मुख्य बुँदाहरू
- टेरा नलियसको घोषणालाई कानूनी रूपमा चुनौती दिएर उल्ट्याएपछि मात्रै अस्ट्रेलियामा लडिएका युद्धहरू स्वीकार गर्न सकिन्थ्यो।
- बेलायती डुङ्गाहरूको पहिलो खेप आएको सन् १७८८ देखि सन् १९३४ सम्मको अवधिमा देशका सबै कुनाहरूमा युद्ध भएका थिए।
- औपनिवेशिक अभिलेखहरू र विज्ञहरूका टोलीले पत्ता लगाएका पुरातात्त्विक प्रमाणहरूले द्वन्द्व कति भयावह थिए भनेर देखाउँछन्।
चेतावनी: अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा हिंस्रक प्रकृतिका घटनाहरू उल्लेख भएका छन् जसले केही श्रोताहरूलाई अफ्ठेरो महसुस गराउन सक्छ।
हाल अस्ट्रेलिया भनेर चिनिने महादेशमा कप्तान जेम्स कुकले पहिलो पटक पाइला टेके पछि, उनले यसलाई कसैको स्वामित्व नभएको भूमि वा ‘टेरा नलियस’ भनेर घोषणा गरेका थिए।
तर यसको यथार्थ भने बेग्लै थियो।
खासमा भन्ने हो भने, अस्ट्रेलियामा सयौँ एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर राष्ट्रहरू समाहित थिए जहाँ जातजातिका मानिसहरू सदियौँदेखि बसोबास गर्थे।

कुकको आगमनसँगै भने उनीहरू सबै तत्काल ‘ब्रिटिश सब्जेक्ट्स’ मानिए र उनीहरूले आफ्नो सार्वभौमिकता गुमाए।
अनि यही कदमबाट नै फ्रन्टियर वअर्स सुरु भयो।
आधुनिक अस्ट्रेलियाको जग बस्दै गर्दा भएकी ती अनगिन्ती द्वन्द्वका शृङ्खलालाई इतिहासले बिर्सेको थियो।
तर अब भने बिस्तारै ती रक्तपातपूर्ण घटना बारे बृहत् रूपमा चर्चा हुन थालेको छ।
युरोपेली पृष्ठभूमि पनि भएकी चलचित्रकर्मी रेचल पर्किन्स, आरन्डा र काल्काडुन महिला हुन्।
उनले सन् २०२२ मा एक टेलिसिरिज निर्माण गरेकी थिइन्, दि अस्ट्रेलियन वअर्स, आदिवासी मानिसहरूले ब्रिटिश औपनिवेशिकहरूसँग आफ्नो भूमिको रक्षाका लागि गर्नुपरेको सङ्घर्षका बारेमा।
सन् १७८८मा ब्रिटिश बासिन्दाहरूको पहिलो खेप बोकेर अस्ट्रेलिया आएका ‘फर्स्ट फ्लीट’का पानीजहाजहरूसँगै सुरू भएका स्थानीय आदिवासीहरूसितको द्वन्द्वको श्रृङ्खला सन् १९३० दशको मध्यसम्मै जारी थियो।
तर, न यसबारे अस्ट्रेलियाका स्कूलहरूमा कहिल्यै पढाइयो, न त यी घटनाहरूलाई बारेमा युद्धका रूपमा २०औँ शताब्दीको अन्त्य कालसम्म नै स्विकारियो।
युद्धकलाका एक विज्ञका रूपमा अस्ट्रेलियामा निकै आदरका साथ हेरिने नाम हो, प्रोफेसर हेन्री रेनल्ड्स।
सन् १९६६ मा उनले अध्यापन पेशा अङ्गाल्दा अस्ट्रेलियामा पढाइने इतिहासका आक्कलझुक्कल बाहेक कुनै पनि किताबले एबोरिजिनलहरू बारे केही पनि उल्लेख गरेका थिएनन्।
उनका अनुसार ती छापामार युद्ध मानिएकाले किताबमा परेका थिएनन्।
दि अस्ट्रेलियन वअर्सको ट्रेलर हेर्नुहोस्:
इतिहासकार डा निकोलस क्लेमेन्ट्स अस्ट्रेलियन फ्रन्टियर वअर्सका एक अर्का जानकार हुन्।
उनी प्राध्यापक रेनल्ड्ससँग सहमति राख्दै भन्छन् कि पहिले यसलाई युद्धकै रूपमा हेरिएको थियो, तर २०औँ र २१औँ शताब्दीसम्म आइपुग्दा भने यसलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो।
रेचल पर्किन्सका अनुसार युद्धको दर्जाबाट ती घटनाहरू हट्नुमा टेरा नलियस अनि तत्कालीन ब्रिटिश कानूनमा आधारित राजनैतिक सोचको हात थियो।
ती द्वन्द्वहरू युद्ध थिए भन्नका लागि टेरा नलियस खारेज हुनुपर्थ्यो किनकि उक्त घोषणा अनुसार अस्ट्रेलियाको भूमि ब्रिटिशहरू आगमन अगाडीसम्म खाली थियो, यसमा कसैको हक दाबी थिएन।
र, सन् १९९० ताकासम्मै यसमा कुनै फेर बदल भएन।
उच्च अदालतले जब सन् १९९२ मा ऐतिहासिक ‘माबो निर्णय’ फैसला सुनायो, तब अस्ट्रेलियाका आदिवासीहरूले जमिन र जलको पूर्णाधिकार मात्र प्राप्त गरेनन्, टेरा नलियसको सिद्धान्त पनि उल्ट्याइदियो।
माबो निर्णय र ‘टेरा नलियस’ को खारेजी

डा क्लेमेन्ट्सको बिचारमा ब्रिटिश साम्राज्यले अस्ट्रेलियामा आदिवासीहरूको भूमिमाथिको स्वामित्व स्वीकार नगर्नु ऐतिहासिक विचलन थियो।
र, स्थानीय आदिवासीहरूसँग कुनै छलफल वा सन्धिका लागि कुनै प्रयास नगरिनु नै रक्तपातको कारण थियो।
उपनिवेशकालीन दस्तावेजहरू र पुरातात्त्विक प्रमाणहरूले ती द्वन्द्व कति खतरनाक र नराम्रो थिए भनेर देखाएका छन्।
नेश्नल म्युजियम अफ अस्ट्रेलिया भनिने अस्ट्रेलियाको राष्ट्रिय सङ्ग्रहालयमा मात्रै अस्ट्रेलियन एबोरिजिनल मानिसहरूका पुर्खाका ४०० भन्दा बढी हाड खोर लगायतका भौतिक शरीरका अंशहरू छन्।
यी मध्ये धेरैले मृत्युदण्ड, हात खुट्टा काटिएका र हत्या हिंसा दर्साउँछन्।
रेचल पर्किन्स भन्छिन् कि नयाँ पुस्ताका आदिवासीहरूले आफ्ना पुर्खाको ती त्याग सधैँ सम्झने छन्।
दि ब्लाक वअर
अनि, अस्ट्रेलियाको इतिहासमा सबैभन्दा भयङ्कर लडाइँका रूपमा टास्मेनियाको ‘ब्ल्याक वअर’ वा कालो युद्धलाई लिइन्छ।
आफ्नो अस्ट्रेलियन वअर्स शृङ्खलामा पनि रेचल पर्किन्सले यसबारे चर्चा गरेकी छिन्।
उनी भन्छिन् कि कोरिया, मलेसिया, इन्डोनेसिया, भियतनाम र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका सबै शान्ति मिसनहरूमा हताहत भएका टास्मेनियनहरूको कूल सङ्ख्याभन्दा बढी सङ्ख्यामा टास्मेनियाका मानिसहरू ब्ल्याक वअरका बेला मारिएका थिए।
निकोलस क्लेमेन्ट्सका अनुसार अस्ट्रेलियामा बेलायती कोलोनी स्थापना गर्ने अधिकारीहरू स्थानीय एबोरिजिनल मानिसहरूबाट एकदमै भयभीत थिए।
तर, टास्मेनियाका एबोरिजिनल जनसङ्ख्या सबै निर्मूल पार्दै युरोपेलीहरू आफ्नो दबदबा कायम गर्न सफल भए।
र यो हिंसाको ठुलो हिस्सा यौनजन्य थियो।
संस्थागत रूपमा नै भएको एबोरिजिनल महिलाहरूको बलात्कार र अपहरण यति सामान्य थियो कि केही इतिहासकारहरूको कुरा मान्ने हो भने केही विशेष आदिवासी समुदायहरूको अस्तित्व समकालीन अस्ट्रेलियामा रहनु यस्तै यौन हिंसाको हात रहेको थियो।
आगो निभाउन आगोकै सहारा
अनि, देशका थुप्रै भूभागमा एबोरिजिनल प्रतिरोधलाई परास्त गर्न उपनिवेशकहरूले नेटिभ पोलिस नाम दिइएको रैथाने आदिवासीहरू सम्मिलित तालिम प्राप्त पारामिलिटरी वा अर्धसैनिक दस्ताहरू बनाएर तर्साउने सुरु गरे।
प्राध्यापक रेनल्ड्स भन्छन् कि यसरी भर्ना गरिएका आदिवासीहरूलाई तालिमसँगै पोशाक, बन्दुक र घोडाहरू पनि दिइएको थियो।
अनि उनको के विश्वास छ भने दूर-दराजका ठाउँ र परम्परागत एबोरिजिनल ज्ञानका लागि गोरा अधिकारीहरूले त्यसरी भर्ना भएका आदिवासी सैनिकको चतुर्याइँ पूर्वक फाइदा उठाए।

रेचल पर्किन्सको भाषा यी सबै भयानक घटनाहरू उनले आफ्नो वृत्तचित्र निर्माणका क्रममा पुनः सामना गर्नुपर्यो।
उता, डा. क्लेमेन्ट्स जसका पुर्खा बाहिरबाट आएर अस्ट्रेलियामा बसोबास गरेका हुन्, भन्छन् कि सबै अस्ट्रेलियनहरूले लाज शर्मको भावना त्याग्दै ऐतिहासिक रूपमा भएका अन्यायहरूलाई उजागर गर्नुपर्छ।
दि अस्ट्रेलियन वअर्स श्रृङ्खला एसबीएस अन डिमान्डमा उपलब्ध छ। हेर्न वा सुन्न अप्ठेरो हुने दर्शकका लागि यो सिरिजको प्रति, अडियो डिस्क्रिप्सन र सबटाइटलका साथ पनि उपलब्ध छ।






