महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत उनीसँग एसबीएस नेपाली रेडियोले गरेको कुराकानी।
१. नेपाली फिल्म क्षेत्रमा अभिनेत्री, महिला कलाकार र प्राविधिकको स्थिति कस्तो?
नेपाली फिल्म क्षेत्रमा महिला सहभागि तुलनात्मक रुपमा कम छ । यस क्षेत्रमा अभिनेत्री र केही महिला कलाकारहरुबाहेक प्राविधिक विधामा महिला सहभागिता न्यून रहेको छ । नेपाली फिल्मलाई व्यवसायिक रुपमा नहेरिदिंदा महिला सहभागिता कम भएको होला ।
२. अझपनि अभिनेता र कलाकारहरुको तुलनामा अभिनेत्री, महिला कलाकार र प्राविधिकमा पारिश्रमिक र काममा विभेद हुनुलाई तपाईले कसरी लिनुभएको छ?
यो क्षेत्रमा विभेदभन्दा न्यून पारिश्रमिक भएको सुनिरहेको हुन्छु । सुरुवाती दिनमा काम गर्ने कलाकार र प्राविधिकहरु स्थापित भएसँगै राम्रै कमाई गरिरहेका छन्। राम्रा कलाकारहरुको यस क्षेत्रबाट रामै आम्दानी गरिरहेका छन् ।
३. नेपालमा महिला प्रधान फिल्महरु कम बनेपनि तपाईले अभिनय गरेको अधिंकाश फिल्ममा महिला पात्रको भूमिका महत्वपूर्ण हुन गरेका छन् । तुलनात्मक रुपमा तपाईले राम्रा फिल्म पाउनुको कारण केही छ ?
वास्तवमा संसारभर महिला प्रधान फिल्महरु कम बन्ने गरेका छन् । नेपालमा बनेका महिला प्रधान केही फिल्ममा काम गर्ने अवसर पाएकी हुँ । कुनै फिल्म छनोटदेखिनै विशेष ध्यान दिने गरेको छु । प्राय स्क्रिप्ट लेखनदेखिनै गृहकार्य गर्ने गरेको छु । त्यसबाहेक अन्य फिल्मपनि छन्, प्रेमिका र श्रीमती लगायतमा महत्वपूर्ण भूमिकामा काम गरेकी छु ।
४. महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।नेपाली फिल्म क्षेत्रमा बेला बखत अभिनेत्रीमाथि दुरव्यवहार भएका घटनाहरु आइरहेका हुन्छन् । एक अभिनेत्री भएर महिला हिंसाविरुद्ध कतिको सचेत हुनुहुन्छ?
कुनैपनि क्षेत्रमा महिलामाथि हुने हिंसाको प्रतिकार गर्नुपर्छ । म त भन्छु महिला हिंसाविरुद्धको १६ दिने अभियान ३६५ दिनै हुनुपर्छ । महिलामाथि भएका हिंसाको प्रतिकार गर्न बोल्नचाँहि डराउनु हुँदैन् । दुरव्यवहार सहनुपनि आफैमा अपराध हो । यस विषयमा जतिसक्दो जनचेतना फैलाउनु जरुरी छ ।
५. फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री र कलाकारहरु महिला हिंसाविरुद्ध एकजुट भएजस्तो लाग्छ?
महिलामाथि हुने हिंसाहरु सबै क्षेत्रमा हुने गरेका छन् । यसका लागि सबै एकजुट भएर आवाज उठाउन सक्नुपर्छ । महिलाका लागि महिलामात्र नभए पुरुषहरुपनि एकजुट भएर प्रोत्साहन गर्नु जरुरी छ ।