केशव कँडेलसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
भिक्टोरियामा आइसोलेशनमा बस्नुपरेका हरुलाई सरकारी सहयोग उपलब्ध गराउँन आफुहरुले समन्वय गर्नसक्ने गैर आवासीय नेपाल संघ अस्ट्रेलियाका अध्यक्ष्य केशव कँडेल ले बताएका छन्।
आवास वा टेलिफोन भाउचर जस्ता सहयोगहरु चाहिनेहरुले आफु लगायतका संस्थाहरुलाई सम्पर्क गर्नसक्ने भन्दै "सम्पर्क गरेको एक घण्टा भित्र" त्यस्ता सहायता उपलब्ध गराउने विकल्प अधिकारीहरु द्वारा प्रदान गरिएको उनि बताउँछन्।
"यस्तो विश्वास सरकारले हामीलाई गरको छ।"
गत चौबीस घण्टा भित्र उक्त राज्यमा पुष्टि भएका कोरोनाभाइरसका तीन सङ्क्रमण केस मध्ये दुई वटा सामुदायिक सङ्क्रमण रहेको अधिकारीहरुले बताउँदा मेलबर्न निवासी पनि रहेका कँडेलको उक्त भनाइ आएको हो।
आइतबार आयोजना भएको एक पत्रकार सम्मेलनमा बोल्दै भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टीन फोलीले दुबै सामुदायिक सङ्क्रमण मेलबर्न विमानस्थल स्थित होलिडे इन क्वारेन्टिन होटेलसंग सम्बन्धित रहेको बताए।
पछिल्ला सङ्क्रमित एक महिला र एक तीन वर्षीय शिशु रहेको पनि उनको भनाइ थियो।
दुई छुट्टा-छुट्टै परिवारका ती दुवै गत फेब्रुवरी ६ तारिक, नेपाली भाषीहरुको ठुलो बसोबास रहेको मेलबर्नको कोबर्ग नामक सबर्ब स्थित एक कार्यक्रम स्थलमा निजी पार्टीका लागि पुगेका थिए।
उक्त पार्टीमा होलिडे इन का एक कर्मचारी पनि उपस्थित रहेको, जो त्यसपछि कोभिड उन्डाइस बाट सङ्क्रमित भएको पुष्टि भएको थियो।
राज्यको कोभिड व्यवस्थापन निकायका अधिकारी जेरोन वाइमार का अनुसार कोबर्गमा आयोजना भएको सो पार्टीमा उपस्थित रहेका ३८ जनाको कोरोनाभाइरसको लागि परिक्षण गरिएको र अहिले सम्म ती मध्ये अन्य कोहिमा भाइरस पुष्टि नभएको पनि उनको भनाइ छ।

नेपाली सम्बन्ध
भिक्टोरियाली अधिकारीहरुले आधिकारिक रूपमा कोरोनाभाइरसका पछिल्ला सङ्क्रमितहरु नेपाली पृष्ठभुमिको रहेकोबारे बताएका छैनन्। तर अधिकारीहरुले नेपाली सामुदायिक संस्थाहरुसंगको अन्तरकृयालाई व्यापक मात्रामा बढाइएको छ।
साथै भिक्टोरिया स्थित नेपाली सामुदायिक संस्थाहरुले पनि पछिल्ला कोभिड-१९ पुष्टि आफ्नै समुदायबाट भएको बताएका छन्।
यो पनि पढ्नुहोस्

भिक्टोरियामा आज रातीबाट लकडाउन
यसैक्रममा भिक्टोरियामा रहेका नेपाली भाषी समुदाय र राज्यका सरकारी निकायहरु बीचको समन्वय बढाउने भूमिका हाल निभाई रहेका एनआरएनए अस्ट्रेलियाका केशव कँडेलले चाहिं कोभिड लाग्नु पाप नभएको भन्दै मानिसहरुले आफ्नो जांच गराउँन जरुरी रहेको जोड दिएका छन्।
"यसले डराउनु पर्ने वा (कोभिड-१९ सङ्क्रमण भएको) लुकाउनु पर्ने केहि छ जस्तो हामीलाई लाग्दैन, स्वास्थ्य मन्त्री लगायतकाहरुको भनाइ अनुसार सबैले नियमहरुको पालना गरेको देखिएको छ",उनि भन्छन्।
तर समुदायको नाम अगाडी आए नकारात्मक प्रतिकृया आउनसक्नेबारे केहि मानिसहरु चिन्तित रहेको कुरालाई पनि उनि स्वीकार गर्दछन्।

भिक्टोरियामा आगामी बुधबार, १७ फेब्रुवरी सम्म लकडाउन जारी रहने छ र घरमै बस्नुपर्ने यस समयको फाइदा उठाउन पनि कँडेल ले आग्रह गरेका छन्।
भिक्टोरियामा र विशेष गरि ग्लेनरोइ, पोइन्ट कुक, कोबर्ग रिझार्भवायर लगायत उत्तर र पश्चिमी सबर्बहरुमा बस्नुहुने र ६ फेब्रुवरीमा कोबर्गमा आयोजना भएको पार्टीमा सहभागी भएका र उनीहरुको सम्पर्कमा आएकाहरुले कोरोनाभाइरसको लागि जांच गराउनुपर्ने उनले सल्लाह दिएका छन्।
"हामीले गर्ने भनेको आफ्नो जांच गराउने र पांच दिनको लकडाउन अन्त्य गराउन सहयोग गर्ने हो।"
आफुमा कोरोनाभाइरसको लक्षण नदेखिएतापनि जांच गराउने निर्णय गरेका उनले हालै आयोजना भएको एक सामुदायिक फुटसल प्रतियोगितामा गएकाहरुले पनि कोरोनाभाइरसका लागि परिक्षण गराउन उपयुक्त हुने बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमित गएकाहरु सम्बन्धि सुचीमा उक्त नेपाली प्रतियोगिताको नाम नरहेता पनि सावधानीका लागि जांच गराउदा सबैलाई सहयोग हुने उनको बिचार छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।




