चेतावनि:
- यस आलेख र पोड्कास्टमा युद्धसम्बन्धी जानकारीहरू समेटिएका छन्।
जब क्याप्टेन जेम्स कुक अस्ट्रेलियाको समुन्द्री तटमा पहिलो पटक डुङ्गा लिएर आईपुगे, उनले यस भूमिलाई 'टेरा नलिस' अर्थात् कसैले पनि दाबी नगरेको भूमि भएको घोषणा गरे।
यद्यपि उनको आगमन अघि नै यो टापु संयौ वर्षदेखि विभिन्न आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरुका लागि आफ्नो घर थियो।
जब बेलायतीहरूको आगमन भयो, तब यहाँका आदिवासी जनताको अस्तित्वलाई बेलायती मुकुट मुनी दबाउन प्रयास भयो।
र यहिँबाट सुरु भयो, बेलायती साम्राज्यवाद र अस्ट्रेलियामा आफ्नो अस्तित्वको रक्षाका लागि जुटेका आदीबासीबीचको संयौ वर्ष लामो क्रूर द्वन्द्व।
अस्ट्रेलिया भित्रकै एउटा यस्तो युद्ध जसले भर्खरै पहिचान पाउन थालेको छ।
रचेल पर्किन्स युरोपेली पुष्ठभुमीकी कल्काडुन महिला हुन्, उनले हालै 'द अस्ट्रेलियन वार्स' नामक डकुमेन्ट्री सिरिज निर्माण गरेकी छन्। जसमा आदिवासी जनताले बेलायती औपनिवेशिकताका क्रममा आफ्नो भूमि रक्षाका लागि गरेको सङ्घर्षको कथा समेटिएको छ।
यी युद्ध अस्ट्रेलियामा आधुनिक राज्य निर्माणका लागि भएका युद्ध हुन्रचेल पर्किन्स
सन् १७८८ मा पहीलोपटक अस्ट्रेलियाली भूमिमा डुंगा आएसँगै सुरु भएको युद्ध सन् १९३० सम्म चलेको थियो।
तर २० औं शताब्दीसम्म पनि यसका बारेमा न त कुनै विद्यालयमा पढाइयो न त यसलाई कतै स्वीकार नै गरियो।
प्राध्यापक हेन्री रेनल्ड्स, युद्धको इतिहास सम्बन्धी विषयका ज्ञाता र अस्ट्रेलियाली समाजका आदरणीय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनका अनुसार १९६६ मा इतिहास विषय पढाउने क्रममा किताबमा कहीँ पनि एबोरजीनल समुदायमा मानिसहरूका बारेमा लेखिएको थिएन।
“आदिवासीहरूका बारेमा केवल दुई पटक मात्र उल्लेख भएको छ, र इन्डेक्समा पनि यसका बारेमा कुनै कुरा उल्लेख गरिएको छैन,” उनले भने।
दि अस्ट्रेलियन वार्सको ट्रेलर हेर्नुहोस्।
प्राध्यापक रेनल्ड्स यसो हुनुको कारण 'फ्रन्टीयर वार्स'लाई २० औं शताब्दीको मध्यसम्ममा पनि एक पूर्ण युद्धका रूपमा नहेरी, सङ्घर्षको एउटा पाटो वा छापामार युद्ध जस्तै भएको मानिने कारण भएको बताउँछन्।
“यस प्रतिको बुझाई भनेको यो केवल सानो सघर्षको पाटोका रूपमा थियो, त्यहाँ न त सिपाही मार्च पास गर्थे न त उनीहरूको कुनै पोसाक नै थियो, युद्धको परम्परागत परिभाषा समेटेको नभए पनि वास्तवमा यो युद्धको एक रूप भने अवश्य थियो,” उनले भने।
इतिहासका अर्का जानकार डा. निकोलास क्लेमेन्ट्स भने प्रथम र दोस्रो विश्वयुद्ध पछि, युद्धलाई हेर्ने गलत धारणाका कारण यसो भएको बताउँछन्।
तर यस्ता ठुला युद्ध मानव सभ्यतामा असामान्य हुन्।
“त्यति बेला यो एक युद्ध हो भन्ने कुरा सबैलाई थाहा थियो, औपनिवेशिक दस्ताबेजहरूमा पनि यसलाई युद्ध नै भनिएको छ, तर २० औं र २१ औं शताब्दीमा, यसबाट हाम्रो ध्यान बाहिर गयो, यसका अलावा त्यहाँ केही अरू राजनीतिक कारणहरू पनि थिए, जसले यसलाई एक युद्धका रूपमा पहिचान गरेन्,” डाक्टर क्लेमेन्ट्सले यसलाई बुझाउने प्रयास गरे।

“यसो हुनुमा 'टेरा नेलस' घोषणा र बेलायती कानूनबिचको विरोधाभास थियो, यहाँका आदीबासीहरुलाई बेलायती राजसंस्था अन्तर्गत नै राखिएको थियो, युद्धका रूपमा दस्ताबेज गर्दा, आफ्नै जनता माथि युद्धको घोषणा गरे जस्तो हुन्थ्यो,” रचेल पर्किन्स थप्छिन्।
“यद्यपि बेलायतीहरूले यस महादेशमा आफ्नो कब्जालाई सफल पार्न सैन्य बलको प्रयोग गरे।”
माबो र 'टेरा नलिस'मा आएको परिवर्तन
सन् १९९० को प्रारम्भमा माबो निर्णय मार्फत 'टेरा नलिस'को घोषणालाई कानूनी रूपमा चुनौती दिइएपछि मात्र 'फ्रन्टीयर वार्स'लाई स्वीकार गर्न थालिएको मानिन्छ।
“त्यो समयसम्म एबोरजीनल समुदायको यो भूमिमा स्वामित्व छैन भन्ने ठानिन्थ्यो र कानूनी रूपमा अधिकार नभएकाले उनीहरूको लडाई स्वामित्व पाउनका लागि हो भन्ने कुरा स्विकारीइएन्, तर १९९२ को निर्णय पछि भने यो युद्ध, सधैँ झैँ जमिनको स्वामित्वका लागि थियो भन्ने प्रस्ट भयो,” प्राध्यापक रेनल्ड्स भन्छन्।

डाक्टर क्लेमन्ट्स बेलायती साम्राज्यले अस्ट्रेलियाली आदिबासीहरुलाई मान्यता नदिनु ऐतिहासिक विसङ्गतिका रूपमा लिन्छन्।
“अन्य मुलुकमा साम्राज्य फैलाउँदा जस्तो यहाँ भएन , यहाँका स्थानीय मानिसहरूसँग न त कुनै सम्झौता भयो, न त वार्ताको कुनै प्रयास नै भयो, त्यसैले आजसम्म पनि उनीहरूको कानूनी अधिकार के हो भनेर जान्न उनीहरू सर्घष गरिरहेका छन्।”
र त्यो वार्ताको असफलताले क्रूर रक्तपात निम्त्यायो।
औपनिवेशिक अभिलेख र विज्ञहरूको टोलीको अध्ययनले क्रममा द्वन्द्वको भयावह अवस्था रहेको पाएका छन्।
नेशनल म्युजियम अस्ट्रेलियामा मात्रै ४०० भन्दा बढी अवशेषहरू राखिएका छन्, जहाँ धेरैको मृत्यु नरसंहारबाट भएको देखिन्छ।
रचेल पार्किन्स नरसंहारबाट बाचेका वंशजहरूले त्यो कहिल्यै नभुल्ने बताउँछिन्।
धेरै आदिवासीहरूले त्यो इतिहासलाई बोकेर हिँडेका छन्, आदिवासी परिवारलाई के गरिएको थियो भनेर वास्तविकताहरू भनिएका छन्, म क्वीन्सल्यान्डमा भएको नरसंहारको घटनाका बारेमा जानकार रहेर हुर्किएकी हु, मलाई मेरी हजुरआमा बलात्कृत भएको घटना पनि थाहा छरचेल पर्किन्स
द ब्ल्याक वार
टास्मेनियामा सन् १८२४ देखि १८३१ सम्म भएको ब्ल्याक वारलाई फ्रन्टीयर युद्धको दौरान भएको क्रूर द्वन्द्वका रूपमा याद गरिन्छ।
"ब्ल्याक वारको दौरान मारिएका टास्मेनियालीहरुको सङ्ख्या कोरिया, मलेसिया, इन्डोनेसिया, भियतनाम र शान्ति स्थापनाका बेला मारिएका एकमुस्ट टास्मेनियालीहरुको भन्दा बढी छ," रचेलले दि अस्ट्रेलियन वार्स सिरिजमा भनेकी छन्।
डाक्टर निकोलस क्लेमेन्ट्स दुवै पक्षबाट हिंसाको स्तर निकै तीव्र र डरलाग्दो भएको बताउँछन्।

“त्यहाँ सबैलाई थाहा थियो कि यदि कोही व्यक्ति एबोरजीनलका कारणा मारिएको वा घाइते भएको छ भने, उसको जमिनमा आगो लगाइएको थियो, यो निकै त्रासदीपूर्ण थियो,” उनले भने।
“तर युरोपेलीहरू विजयी भएर टास्मेनियालीहरुलाई नष्ट गरी छाडे।”
यौन हिंसाका कारण पनि द्वन्द्व चर्किएको उनको भनाई छ।
“यौन हिंसा हुन थालेपछि, द्वन्द्व झनै चर्किर्यो,” डाक्टर क्लेमन्ड्स थप्छन्।
त्यतिबेला एबोरजीनल महिलाहरूको अपहरण र बलात्कार निकै सामान्य रहेको उनको भनाई छ।
“टास्मेनियामा एबोरजीनल समुदायको सङ्ख्या निकै सानो छ, किनकि हिंसाद्धारा उनीहरूलाई सखाप पारिएको थियो,” उनले भने।

आगोसँग आगोको लडाइ
एबोरजिनल समुदायसँग भिड्नका लागि बेलायतीहरूले स्थानीय जातीका प्रहरीहरूको निर्माण गरेका थिए, उनीहरूलाई सैन्य तालिम दिइएको थियो र उनीहरू मानिसहरूमा त्रास पैदा गर्नका लागि प्रयोग हुन्थे।
“स्थानीय सिपाहीहरू खडा भए, र तिनीहरूलाई सैन्य बलका रूपमा प्रयोग गरियो र निःसन्देह आदीबासीसँग लड्नका लागि यो नै प्रमुख शक्ति बन्यो,” रेनाल्ड्स भन्छन्।
ती मानिसहरूलाई बन्दुक, पोसाक र घोडाहरू दिइए र गोराहरूले उनीहरूलाई एबोरजिनल ज्ञान र सिपको विरुद्धमा लड्न लगाए।

“क्वीन्सल्याण्डमा मात्र दशौँ हजार मानिसहरू नेटिभ प्रहरीको हातबाट मारिएका छन्, यो सङ्ख्या ६० देखि ८० हजारसम्म पुग्न सक्छ, यसले घिनलाग्दो कार्यमा नैतिक बादल खडा गरिदिन्छ, उनले भने।”
यो सब तथ्य रचेलले अस्ट्रेलियन वार्स डकुमेन्ट्री बनाउँदा राखेकी छन्।
“मैले मेरी हजुरआमाले आफ्नी आमाको परिवारको नरसंहारका बारेमा पहिले कहिल्यै नसुनेका कुराको रेर्कडिङ्ग सुनेकी छु, र मैले यो डकुमेन्ट्री निर्माण नगरुन्जेल मलाई न त्यो स्थान कहाँ छ भन्ने थाहा थियो न म कहिल्यै त्यहाँ गएको थिए,” उनले भनिन्।

बेलायती पुष्टभुमीका डाक्टर क्लेमेन्ट विश्वास गर्छन् कि लाजका भावनाहरूलाई हटाउनु पर्छ र अन्याय माथि प्रकाश पारिनु पर्छ।
“कसैका पुस्ता यसमा संलग्न भए नभए पनि हामीले सबैले यस इतिहासलाई अनावरण गर्न र सकारात्मक भविष्यका लागि भूमिका खेल्नुपर्छ,”

यो इतिहासलाई किन स्मरण गरिँदैन?
आफ्ना धेरै स्मारकहरूमा युद्धमा मारिएका आफ्ना सेनाका बारेमा उल्लेख गर्ने अस्ट्रेलियाले फ्रन्टीयर युद्धलाई मानवता विरुद्धमा भएको युद्धका रूपमा स्वीकार गर्नु पर्ने प्राध्यापक रेनाल्ड्स बताउँछन्।
“यसलाई कसरी अस्ट्रेलियाली युद्धका रूपमा लिन सकिन्न?” उनी प्रश्न गर्छन्।
“अमेरिकामा त यस्तो छैन, त्यहाँको द्धन्द्धलाई युद्धका रूपमा स्वीकार गरिएको छ, न्युजील्याण्डमा पनि मावरी युद्धलाई इतिहासको महत्त्वपूर्ण स्थान दिइएको छ।”
राचेल पार्किन्स यसको उत्तर सहज भएको बताउँछिन्।
“अस्ट्रेलिया यस्तो नमुना देश हुन पुग्यो जहाँ औपनिबेशीहरु कहिल्यै छाडेर गएनन्,” उनले बताइन्।
“औपनिबेशका क्रममा यहाँ आएका वा उनीहरूसँग आएकाहरू सधैँ शक्तिमा रही रहे, त्यसैले मलाई लाग्छ कि देशको रक्षा गर्नेहरूलाई स्वीकार गर्नलाई गार्हो छ।”
'लेस्ट वि फर्गट'को शब्दावलीमा बेलायती साम्राज्यवादका विरुद्धमा आफ्नो जमिनको रक्षार्थ लडेका मानिसहरूलाई पनि समेटिनु पर्ने डाक्टर क्लेमन्ट्स बताउँछन्।
“मेरो देशले आफ्नो विगत, आफ्ना पूर्वजहरूको गल्तीलाई साहसका साथ स्वीकार गर्यो र भविष्यमा ती गल्तीहरू क्षमताले भ्याएसम्म सच्याउने पूर्ण रूपमा प्रतिबद्ध बने मलाई धेरै गर्वको महसुस हुनेछ।”
दि अस्ट्रेलियन वार्स, बुधवार २१ सेप्टेम्बर ७:३० बजे एसबीएस र एनआइटिभी मार्फत प्रिमीयर गरिनेछ।
एसबीएस अन डिमान्ड मार्फत सिप्लीफाइड चाइनिज, अरबिक, ट्रेडिसनल चाइनिज, भियतनामी र कोरियन भाषामा उपलब्ध हुनेछ।
आँखा कमजाेर वा आँखा नदेख्नेहरुका लागि अडीयोका रूपमा पनि उपलब्ध छ।




