लिबरल पार्टीको पकड रहेको भनिएको वेन्टवर्थ सङ्घीय चुनाव क्षेत्रबाटबाट निर्वाचित पुर्व प्रधानमन्त्री माल्कम टर्नबुलले संसदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटका लागी भोली हुने उपनिर्वाचन लिबरल पार्टी एवं गठबन्धन सरकार दुवैकाकै लागी निकै महत्वपूर्ण रहेको छ।
संसदको तल्लो सदनमा १ सिटको अग्रतामा रहेको गठबन्धन सरकारले यो निर्वाचनमा हार व्यहोरे १ सिटको बहुमत गुमाउने छ।
यसले गर्दा गठबन्धन सरकारको अन्त्य हुने निश्चित नभए पनि यो हार पश्चात सरकारले लिने निर्णयहरु संसदबाट अनुमोदन गर्न चुनौतीपूर्ण भने पक्कै हुनेछ।
अहिले सम्मको अवस्थालाई हेर्दा लिबरलका देव शर्मा र स्वतन्त्र उम्मेदवार क्यारेन फेल्पस बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
लिबरल पार्टी भित्रको पदिय खिचातानी पश्चात पार्टी भित्रै असन्तुष्टि बढी रहँदा उक्त सिट स्वतन्त्र उम्मेदवारको पोल्टामा पर्ने सम्भावना भएको बताइदै आएको छ।
लिबरल पार्टी भित्रको सर्वेक्षणमा पनि वेन्टवर्थमा स्वतन्त्र उम्मेदवार फेल्पसको जीत हुन सक्ने नतिजा आएको बताइएको छ।
दुई पार्टी समर्थकहरुको मतलाई हेर्दा केरीन फेल्पले लिबरलका डेव शर्मालाई ४५ का विरुद्ध ५५ प्रतिशतको मतान्तरले पछाडी पारेको देखिएको छ।
माल्कम टर्नबुलले उक्त निर्वाचन क्षेत्रमा विजय हासिल गर्दा, लिबरल पार्टी लगभग १८ प्रतिशतले अगाडी रहेको थियो।
तर टर्नबुल सरकारबाट बाहिरिए सँगै लिबरललाई वेन्टवर्थले गर्ने गरेको समर्थनमा कमी आएको अनुमान गरिन्छ।
दि अस्ट्रेलियन पत्रीकामा प्रकाशित उक्त जनमत प्रधानमन्त्री स्कट मोरिशनका लागी नराम्रो खबर बनेको छ।
यसले गर्दा आगामी सङ्घीय निर्वाचन अगाडीको समयमा सरकारले स्वतन्त्र सांसदहरुको सहयोग र समर्थन जुटाउनु पर्नेछ।

Scott Morrison in the House of Representatives on Thursday. Source: AAP
विपक्षी नेत्री तान्या पिल्बर्सेकले उक्त मत परिणामलाई लिएर शंका गर्ने ठाउँ भएको बताएकी छन्। लिबरल पार्टीले सर्वसाधारणलाई तर्साएर आफुलाई मत हाल्न लगाउने उद्देश्य राखेको हुन सक्ने आशंका व्यक्त गरेकी छन्।
साथै पिल्बर्सेकले पछिल्लो समयमा प्रधानमन्त्री स्कट मोरिशनको अमेरिकाको सिको गर्दै जेरुसेलमलाई इजरायलको राजधानी मान्ने धारणालाई आलोचना गरेकी छन्। वेन्टवर्थ निर्वाचन क्षेत्रमा लगभग १२ प्रतिशत यहुदीहरु बस्ने गर्दछन्।
मोरिशनले अस्ट्रेलियाको दुतावास तेल अवीवबाट सारेर जेरुसेलममा राख्ने बारे दिएको अभिव्यक्तिलाई लिएर पिल्बर्सेकले वेन्टवर्थमा मतदाताहरुको मन जित्न मोरिशनले विदेश नितीलाई प्रयोग गरेको बताएकी छन्।
तर लिबरल उम्मेदवार देव शर्माले भने दुतावास सार्ने निर्णयको वेन्टवर्थ निर्वाचनसँग कुनै सम्बन्ध नभएको भन्दै निर्णयको बचाउ गरेका छन्।
निर्वाचन समय नजिकिदै जाँदा पछिल्लो समयमा उम्मेदवारहरुलाई लिएर हुने आरोप-प्रत्यारोप पनि सतहमा आएको छ।
विशेष गरी लिबरलको निकटतम प्रतिष्पर्धी भनिएकी क्यारेन फेल्प्सले उम्मेदवारी फिर्ता लिएको भन्ने व्यहोराको झुठो इमेल मतदाताहरुलाई पठाइएको विषय चर्चामा रहेको छ।
फेल्प्सलाई एच. आइ. भी. भएको कारण आफ्नो उम्मेदवारी फिर्ता लिएको भनी गएको आइतबार पठाइएको उक्त इमेलमा शर्मालाई मत हाल्न आव्ह्वान गरिएको छ।
डा. फेल्पसले एबीसीसँगको कुराकानीमा उक्त इमेल अत्यन्तै घृणित भएको भन्दै, इमेलमा गरिएको दावी गलत भएकोमा जोड दिएकी छन्।
उनले नक्कली अकाउन्टबाट पठाईएको उक्त इमेलका बारेमा स्रोत पत्ता लगाउन प्रयास गरीरहेको बताएकी छन्।
उता लिबरलले भने उक्त इमेल पठाउने कार्यमा आफ्नो पार्टीको कुनै पनि सहभागीता नरहेको सफाई दिएको छ।
लिबरल उम्मेदवार शर्माले च्यानल नाइनसँगको कुराकानीका क्रममा उक्त कार्य घृणित भएको बताउँदै भत्सर्ना गरेका छन्। साथै आफूले यस बारे हुने कुनै पनि अनुसन्धानलाई सहयोग र समर्थन गर्ने पनि बताएका छन्।
फेल्पसले भने राजनीतिक अभियानका क्रममा निकै निन्दनीय चालहरु हुने भनेर आफुलाई पहिले नै सतर्क गराइएको कारण अब आफु निर्वाचन प्रचार प्रसार र मतदाताहरुलाई भेटेर अस्ट्रेलियाको भविष्यबारे छलफल गर्नमा ध्यान केन्द्रित गर्ने बताएकी छन्।