मतगणना र क्लबमा दंगा - यो साता नेपालमा

Vote Counting in Nepal

Vote Counting and Dj Marshmello are among the stories that made news in Nepal this week. Source: Getty, Twitter

७५ जिल्लाको समानुपातिक तर्फको मतगणना सकियो, संसदमा पाँच राष्ट्रिय पार्टीको मात्र प्रतिनिधित्व हुने ठगीको आरोपमा क्रिकेटर पृथुसहित ७ जनाविरुद्ध मुद्धा,अन्तराष्ट्रिय ह्वीलचेयर क्रिकेटको उपाधि नेपाललाई चैतदेखि २० वर्षे पुराना सार्वजनिक सवारी गुडाउन नपाइने, राजधानीमा अन्तराष्ट्रिय माउन्टेन फिल्महरुको महोत्सव


७५ जिल्लाको समानुपातिक तर्फको मतगणना सकियो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको जानकारी शनिबार निर्वाचन आयोगले गराएको छ । आयोगका अनुसार सुनसरी र सर्लाहीका केही स्थानको मत गणना भइरहेको बताएको छ । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका थिए ।

आयोगले दिएको जानकारी अनुसार शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ । जसअनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९४५, नेपाली कांग्रेस ३१ लाख १० हजार २२५ र माओवादी केन्द्र १२ लाख ९५ हजार ७११ मत प्राप्त गरेका छन् ।

संसदमा पाँच राष्ट्रिय पार्टीको मात्र प्रतिनिधित्व हुने

आगामी संसदमा पाँच वटा पार्टीले मात्र प्रतिनिधित्व गर्न पाउने भएका छन् । यसअघिको संसदमा करिव तीन दर्जन हाराहारीमा पार्टीहरु सहभागि भएपनि अब बन्ने संसदमा भने केवल पाँच पार्टी सहभागि हुने भएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका पार्टीहरु संसदमा सहभागि हुन पाउने छैनन् । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएलगत्तै संसदमा प्रतिनिधित्व गर्न पाएका हुन् ।

त्यसबाहेकका विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले र नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएनन् । डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एक–एक सिट जितेर सांसदको रुपमा संसदमा रहनेछन् ।

ठगीको आरोपमा क्रिकेटर पृथु सहित ७ जना विरुद्ध मुद्धा

महँगो मूल्यमा टिकट बिक्री गरेर दर्शक ठगी गरेको आरोपमा क्लव देजाभुका संचालक क्रिकेटर पृथु बास्कोटासहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ । शुक्रबार प्रहरीले ठगीको आरोपमा मुद्धा दर्ता गराएको हो ।

क्लबले अमेरिकी डिजे मार्समेलोलाई ल्याउने भन्दै केटिएम लाइभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले देजाभुमा बुधबार बेलुका मार्समेलोको कार्यक्रम राखेका थिए । आयोजकले डिजे उपस्थित नहुने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लब तोडफोड गरेका थिए ।

घटनालगत्तै महानगरीय अपराध महाशाखाले बिहीबार बिहान पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतका पक्राउ गरेको थियो। अधिकतम एक हजार क्षमताको क्लबमा तीन हजारभन्दा बढी दर्शक डिजे मार्समेलोलाई सुन्न भेला भएका थिए ।

फुड प्वाइजनबाट एक्कासी बिरामी भएपछि स्टेजमा उपस्थित हुन नसकेको जानकारी गराउँदै मार्समेलो ट्वीटरमार्फत माफी मागेका थिए । क्लबले अन्तराष्ट्रिय डिजे मार्समेलो ल्याउने भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्ममा टिकट बिक्री गरेको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय ह्वील चेयर क्रिकेटको उपाधि नेपाललाई

अन्तराष्ट्रिय ह्वीलचेयर टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनलमा बंगलादेशलाई चौऔन्न ५४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले डिगम चेम्जोङ र नवीन राईको अर्धशतकको मदतले १६० रन बनाएका थिए । प्रतियोगितामा नेपालका डिगम चेम्जोङ म्यान अफ दी सिरज घोषित भए थिए । त्यस्तै नवीन राई बेस्ट ब्याट्सम्यान, बिपिन पौड्याल बेस्ट बलर र राजु गुरुङ बेस्ट किपर घोषित भएका थिए । तीन दिनसम्म आयोजना भएको अन्तराष्ट्रिय ह्वीलचेयर क्रिकेट प्रतियोगितामा नेपालसहित बंगलादेश र भारतले सहभागिता जनाएको थियो ।

चैत देखि २० वर्षे पुराना सार्वजनिक सवारी गुडाउन नपाइने

आगामी चैतदेखि यातायात व्यवस्था विभागले देशभर इलेक्ट्रिक र ग्यासबाट चल्लेबाहेक २० वर्षे पुराना सार्वजनिक सवारी गुडाउन नपाइने जानकारी गराएको छ । यातायात व्यवस्था विभाग अनुसार २० वर्षे पुराना सवारीहर कुनेपनि रुटमा चलाउन नपाइने भएको छ । 

राजधानीमा अन्तराष्ट्रिय माउन्टेन फिल्महरुको महोत्सव

अन्तराष्ट्रिय माउन्टेन फिल्महरुको महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ । ‘दी लास्ट हनी हन्टर’ नामक फिल्मको प्रदर्शनीबाट सुरु भएको काठमाडौं अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १५ औं संस्करण पाँच दिनसम्म चल्नेछ ।

किम्फमा यसपटक ३७ देशका डकुमेन्ट्री र सर्ट फिल्महरु प्रदर्शन भइरहेका छन् । यसपटक किम्फमा अन्तराष्ट्रियतर्फ १५ वटा फिल्मले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसबाहेकका ४८ फिल्महरु प्रदर्शन भइरहेका छन् भने नेपाल पानोरोमा अन्तर्गत १५ वटा नेपाली फिल्महरु सहभागि छन् । महोत्सवमा विजयी हुनेले १५ सय अमेरिकी डलर, फस्ट रनरअपले एक हजार डलर र सेकेन्ड रनरअपले पाँच सय डलर प्राप्त गर्नेछन् । त्यस्तै नेपाल पानोरोमामा भने फिक्सनतर्फ ७५ हजार र नन फिक्सनतर्फ ५० हजार पुरस्कार प्रदान गरिनेछन् ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now