मुख्य बुँदाहरू
- आपतकालिन अवस्थामा प्रतिक्रिया जनाउन प्राथमिक उपचार प्रमुख कदम हुन्छ
- सीपीआर तालिम र प्राथमिक उपचार तालिममा समावेश भएका विषयहरूले अस्ट्रेलियाको यस सम्बन्धी उच्च निकायको निर्देशिकाको पालना गर्नु पर्छ
- तालिमका विकल्पहरू यसको अवधि, ढाँचा, समावेश भएका पाठ्यक्रम र मान्यताको हिसाबले फरक हुन्छन्
विश्वमै निकै कम प्राथमिक उपचार तालिम लिने राष्ट्रहरूमा अस्ट्रेलिया पनि परेको सन् २०१७ मा रेड क्रस अस्ट्रेलियाले पाएको थियो।
वार्षिक ५ लाख बढी घाइते मानिसहरू उपचारका लागि अस्पतालमा भर्ना हुने गरेको र त्यसमध्ये ६० हजार बालबालिका रहेको तथ्याङ्क रहे तापनि अस्ट्रेलियामा यस्तो तालिम लिनेहरूको दर न्यून रहेको हो।
रोयल लाइफ सेभिङ्ग सोसाइटीको प्रक्षेपणका अनुसार, औसतमा प्रत्येक दिन २० अस्ट्रेलियालीहरूले हृदयाघातका कारण ज्यान गुमाउने गरेका छन्।
साथै यसले ६०% चोटपटक लागेका घटनाहरू घरमा हुने गरेको पाएको छ।

कार्यक्षेत्रमा आइपर्ने आपतकालिन अवस्थामा प्राथमिक उपचार गर्न तीन कर्मचारी मध्ये एक जना भन्दा कम मात्रलाई आत्मविश्वास भएको पाइएको छ।
बक रीड २० वर्ष भन्दा लामो समय देखि पारामेडिकका रूपमा कार्यरत छन्। साथै उनिले वेस्टर्न सिड्नी युनिभर्सिटीमा अध्यापन पनि गराउँदै आएका छन्।
धेरै मानिसहरूले प्राथमिक उपचारको तालिम आफूलाई नपर्दासम्म नलिने गरेको भए पनि यो तालिम लिँदाका धेरै फाइदाहरू भएको उनको भनाइ छ।
उनका अनुसार प्राथमिक उपचारको तालिम लिएका मानिसहरूमा ज्यान जोगाउने आधारभूत सिप विकास हुन्छ।
साथै यसले उनीहरूलाई आपतकालिन अवस्थामा के गर्ने भन्नेबारे मानसिक रूपमा तयार पार्नुका साथै प्रतिक्रियाका लागि आत्मविश्वास प्रदान गर्दछ।
प्राथमिक उपचारको तालिम सहयोग नआइपुग्दा सम्मका लागि केन्द्रित हुन्छ। र जति अगाडी तयार भयो त्यति प्रभावकारी हुन्छ।बक रीड, वेस्टर्न सिड्नी युनिभर्सिटी
"पक्कै पनि, यदि कोही निकै गम्भीर बिरामी छ वा घाइते भएको छ भने हामी पारामेडिक्स नआउँदासम्म मानिसहरूले घटना भएको बेला देखि नै केही गरुन् भन्ने चाहन्छौँ।"
तालिम प्रदायक छनौट
पाठ्यक्रममा राखिएका विषयहरूले कार्डियोपल्मोनरी रिससिटेसन वा सीपीआर कसरी गर्ने र डिफाईब्रिलेटरको प्रयोग कसरी गर्ने भनेर सिकाउँछ।
हृदयाघात भएका व्यक्तिहरूको सहयोग गर्दा उनीहरूको जीवन रक्षा गर्ने सम्भावना राख्ने भएकाले यी दुई कार्यहरू धेरै महत्त्वपूर्ण छन्।

रीड भन्छन् सीपीआर तालिम अस्ट्रेलियन रिससिटेसन काउन्सिल (एआरसी)द्वारा जारी गरिएको प्रक्रिया अनुरूप नै गरिनु पर्छ।
एआरसी प्राथमिक उपचारको राम्रो अभ्यास भएको नियमन गर्ने उच्च निकाय हो।
यस अन्तर्गत झन्डै २० सदस्य संस्थाहरू रहेका छन्।
जसमध्ये कलेज अफ इमर्जेन्सी मेडिसिन, काउन्सिल अफ एम्बुलेन्स अथोरिटी र रोयल लाइफ सेभिङ्ग पर्दछन्।
"एआरसीको निर्देशिकाले विभिन्न प्रकारका प्राथमिक उपचारद्वारा गरिएका कार्यहरूको उत्कृष्ट प्रमाणहरू प्रस्तुत गर्दछ… त्यसैले, मानिसहरूले यस्तो पाठ्यक्रम खोज्नु पर्दछ जुन एआरसीको सुझावसँग मिल्दो होस्।"
डा फिन्ले म्याक्निल अस्ट्रेलियाली र न्यु जिल्यान्ड रिससिटेसन काउन्सिलका प्राथमिक उपचार सम्बन्धी उप-समितिका संयोजक हुन्।

सेन्ट जोन एम्बुलेन्सका सदस्य समेत रहेका डा म्याक्निल भन्छन् प्राथमिक उपचारको तालिम दिने संस्थाहरू धेरैको सङ्ख्यामा रहेका छन्। जसमध्ये रेड क्रस, सर्फ लाइफ सेभिङ्ग र रोयल लाइफ सेभिङ्ग पनि रहेका छन्।
केही राज्य तथा प्रदेशहरूमा त्यस्ता पाठ्यक्रमहरू एम्बुलेन्स सेवाहरूमा पनि उपलब्ध रहेको र केही निजी प्रदायकहरू पनि रहेको उनको भनाइ छ।
"कुनै पनि निजी प्रदायकहरू, प्राथमिक उपचार अध्यापन गराउने त्यस्ता संस्थाहरू तालिम प्रदान गर्ने संस्था वा आरटीओका रूपमा दर्ता हुन्छन् - उनीहरूबाट तालिम लिनु मान्य छनौट हुन्छ।" डा म्याक्निल बताउँछन्।
सही पाठ्यक्रम छनौट
धेरै प्राथमिक उपचारका विषयवस्तु प्रत्यक्ष उपस्थितिमा नै सिकाइन्छ भने केही अनलाइन पनि हुन्छन्।

डेब लो रेड क्रस ब्रिसबेनमा प्राथमिक उपचारको क्षेत्रीय प्रमुखका रूपमा काम गर्छिन्।
र उनी भन्छिन्, मिश्रित तरिकाबाट तालिम दिने विकल्पहरूले मानिसहरूको आवश्यकता अनुरूपको सिकाई प्रदान गर्दछ।
"यसबाट तपाईंले आफ्नै गतिमा र आफ्नै समयमा गर्न पाउनुहुन्छ... साथै यसबाट केही समयपछि त्यहाँ भएका जानकारीहरू फेरी पढ्न र हेर्न सकिन्छ।"
अभिभावक वा स्याहारकर्ताहरूलाई बच्चा र बालबालिकाहरूका लागि प्राथमिक उपचार गर्ने विशेष पाठ्यक्रमहरूको विकल्प रहेको लोको भनाई छ।
सामान्यतया यी पाठ्यक्रमहरूले समावेश गर्ने विषयहरू:
- प्राथमिक उपचार र बच्चा/शिशुका लागि सीपीआर
- घरमा सुरक्षा, जोखिम न्यूनीकरण र
- स्वास्थ्यसँग सम्बन्धित अवस्थाहरूमा प्रतिक्रिया जनाउने तरिका जस्तै श्वासप्रश्वासमा बाधा, दम, एलर्जीहरू, रक्तस्राव

अस्ट्रेलियामा प्राथमिक उपचारको योग्यतालाई प्रत्येक तीन वर्षमा नवीकरण गर्नु पर्छ।
र सीपीआर तालिमका लागि प्रत्येक वर्ष पुनः तालिम लिन सुझाइएको छ।
सीपीआर गर्ने क्षमता अन्तिम पटक प्रयोग गरेपछि समय बितेसँगै कम हुँदै जान्छ।
प्राथमिक उपचारको तालिम अवधि फरक हुन्छन्। कुनै तालिम केही घण्टाको हुन्छन् भने कुनै केही दिनको।
केही राष्ट्रिय रूपमा नै मान्यताप्राप्त हुन्छन् भने केही हुँदैनन्।
त्यस्तै केही पाठ्यक्रम कार्यालय भित्रका लागि उचित छन् केही भने कार्यालय बाहिरका लागि।

रीड भन्छन् तालिम लिनेहरू र कार्यक्षेत्रहरूले आफ्नो आवश्यकता सुहाउँदो पाठ्यक्रम छानेको सुनिश्चित गर्नु पर्दछ।
मान्यताप्राप्त पाठ्यक्रम बाहेक पनि धेरै गैर-नाफामूलक सामुदायिक संस्था तथा एम्बुलेन्स सेवाहरूले निःशुल्क प्राथमिक उपचार तालिम प्रदान गर्दछन्।
रीड उपलब्ध रहेका विकल्पहरूलाई ध्यानमा राख्न सुझाव दिन्छन्।
थप जानकारी:
स्वास्थ्य सुझाव तथा प्राथमिक उपचार सम्बन्धी जानकारीका लागि healthdirect.gov.au मा जानुहोस्
अस्ट्रेलियन रेड क्रसको प्राथमिक उपचार र सीपीआर कसरी गर्ने भने निर्देशिका समावेश गरिएको निःशुल्क एप रहेको छ
सेन्ट जोन्स एम्बुलेन्ससँग सामान्य आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने आधारभूत प्राथमिक उपचार गर्ने तरिकाहरू राखिएको डाउनलोड गर्न मिल्ने सामाग्रीहरू रहेका छन्।
विभिन्न उमेर समूहका (babies, toddlers, pre-schoolers, school-age children) बालबालिकाहरूको लागि दिन सकिने प्राथमिक उपचारबारे रेजिङ्ग चिल्ड्रेन नेटवर्कले जानकारीहरू राखेको छ।
आपतकालिन अवस्थामा तीन शून्य (०००)मा फोन गर्नुहोस् र एम्बुलेन्सका लागि आग्रह गर्नुहोस्। फोनमा कुरा गरेको व्यक्तिले पनि तपाइलाई प्राथमिक उपचार दिन सहयोग गर्नेछन्।




