Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा सभामुख पदमा राजनितिक संकट र सुचना प्रविधि विधेयकको विरोध: गत ७ दिन नेपालमा

Nepal Parliament

नेपालका पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर उनले राजीनामा दिएपछि रहेको रिक्त सभामुख पदलाई लिएर राजनितिक खिंचातानि शुरु भएको छ र अभिव्याक्ति स्वतन्त्रता कुञ्जित गर्छ भन्दै हालै पारित भएको सुचना विधेयकको विरोध। यी लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


नेपालका पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर उनले राजीनामा दिएपछि रहेको रिक्त सभामुख पदलाई लिएर राजनितिक खिंचातानि शुरु भएको छ र अभिव्याक्ति स्वतन्त्रता कुञ्जित गर्छ भन्दै हालै पारित भएको सुचना विधेयकको विरोध। यी लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


सभामुख संकट

सत्तारूढ दल नेकपाले प्रतिनिधी सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने र तुम्बाहाम्फेले राजीनामा नगर्ने बताएपछि नेपालको सभामुख संकट अझै गहिरिएको छ।

गत असोज महिनामा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेर उनले राजीनामा दिएपछि सभामुखको पद खाली छ।

सभामुख नहुँदा प्रतिनिधी सभाले आफ्नो नियमित काम कारवाही गर्न सकेको छैन। संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने प्रावधान छ र उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सत्तारूढ दल नेकपाकै भएकाले नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउँदैन।

तर नेकपाले तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। तुम्बाहाम्फेले राजीनामा दिएमा नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउँछ। तर तुम्बाहाम्फेले आफु नै सभामुख बन्न योग्य रहेको बताउँदै आएकी छिन्।

केही समय अघि उनले देशसञ्चार अनलाइनलाई यस्तो भनेकी थिइन: "प्रतिनिधि सभा र राष्ट्रिय सभाका उपाध्यक्ष सहित बसेर हामीले छलफल गरेका थियौं। यदि उपसभामुखहरूको अगाडि सभामुख पदको कुनै समयमा अवसर आयो भने हामी काम गर्न सक्छौं भन्ने हाम्रो निश्कर्ष थियो।"

सभामुख नभएका कारण पुष १६ गते शुरू हुनु पर्ने संसदको हिउँदे सत्र पुष २७ गते आईतबारलाई सारिएको छ।

अन्तिम समय सम्म पनि तुम्बाहाम्फेले राजीनामा नदिने बरू संसदको बैठकमा सभामुख चयनको प्रकृया अघि बढाउने बताउँदै आएकी छिन्। 

तुम्बाहाम्फेले राजीनामा  दिएपनि नेकपाबाट सभामुख बनाउने भन्ने विषयमा भने शीर्ष नेताहरूबीच सहमति हुन सकेको छैन।

मन्त्रीको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले दुइ जना मन्त्रीको कार्यभार बढाउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकेकी छन्।

यस अघि संघीय समाजवादी पार्टीका दुई मन्त्रीहरूले ती मन्त्रालय सम्हालिरहेका थिए।

उपेन्द्र यादव र मोहम्मद इश्तियाक राईले  पुष ८ गते ती पदबाट राजीनामा दिएर  संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री केपी ओलीले ती मन्त्रालयको जिम्मेवारी लिइरहेका थिए।

भिजिट नेपाल अभियानको आलोचना

नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अष्ट्रेलियाको भ्रमण गरेपछि नेपालमा र विशेषगरी सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भएको छ।

Yogesh Bhattarai in Nepal
Source: SBS Nepali

आगलागीका कारण अष्ट्रेलियाले थुप्रै आन्तरिक समस्याहरू झेलिरहेको बेला भट्टराईको भ्रमणलाई धेरैले कुबेलाको भ्रमणको संज्ञा दिएका छन् भने कतिले यसलाई असंवेदनशील भनेका छन्।

त्यस्तै गरी, वैदेशिक रोजगारीमा जाने मानिसले भिजिट नेपालको टिशर्ट वा क्याप लगाउने अनुरोध जस्ता कारणले पनि भिजिट नेपाल २०२० अभियानको आलोचना भइरहेको छ।

सुचना प्रविधी विधेयक

गत हप्ता संसदको एउटा समितिले पारित गरेको सूचना प्रविधि विधेयकको यस हप्ता नेपालमा धेरै पक्षबाट विरोध भएको छ। नेपालको सार्वभौमिकता, राष्ट्रियता, अखण्डता तथा अन्य विषयविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएमा कडा कारवाही हुने विधेयकमा बताइएको छ।

त्यस्तो प्रावधानले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्छ भन्दै बिहीबार माईतीघर मण्डलामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको थियो।

त्यस्तै शुक्रबार संवैधानिक कानुन मञ्च, न्याय तथा अधिकार संस्था तथा मानवअधिकार पत्रकार संघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकारहरू र संविधान र कानुनविदहरूले समेत यसको विरोध गरेका थिए।

संविधानविद भीमार्जुन आचार्य भन्छनः "जुन खालको विधेयक अहिले छलफलमा छ, त्यसको कुनै एउटा दफा वा उपदफाको सुधारबाट अगाडि जान सक्ने म देख्दिन। यो शतप्रतिशत गलत छ। शतप्रतिशत संविधानको प्रतिकुल छ, संविधानसँग बाझिन्छ।"

साथै नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघले विधेयकलाई यही हालतमा संसद्बबाट पारित हुन नदिन सामूहिक प्रयत्न गर्ने पनि बताएका छन्।

हाल यो विधेयक संसदमा दर्ता गराइएको छ र संसदका दुवै सदनले पारित गरेपछि मात्रै कानुन बन्ने छ।

चिनीया फिर्ता

करीब ३ हप्ता अघि काठमाण्डुमा पक्राउ गरिएका १२२ चिनिया नागरिकलाइ चीन फिर्ता पठाइएको छ।

पुष ७ गते ती चिनिया नागरिकलाई नेपाल प्रहरीले साइबर र आर्थिक अपराध गरेको आरोपमा पक्राउ गरेको थियो। गत आइतबार चीन सरकारको दुइ चार्टर्ड विमानमा ती चिनिया नागरिकलाई  फिर्ता पठाइएको हो।

उनीहरूबाट ठुलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको थियो तर उनीहरूले गरेको अपराधको विवरण भने नेपाल प्रहरीले खुलाएको छैन।

नेपाल प्रहरीले यो नेपाल र चीनको संयुक्त कारवाही भएको जनाएको छ भने चीनले उनीहरूले नेपालमा ह्याकिङ लगायतको साइबर अपराध गरेको जनाएको छ।

विगतमा नेपालमा चिनिया ह्याकरहरूले एटिमहरू ह्याक गरेर पैसा चोरेको पाइएको थियो।

युवक मृत्यु प्रकरण

धनुषामा टिपरले किचेर एकजना युवक मारिएपछि स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् र स्थिति नियन्त्रण गर्न प्रहरीले  १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।

शुक्रबार बिहानै मर्निङ वाक जाँदा २४ वर्षीय दिलीपकुमार महतोलाइ टिपरले ठक्कर दिएको थियो।

भारतमा इन्जिनियरिङ पढिरहेका महतोले लामो समयदेखि खोलाको अवैध उत्खननको विरोध गर्दै आएका थिए र त्यसैले जानाजान उनको हत्या गरिएको परिवारको भनाइ छ।

महतोको घटनास्थलमै मृत्यु भएपछि टिपर चालक फरार छन् तर हत्यामा संलग्न भएको आशंकामा प्रहरीले टिपर र उद्योगी विपिन कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषामा स्थानीयबासीको विरोधका कारण पुर्व पश्चिम राजमार्ग अवरूद्ध भएको थियो भने शनिबार काठमाण्डुमा पनि युवाहरूले माइतीघरमा दिलिपको हत्याको विरोधमा प्रदर्शन गरेका छन्।

मौसम

यस हप्ता नेपालमा फेरी हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ र सुदुरपश्चिम प्रदेशका राजमार्गहरू अवरूद्ध बनेका छन्।

Snowfall in Nepal
A school in Bajura, Nepal Source: RSS

हिमाली क्षेत्रहरूमा एक सातादेखि अझैसम्म हिमपात जारी छ र अत्यधिक चिसो बढिरहेको छ।

डडेलधुरा-बैतडी जोड्ने दशरथचन्द राजमार्ग, अतरिया-डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग र कर्णाली राजमार्गको कालीकोट-मुगु खण्ड हिउँका कारण अवरूद्ध भएका थिए।

कर्णालीमा मोबाइल र टेलिफोन सेवा पनि अवरूद्ध छन्। कृषकहरू भने पानी परेपछि बालीनाली सप्रने भन्दै खुशी भएका छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now