मुख्य बुँदाहरू:
- अस्ट्रेलियामा ५३ लाख भन्दा बढी घर पालुवा बिरालो रहेको बताइन्छ।
- घर पालुवा बिरालोहरूले अस्ट्रेलियामा प्रत्येक वर्ष लगभग १८६ जनावरहरूलाई मार्ने गरेको पाइन्छ।
- तपाईँले घरमा बिरालो पाल्ने हो भने केही जिम्मेवारीहरूको पालना गर्नु पर्छ।
- आफू बस्ने सबर्बमा बिरालो पाल्न चाहिने जानकारीका लागि स्थानीय काउन्सिललाई सम्पर्क गर्नुहोस्।
घरमा बिरालो पाल्नुका थुप्रै फाइदाहरू छन्।
कतिले एक्लोपन हटाउने साथीका रूपमा बिरालो पाल्छन् त अरूले चाहिँ स्वस्थ रहने उपायका रूपमा यसलाई लिन्छन्।
परापूर्वकालको इजिप्ट वा मिश्रका मिथकहरूमा चर्चित बिराला हुन् वा आधुनिक युगमा गार्फिल्ड र हेलो किटी जस्ता कार्टुनमा देखिएका बिरालाहरू हुन्, मान्छेहरूसँग उनीहरूको सम्बन्ध अगाडी बढी नै रहेको छ।
पौराणिक कथाहरूदेखि आधुनिक कला र जीवनशैलीसम्म संसारभर नै बिरालोले आफ्नो महत्त्व दर्शाएतापनि, अस्ट्रेलियाको माटोमा भने बिरालोको उपस्थिति भर्खरै देखिएको हो।
तर, एन्टार्टिकासँगै अस्ट्रेलिया मात्र एक त्यस्तो महादेश हो जसलाई बिराला प्रजातिका कुनै पनि जनावरहरूले आफ्नो घर बनाएनन्।
युरोपेली मानिसहरूको आगमनसँगै मात्र यहाँ बिरालोहरू देखिन सुरु भएका हुन्।
अर्को शब्दमा भन्नुपर्दा उनीहरू अस्ट्रेलियाका रैथाने जनावर होइनन्।
तैपनि देशैभर बिरालो पाल्ने मान्छेको कमी छैन।
एक अध्ययनका अनुसार अस्ट्रेलियाका एक तिहाइ भन्दा बढी घरमा बिरालो पालिएका छन्।
यस हिसाबले अस्ट्रेलियामा झन्डै ५३ लाख घरपालुवा बिरालोहरू रहेको अनुमान छ।
अस्ट्रेलियामा आदिकालदेखि बिरालाहरू नभएकाले यहाँका रैथाने जीवजन्तु जस्तै कि चरा, छेपारो अनि भ्यागुतोमाथि उनीहरूबाट खतरा धेरै छ।
अनुसन्धानकर्ताहरूले पनि घर बाहिर डुल्ने बिरालोहरूले वार्षिक औसतमा झन्डै १८६ वटा जनावरहरू मार्ने अनुमान गर्छन् र उनीहरू भन्छन् कि यो बारे बिरालोधनीहरूलाई पत्तै हुँदैन।
घर पालुवा बिरालोसँगै दसौँ लाख सङ्ख्यामा जङ्गली बिरालोहरू अस्ट्रेलियाभर रहेको बताइन्छ।
सेरा लेग चार्ल्स डार्विन युनिभर्सिटीमा वाइल्डलाइफ कन्जर्भेसनकी प्रोफेसर तथा बायोडाइभर्सिटी काउन्सिलर हुन्।
उनले अस्ट्रेलियाको वन्यजन्तु एवं वनस्पति संरक्षणका मुद्दाहरूमा गए ३० वर्षदेखि काम गरेकी छिन्।
जङ्गली वन्यजन्तुमाथि बिरालोहरूको प्रभावबारे पनि अध्ययन गरेकी लेग घरपालुवा र जङ्गली बिरालो बिचको अन्तर बारे भन्छिन्, “घरमा पालिने बिरालोका बारेमा त सबैलाई थाहा नै छ, तर यहाँ जङ्गली बिरालोहरू पनि प्रशस्त छन् जो मानव बस्तीभन्दा टाढा बस्छन्।”
“तर सहरकै छेउ छाउमा पनि यस्ता आवारा बिरालोहरू हुन्छन् जसलाई 'स्ट्रे क्याट' भनिन्छ।”

बिरालोहरूका कारण अस्ट्रेलियाको वन्यजन्तुलाई ठुलो नोक्सानी
“सन् १७८८ मा पहिलो पटक अस्ट्रेलियामा बिरालो भित्रिएको पाइन्छ। त्यसको केही समयपछि पर्थ र होबार्ट लगायतका अन्य स्थानहरूमा पनि बिरालोहरू लगियो र छोटो समयमै उनीहरूको सङ्ख्या महादेशभर नै बढ्यो,” प्रोफेसर लेगले अस्ट्रेलियामा बिरालोको इतिहास बारे बताइन्।
घरपालुवा र जङ्गली बिरालोले अस्ट्रेलियाको पृथक् वन्यजन्तुलाई गरेको क्षतिलाई एक ठाउँमा राखेर हेर्ने हो भने प्रत्येक दिन ३१ लाख स्तनधारी जनावर, १८ लाख घस्रने जीवजन्तु र १३ लाख चराहरू बिरालोबाट मारिने बताइन्छ।
प्रोफेसर लेग भन्छिन् कि यो क्रम रोकिएन भने अबको केही समयमा केही रैथाने जीवजन्तु अस्ट्रेलियाबाट लोप हुनेछन्।

त्यसो भए जिम्मेवार बिरालो पालक बन्न के गर्नुपर्छ त?
प्रोफेसर लेगका अनुसार हरेक बिरालो पालकले गर्न सक्ने केही प्रमुख कामहरू छन्, जसबाट आफ्नो बिरलो सुरक्षित हुनुका साथै वन्यजन्तुमाथिको असर पनि कम गर्न सकिन्छ।
“आफ्नो बिरालोलाई दर्ता गर्नुहोस्। हरायो भने पनि सुसूचित हुन 'माइक्रोचिप' लगाइदिनुहोस्। जहाँ पायो त्यहीँ दिसा नगरुन् र घरभित्रै बसुन् वा बाहिरै गए पनि आफूले तोकेको सुरक्षित स्थानमा मात्र जाउन् भन्नको लागि 'डिसेक्स' गराउनुहोस्,” प्रोफेसर लेगले भनिन्।
उनी अगाडी भन्छिन् कि घरपालुवा बिरालोलाई घर वरपर नै राख्दा, बिरालो पाल्ने मान्छेलाई रमाइलो त हुन्छ नै, अन्य जीवजन्तुमाथिको असर पनि कम गर्न सकिन्छ।
बिरालो पाल्नु भएको छ वा पाल्ने सोच्दै हुनुहुन्छ भने, यसलाई खुसी र स्वस्थ राख्न नियमित रूपमा स्थानीय भेटेनरी डाक्टर कहाँ लग्न सल्लाह दिइएको छ।
डाक्टर गार्नेट हल अस्ट्रेलियन भेटेरिनेरी एसोसिएसनको वेस्टर्न अस्ट्रेलिया डिभिजनका अध्यक्ष हुन्।
उनी भन्छन् कि बिरालो पाल्ने मानिसका लागि आफ्नो बिरालोको स्वास्थ्य सम्बन्धि जानकारीको पहिलो श्रोत भेटेनरी डाक्टर नै हुनुपर्छ।
“जति सक्दो अगाडी नै रोगको पहिचान गर्नु र रोगको उपचार गर्नु उत्तम कुरा हो, र यसका लागि सबैभन्दा राम्रो उपाय भनेको 'लोकल भेट्'सँगको आफ्नो सम्बन्धलाई बढाउनु हो।”
डा गार्नेटका अनुसार बिरालोलाई बाहिर डुल्न दिँदा 'क्याट-फाइट' गर्ने, घाइते हुन सक्ने सम्भावना रहन्छ भने फेलिन इम्युनोडिफिसेन्सी भाइरस (एफआईभी) जस्ता रोग लाग्ने जोखिम हुन्छ।
“बिरालोहरू जन्मजात सिकारी गुणका हुन्छन्, उनीहरू चल्दा वा खेल्दा पनि त्यो देखिन्छ। यिनीहरूले लखेट्ने, चिथोर्ने वा झम्टने गर्छन्, बाहिर खुला ठाउँमा यो व्यवहारले चरा, छेपारो र भ्यागुता जस्ता जनावरलाई खतरा निम्त्याउँछ,” उनले भने।
डा हल बिरालोलाई आफ्नो साथी मात्र नभएर परिवारको एक सदस्यका रूपमा स्विकार्न सुझाव दिन्छन्।
“हामीलाई जस्तै उनीहरूलाई पनि घरको सुरक्षित वातावरण, नियमित रूपमा स्वस्थ खाना र राम्रो स्वास्थ्य उपचार चाहिन्छ, यस बाहेक शरीरमा आउने कीटाणुहरूबाट सुरक्षा, मानसिक सन्तुष्टि र प्रेमको आवश्यकता पर्छ।"

बिरालो पालन बारे कानून के भन्छ त?
बिरालो पालन वा उनीहरूको व्यवस्थापन सम्बन्धी कानून आफू बस्ने स्थान अनुसार फरक हुने प्रोफेसर लेग बताउँछिन्।
उनका अनुसार घरमा पालिने बिरालो व्यवस्थापन सम्बन्धी कानून राज्य तथा प्रदेशले तय गरेका हुन्छन् तर स्थानीय सरकारले के गर्न मिल्छ, मिल्दैन भन्ने बारेमा आफ्ना नियमहरू लागू गर्न सक्छन्।
तर नियमहरूका बारेमा जानकारी पाउने सबैभन्दा उत्तम उपाय भनेको चाहिँ आफू बसेको काउन्सिलको वेबसाइटमा हेर्ने हो।
धेरै स्थानीय काउन्सिलहरूले जनावरको पालनपोषणलाई व्यवस्थित बनाउनका लागि, डिसेक्सिङका लागि सरकारी आर्थिक सहायता दि ने वा माइक्रोचिप जडान गरिदिने जस्ता सेवाहरू उपलब्ध गराएका हुन्छन्।
प्रोफेसर लेग भन्छिन् कि एक जिम्मेवार मालिक बन्न सकियो भने बिरालोका रूपमा हामीले एउटा निकै राम्रो साथी त पाउँछौ नै, साथमा अस्ट्रेलियाका जङ्गली जनावर र चराहरूसँगको आनन्द पनि लिन सक्छौँ।
जिम्मेवार बिरालो पालक कसरी बन्ने भन्ने बारे थप जानकारी
- बिरालोलाई कसरी घर भित्रै राख्ने भन्ने बारे विज्ञको सुझावका लागि सेफ क्याट, सेफ वाइल्डलाईफको वेबसाइटमा जानुहोस्।
- थ्रेटन्ड स्पिसिज रिकभरी हबको वेबसाइटमा बिरालोका प्रभावहरूबारे उपलब्ध छ।
- आफू बस्ने क्षेत्र वरपर रहेका भेटेनरी डाक्टरको उपलब्धताबारे थाहा पाउन अस्ट्रेलियन भेटेरिनेरी असोसियसनको वेबसाइट जानुहोस्।





