सन् २०२० साललाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने नेपाल सरकारको योजनालाई अस्ट्रेलिया बाट के कस्तो सहयोग पुराउन सकिन्छ भन्ने लगायतका विषयबारे शनिवार सिड्नीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
गैर आवासीय नेपाली सङ्घको अस्ट्रेलिया शाखा अन्तर्गतको न्यु साउथ वेल्स संयोजन समिति द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको दोस्रो चरणमा प्रमुख आतिथ्य गरेका नवनियुक्त राजदूत महेश राज दाहाल लगायत सहभागी सम्पूर्णले भिजिट नेपाल २०२० लाई प्रवर्धन गर्ने सम्बन्धमा के कस्ता योजनाहरू ल्याउन सकिन्छ भन्ने सम्बन्धमा आ-आफ्ना धारणा राखेका थिए।
सहभागी वक्ताहरूले मौखिक विज्ञापन निकै प्रभावकारी रहने बताउनुका साथै फेसबुक अभियान सञ्चालन गर्ने देखि अस्ट्रेलियाका चर्चित व्यक्तित्वहरूलाई सहभागी गराउनु पर्ने सम्मको सुझाव दिएका छन्।

शुक्रवार मात्र भिजिट नेपाल २०२० अस्ट्रेलिया नामको समितिको स्थापना गरेर नै यसको प्रचार प्रसार कसरी गर्ने भन्ने योजना बनाइन लागेको अस्ट्रेलियाका लागी अवैतनिक महावाणिज्य दूत दीपक खड्काले जानकारी दिए।
साथै कार्यक्रममा उपस्थित गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिहरूले एनआरएनए ले यो अभियानमा खेल्न सक्ने भूमिका लगायतका विषयमा पनि आफ्नो धारणा राखेका छन्।
नेपाल भ्रमण वर्ष सन् २०२० का सम्बन्धमा गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
तिन भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा न्यु साउथ वेल्समा रहेका विभिन्न सामुदायिक संस्थाहरू बिचको समन्वय कसरी बढाउने बारे ध्यान केन्द्रित गरिएको थियो।
उक्त पहिलो चरणको कार्यक्रमले अस्ट्रेलियामा क्रियाशील नेपाली सामुदायिक संस्थाहरू एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न प्रोत्साहित गर्ने काम गरेको गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय संयोजन समितिमा ओसेनिया क्षेत्र संयोजक रहेका होमनाथ पाण्डेले बताएका छन्।

विभिन्न क्षेत्र समेट्ने सङ्घ संस्थाको उपस्थितिका माझ खेलकुद क्षेत्रको प्रतिनिधित्व गरेको नेपाल रिक्रिएश्नल क्लबका अध्यक्ष विष्णु हमालसँग आगामी दिनमा खेलकुद क्षेत्रमा के कस्ता कार्यक्रम आयोजना हुँदै छन् भन्ने सम्बन्धमा कुराकानी गरेका छौँ।
हमाल साथै गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय संयोजन समितिमा ओसेनिया क्षेत्र संयोजक रहेका होमनाथ पाण्डेले कार्यक्रमका महत्वका बारेमा गरिएको कुराकानी तलको लिङ्कमा गएर सुन्नुहोस्।
कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा विभिन्न व्यवसायीहरू बिच अन्तरक्रिया कार्यक्रम भएको थियो। र उनीहरूले कार्यक्रम कतिको सहयोगी छ साथै व्यवसाय सुरु गर्दा ध्यान दिनु पर्ने कुराहरू पनि आदान प्रदान गरेका छन्।






