आइतबार ८ मार्च मेलबर्न सहरको केन्द्रबिन्दु - फेडेरेसन स्क्वेर स्थित दी प्याडक भनिने खुला चौरमा हुने साङ्गीतिक जात्रा नाम दिईएको एक मनोरन्जनात्मक सामुदायिक कार्यक्रमले यस वर्ष मेलबर्नलाई होलिमय बनाई राख्न मद्दत गर्ने विश्वास उक्त कार्यक्रमका आयोजकहरूले लिएका छन्।
साङ्गीतिक जात्रा आयोजना गर्ने एस इभेन्ट्स एण्ड मल्टिमिडियाका सुनोद श्रेष्ठले मेलबर्न सहर एवं भिक्टोरिया राज्यका विभिन्न अधिकारीहरूसँग आफूहरूले समन्वय गरिरहेको र हालसम्म उनीहरुले आफ्नो कार्यक्रम रद्द गर्नुपर्ने कुनै कारण नरहेको कारण पुर्वनिर्धारित रुपमै उक्त कार्यक्रम संचालन भनेको एसबीएस नेपालीलाई बताएका छन्।

"हामीलाई स्थान उपलब्ध गराउने फेड स्क्वेर लगायत कार्यक्रम साझेदार रहेको मेलबर्न सिटी काउन्सिलसँग के गर्न सकिन्छ भनेर बुझिरहेका छौँ। उहाँहरू लगायत सबै अधिकारीहरूले हाललाई सेड्युल अनुसार नै प्रोग्राम गर्न भन्नुभएको छ," श्रेष्ठले भने।
"कोरोनाभाइरसका कारण हामीले पहिले अपेक्षा गरेभन्दा केही कम सङ्ख्यामा मानिसहरुको उपस्थीती होला तर हामी आयोजक लगायत सबै सरोकारवालाहरूले कार्यक्रममा आउने सबैलाई सावधानी पुर्वक मनोरन्जन दिने कुरामा ख्याल नै राख्नेछौँ।"

पछिल्लो समयमा बिकसित भएको घटनाक्रम अघि भने, भारतीय उपमहाद्वीपबाट आएका र यहीँ बसोबास गर्दै आएका स्थानीयले पनि बडो हर्षोल्लासका साथ “फेस्टिभल अफ कलर्स” भनेर मनाउने चाड भएकाले आफ्नो कार्यक्रममा निकै सहभागी हुने आयोजकहरूको भनाई छ।
होली र सङ्गीतको अनुपम मिश्रण
करिब एक दशक अगाडी “इन्डोर इभेन्ट” गर्दादेखि कै नामलाई निरन्तरता दिँदै पाँचौँ संस्करणसम्म आइपुगेको साङ्गीतिक जात्रामा यसपालि केही स्थानीय डिजेहरूको उपस्थिति हुने बताइएको छ भने नेपालबाट आएका पछिल्लो पुस्तालाई आकर्षित गर्न नितेशजङ्ग कुँवरलाई निम्त्याइएको श्रेष्ठका सहकर्मी विमल नेपालले एसबीएस नेपालीलाई बताए।

सुनोद श्रेष्ठका अनुसार दोस्रो संस्करण आयोजना गर्दासम्म खासै मेलबर्नमा नेपालीहरूले सामुदायिक रूपमा आउट डोर होली सामुदायिक रूपमा मनाउँदैन थिए।
“होली इभेन्ट भनेर आयोजना भएको देखेको थिइन - मेलबर्नमा - अनि लेट्स डू अ होली फेस्टिभल त भन्यौँ तर होली मात्र आयोजना गरेर मान्छेहरूलाई कत्तिको इन्ज्योयमेन्ट (हुन्छ?) … फेरी त्यो बेला २०१४ तिर हाम्रो क्मयुनिटिमा डिजे पनि थिएन … अनि हामी नेपालीहरू आफ्नो म्युजिकलाई असाध्यै मन पराउँछौँ - त्यस कारण लेट्स डु आउटडोर्स विथ म्युजिक भनेर, श्रेष्ठले भने।

आफैँ पनि एक विद्यार्थी नै रहेका सुशान्त पौडेल, आफूहरूले आयोजना गर्न लागेको उक्त विशेष साङ्गीतिक प्रस्तुतिहरू सहितको कार्यक्रमबाट, मेलबर्नमा रहेका असङ्ख्य अन्य नेपाली छात्रछात्राहरूलाई होलीको बहानामा आफ्नो सबै पिर मर्का बिसाएर एकै छिन भए पनि घरमै साथीभाइसँगै बसेर रमाइलो गर्न अवसर प्रदान पाइने दाबी गर्छन्।
“अब होली भनेको त हाम्रो नेपालमा परम्परादेखि चलिआएको हो, अहिले नेपालबाट म्याक्सिमम स्टुडेन्ट्स यहाँ आएको भएर पनि त्यो कल्चरलाई हामीले यहाँ अपनाउन पनि एउटा ठाउँ लिएको छौँ,” उनले भने।

उहाँहरू नेपाल हुँदा होलीको अनुभव लगायत साङ्गीतिक जात्राका विविध पक्ष बारे गरिएको कुराकानी सुन्न तलको मिडिया प्लयेरमा प्ले बटन थिच्नुहोस्:
कार्यक्रम हुने स्थान:
यस अघि, आज शनिवार मेलबर्नको कोबर्गमा हुने भनिएको मधेसी कम्युनिटी इन भिक्टोरियाको होली कार्यक्रम अन्तिम समयमा आएर हाललाई रद्द गरिएको थियो।




