Key Points
- आदिवासी अस्ट्रेलियनहरूसँग सांस्कृतिक शिष्टाचारको हजारौँ वर्ष पुरानो इतिहास छ।
- एल्डर भनेका आदिवासी समुदायका सम्मानित सदस्यहरू हुन्।
- उनीसँग आफ्नो संस्कृतिको गहिरो ज्ञान हुन्छ।
- प्रोटोकलहरूको बारेमा सम्मानपूर्वक प्रश्नहरू सोध्न नडराउनुहोस्।
नैतिक सिद्धान्तहरूमा आधारित आदिवासी सांस्कृतिक प्रोटोकलहरूले एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूसँगको हाम्रो कार्यगत एवम् व्यक्तिगत सम्बन्धहरूलाई आकार दिन्छन्।
उनीहरू अस्ट्रेलियाका प्रथम बासिन्दा भएका हुनाले यी सम्बन्धहरूलाई मलजल गर्नु थप जरुरी छ।
एबोरिजिनल तथा टोेरेस स्ट्रेट आइल्यान्डर मानिसहरूसँग अस्ट्रेलियाको भूमिको एकदमै राम्रो ज्ञान छ र यसै कारण पनि उनीहरूले यहाँको वातावरणलाई हेरचाह कसरी गर्न सकिन्छ भनेर हामीलाई राम्ररी सिकाउन सक्छन्।

क्यारोलाइन ह्युज्स एसीटी र आसपासको क्षेत्रलाई आफ्नो भूमि मान्ने नन्नावाल समुदायकी अग्रज हुन्।
आदिवासी समुदायकी एक ज्येष्ठ सदस्य हुनुका साथै आफ्नो संस्कृतिको गहिरो ज्ञानका लागि उनलाई उच्च सम्मानका साथ हेरिन्छ।
रोढा रोबर्ट्स एसबीएसकी एल्डर इन रेसिडेन्स वा आवासीय ज्येष्ठ सदस्या हुन् जसले एसबीएसलाई आदिवासी मामिलाबारे जानकारी, ज्ञान अनि सल्लाह, सुझाव र राय दिएर मद्दत गर्छिन्।
उनी भन्छिन् कि सांस्कृतिक प्रोटोकलहरू पालना गर्दा हामीले आदिवासीहरूको जमिनसँग र उनीहरूका परापूर्वकालदेखि चली आएका रीतिरिवाजहरूसँग अटुट नाता रहेको स्वीकार गरिरहेका हुन्छौँ।
Stream free On Demand
Elder In Residence Oration 2023
program • Special • 2023
PG
program • Special • 2023
PG
आदिवासी अस्ट्रेलियनहरूलाई कसरी सम्बोधन गर्ने?
आदिवासी अस्ट्रेलियनले एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मानिसहरू दुवैलाई जनाउँछ।
तर, एबोरिजिनल मानिसहरूले आफैलाई चिनाउँदा चाहिँ आफ्नो परिचय थप पहिचान खुल्ने गरी गर्छन्।
जस्तो कि क्यारोलाइन ह्युज्सले आफूलाई नन्नावल महिला भनेर चिनाउँछिन्।
यसै गरेर, न्यु साउथ वेल्स वा भिक्टोरियाका कसैलाई चिनाउनु पर्यो भने ‘कूरी’ भनेर चिनाइन्छ भने क्वीन्सल्यान्डकालाई ‘मर्री’ अनि टास्मेनियाका एबोरिजिनलहरूलाई ‘पलावा’ भनिने गरिन्छ।
दुई प्रमुख आदिवासी समूहरू

टोरेस स्ट्रेट आइल्यान्डर्स भनेर चाहिँ अस्ट्रेलियाको पूर्वोत्तरमा पर्ने क्विन्सल्यान्डको चुच्चो भाग वा केप योर्क पेनिनसुला भनिने केप योर्क प्रायद्वीप र पापुवा न्यु गिनीको बिचमा रहेका टापुहरूमा बसोबास गर्ने मेलानेसियन वंशका मानिसहरूलाई चिनिन्छ।
थोमस मेयो एक टोेरेस स्ट्रेट आइल्यान्डर हुनुका साथै मेरीटाइम युनियन अफ अस्ट्रेलिया भनिने अस्ट्रेलियाको सामुद्रिक युनियनका सहायक राष्ट्रिय सचिव पनि हुन्।
उनी भन्छन् कि आदिवासीहरू सबैको आ-आफ्नै किसिमका संस्कृति छन्।
आदर गर्ने भाषाको प्रयोग
अनि, अस्ट्रेलियामा यी विल्कुलै फरक आदिवासी समूहहरूको पहिचान स्वरूप, राष्ट्रिय झण्डाको साथ एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर दुवैका झण्डाहरू पनि फहराउने गरिन्छ।
क्यारोलिन ह्युज्स भन्छिन् कि ‘आदिवासी’, ‘एबोरिजिनल’, ‘टोरेस स्ट्रेट आइल्यान्डर’ र ‘कन्ट्री’ जस्ता शब्दहरूलाई प्रपर नाउन वा उचित संज्ञाका रूपमा मान्यता दिन अङ्ग्रेजीमा क्यापिटल लेटर वा ठुला अक्षरबाट लेख्न सुरु गरिन्छ।
अनि यस्ता शब्दहरू छोट्ट्याउन नहुने पनि उनको भनाई छ।
अनि, ‘कस्टोडियन’ र ‘एल्डर’ जस्ता शब्द पनि प्रपर नाउन नै हुन्।
को हुन् ‘एल्डर’
यस बारे एबोरिजिनल एल्डर रोढा रोबर्ट्स भन्छिन् कि परम्परागत रूपमा एल्डर्स भनेका समुदायका ज्ञानी र पाका सदस्यहरू हुन् जो अरूको ख्याल राख्छन्।
आदिवासी मानिसहरू एल्डरहरूलाई सम्मान दर्शाउन उनीहरूलाई ‘आन्टी’ र ‘अङ्कल’ भनेर बोलाउने गर्छन्।
गैर-आदिवासी मानिसहरूले पनि यसरी सम्बोधन गर्ने हो भने, पहिले उनीहरूसँग यसबारे सोध्न सकिन्छ।
अस्ट्रेलियामा एल्डरहरूलाई प्राय: ‘वेलकम टु कन्ट्री’ का लागि अनुरोध गरिने चलन छ।
के हो ‘वेलकम टु कन्ट्री’

सन् १९८० को दशकमा रोढा रोबर्ट्सद्वारा नामाकरण गरिएको ‘वेलकम टु कन्ट्री’ कुनै पनि कार्यक्रमको उद्घाटन हुँदा गरिने परम्परागत स्वागत हो।
वेलकम टु कन्ट्रीले इतिहासलाई सम्मान गर्छ।
अनि वेलकम टु कन्ट्री एक वक्तव्य, नाच वा स्मोकिङ सेरोमनी भनिने इयुकेलिप्ट्स बोटका पात वा हाँगाबिँगा बाल्दै, आशीर्वचन दिँदै धुवाँ फैलाइने एक विशेष समारोह कुनैको पनि रूपमा हुन सक्छ।
यसै गरी, ‘एक्नोलेजमेन्ट अफ कन्ट्री’ चाहिँ महत्त्वपूर्ण बैठक बस्दा आदिवासीहरूको सम्मानमा वाचन गरिने पङ्क्तिहरू हुन्।
अनुपयुक्त भाषा
क्यारोलिन ह्युज्सका अनुसार आदिवासी मानिसहरूको पृष्ठभूमि बारे प्रश्न उठाउँदा, उनीहरूले भोगेका ऐतिहासिक ट्रमा वा घाउहरूलाई पनि मान्यता दिइनुपर्छ।
तर थोमस मेयो भन्छन् कि सांस्कृतिक चालचलन बारे जान्न र बुझ्न खोज्दा आदरपूर्वक प्रश्नहरू सोध्न डराउनु पर्दैन।
अनि, एसबीएसकी एल्डर इन रेसिडेन्स रोढा रोबर्ट्स भन्छिन् कि सांस्कृतिक नियमहरू जता गए पनि एकै किसिमका हुन्छन् किनकि वास्तव यस्ता प्रोटोकलहरूले एउटा मान्छेले अर्कोलाई आदर, सम्मान, माया गर्न सिकाउँछन्।
This content was first published in May 2022.









