नु ठिक हुने बताइन्छ।
दोस्रो विकल्प भनेको चाहिँ पर्सनल इन्सल्भेन्सी अग्रिमेन्ट वा पीआइए भनिने व्यक्तिगत रूपमा टाट पल्टिएको सम्झौता गर्नु हो।
तपाईँ र तपाईँका ऋणदाता बिचको यो सम्झौता पत्रले कानूनी मान्यता पाउँछ।
ब्याङ्करप्सी, डेट अग्रिमेन्ट र पीआईएहरूभन्दा फरक हो।
यसको मुख्य कारण भनेको टाट पल्टिएको घोषणाका साथ तपाईँका प्राय ऋण मिनाहा हुन्छन्।

तर, सँगसँगै ब्याङ्करप्सीको प्रभाव ठुलो र गहिरो हुन्छ।
यस कारण, के गर्ने भनेर निर्णय लिनु अघि तपाईँले फाइनान्सिएल काउन्सेलर भनिने आर्थिक परामर्शदातासँग सल्लाह लिनु जरुरी हुन्छ।
यस्तो सल्लाह लिन तपाईँले नेश्नल डेट हेल्पलाइन भनिने एक राष्ट्रव्यापी टेलिफोन सेवामा सोमवारदेखि शुक्रवार १८०० ००७ ००७ मा सम्पर्क गर्न सक्नुहुन्छ।
मेगिन्सन भन्छिन् कि जीवनयापनको लागत बढ्दै जाँदा थुप्रै मानिसहरू प्रभावित भएका छन् र यसरी मद्दत माग्ने तपाईँ एक्लो हुनुहुन्न।
टाट पल्टिएको घोषणा गर्ने प्रक्रियाको व्यवस्थापन दि अस्ट्रेलियन फाइनान्सिएल सेक्युरिटी अथोरिटी वा छोटकरीमा आफ्सा भनिने संस्थाले गर्ने बताउँछिन्, क्लेर करिगन जो ब्याङ्करप्सीका लागि रजिस्टर्ड ट्रस्टी हुन्।
उनका अनुसार, तपाईँले टाट पल्टिएको घोषणा गर्न दिनुभएको निवेदन प्राप्त भएपछि आफ्साले तपाईँको मामिला व्यवस्थापन गर्न एक ब्याङ्करप्सी ट्रस्टी नियुक्त गरिदिन्छ वा तपाईँ आफैले पनि कसैलाई मनोनयन गर्न सक्नुहुन्छ।
ट्रस्टीको मुख्य काम भनेको सबै पक्षका फाइदाहरूलाई ध्यानमा राखेर उनीहरूको निष्पक्ष ढङ्गले प्रतिनिधित्व होस् भन्नु हो।
ट्रस्टीहरूले टाट पल्टिएको मानिसका आर्थिक लेनदेनको लेखाजोखा गर्नुका साथै उनीहरूको चल-अचल सम्पत्ति बेचेर ऋण तिरिदिने लगायत आर्थिक अपचलन भए नभएको समेत अनुसन्धान गर्ने करिगनको भनाई छ।
ब्याङ्करप्सीका प्रभावहरू
अस्ट्रेलियामा ब्याङ्करप्सीको अवधि तीन वर्ष एक दिनको हुन्छ तर याद राख्नुपर्ने कुरा के छ भने, यसको प्रभाव वर्षौँसम्म पनि रहन सक्छ।
जस्तो कि तपाईँको नाम नेश्नल पर्सनल इन्सल्भेन्सी इन्डेक्स वा व्यक्तिगत रूपमा टाट पल्टिएकाहरूको राष्ट्रिय सूचिमा अङ्कित हुन्छ, जसले गर्दा भविष्यमा ऋण लिन तपाईँलाई आवश्यक पर्ने क्रेडिट रेटिङमा प्रभाव पर्छ।
यस्तो प्रभाव दीर्घकालीन हुन्छ किनकि ब्याङ्करप्सीको अवधि समाप्त भएपछि पनि तपाईँलाई किस्तामा खरिद गर्न वा कुनै पनि किसिमको ऋण लिन गाह्रो हुनसक्छ।
यसै गरी तपाईँका केही स्वतन्त्रता सम्बन्धी अधिकारहरू पनि प्रभावित बन्न पुग्छन्।
एक सानोतिनो व्यापार व्यवसाय गरेर बस्ने म्याथ्यु भन्छन् कि टाट पल्टिएको घोषणा गरेपछि बिना अनुमति विदेश जानु समेतलाई अपराध मानिनेछ।
सामान्यतया, टाट पल्टिएको घोषणाले तपाईँको काम गर्न पाउने अवस्थामा कुनै अवरोध गर्दैन।
अझ, यसबारे तपाईँले आफ्नो रोजगारदातालाई खासै केही बताउनै पनि पर्दैन।
तर, तपाईँ बिजुली, काठ, प्लम्बिङ लगायतका व्यवसायसँग आबद्ध हुनुहुन्छ वा लेखा अथवा कानूनी पेसामा वा सो सम्बन्धी कार्य हुने ठाँऊमा काम गर्नुहुन्छ भने चाहिँ सो क्षेत्र सम्बन्धी सरकारी निकाय वा व्यावसायिक सङ्गठनलाई सम्पर्क गरेर आफ्नो अवस्था बारे छलफल गर्नुपर्छ।
यसै गरी, टाट पल्टिएको घोषणा गरेपछि तपाईँले कुनै पनि कम्पनीको व्यवस्थापन अदालतको स्वीकृति बगेर गर्न पाउनु हुन्न र केही विशेष सार्वजनिक पद पनि धारण गर्न मिल्दैन।
आफ्नै व्यवसाय चलाउनु हुन्छ भने त थप रोकावटहरूको सामना गर्नुपर्ने म्याथ्युको अनुभव छ।

क्रेडिट रिपोर्टिङ एजेन्सीहरू वा ऋण लिन योग्यता जाँच गर्ने संस्थाहरूले तपाईँ टाट पल्टिएको घोषणा भएको मितिबाट पाँच वर्षसम्म उक्त जानकारी रेकर्डमा राख्छन्।
यसले गर्दा तपाईँको ऋण लिन पाउने अवस्थामा प्रभाव पर्छ।
जस्तो कि कति इन्ट्रेस्ट वा ब्याजमा ऋण पाउने भन्ने कुरा पनि तपाईँको क्रेडिट रेकर्ड अनुसार हुन्छ।
अनि साथै टाट पल्टिएको घोषणाका प्राय सबै ऋणहरू माफ भएका हुँदैनन्।
तपाईँका ऋण ट्रस्टीलाई हस्तान्तरण हुन्छ जस कारण अनस्योकर्ड डेट्स वा कुनै धितो नराखी लिएका ऋणहरू, जस्तै कि क्रेडिट कार्ड, मेडिकल बिलबाट तपाईँ मुक्त हुनुहुन्छ।
अनि, आफ्नो अवस्थामा परिवर्तन हुने बित्तिकै तपाईँले ट्रस्टीलाई जानकारी दिनुपर्छ, जस्तो कि आयमा थप-घट।
सेरा मेगिन्सनका अनुसार ऋण तिर्न ट्रस्टीहरूले तपाईँका केही चल-अचल सम्पत्तिहरू बेचबिखन गर्न पनि सक्छन्।
तर पनि क्लेर करिगन भन्छिन् कि टाट पल्टिने मानिसहरू थुप्रै हुन्छन् र यस बारे घोषणा गर्दा तपाईँले नयाँ किसिमबाट आफ्नो जीवन जिउने मौका पाउन सक्नुहुन्छ।






