अस्ट्रेलियामै पहिलो पटक आयोजना हुन लागेको पुरातनवादी राजनीति सम्बन्धी सम्मेलनमा एक ब्रिटिस नागरिकको सहभागितालाई लिएर उक्त बहस सुरु भएको हो।
अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटका साथै ब्रेक्जिट अभियन्ता एवं ब्रिटिस राजनीतिज्ञ नाइजेल फराजको पनि उपस्थिति रहने उक्त सम्मेलनमा ती विवादास्पद व्यक्ति रहीम कासमको सहभागिता हुने भनिएपछी एकाएक अस्ट्रेलियन राजनीति गर्माएको छ।
कन्सर्भेटिभ पलिटिकल एक्सन कन्फरेन्स वा छोटकरीमा सी-प्याक भनेर पनि चिनिने उक्त सम्मेलनमा पुरातनवादी वा रुढीवादी राजनीतिज्ञ तथा समर्थकहरूको सहभागिता हुने गरेको छ।
संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त सम्मेलनमा हजारौँ मानिसहरूको उपस्थिति रहने बताइँदै गर्दा अस्ट्रेलियामा भने उक्त सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो।
आगामी अगस्ट ९ देखि ११ तारिखसम्म सिड्नीमा उक्त सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनमा ब्रिटिस राजनीतिक सल्लाहकार कासमको उपस्थिति माथि अहिले सङ्घीय लेबर पार्टीले चिन्ता व्यक्त गरेको छ।
संसद्को माथिल्लो सदनलाई सम्बोधन गर्दै लेबरकी गृह मामिला प्रवक्ता क्रिस्टिना कनेलीले सम्मेलनमा सहभागी हुने भनिएका “कट्टरपन्थीहरू”लाई अस्ट्रेलिया प्रवेश गर्ने अनुमति नदिन माग गरेकी थिइन्।
महिला, समलिङ्गी, यहुदी र मुसलमान लगायतका समुदायहरू बारे चरम दक्षिणपन्थी विचार व्यक्तगर्नेहरु सिड्नी सम्मेलनमा सहभागी हुन लागेको उनले बताइन।

سناتور کریستینا کنیلی، وزیر سایه حزب کارگر در امور داخله Source: AAP
कसाम भन्ने ब्रिटिस राजनीतिज्ञ नाइजेल फराजका पूर्व सल्लाहकार पनि हुन् र उनले मुसलमान धार्मिक ग्रन्थ कुरानलाई दुष्ट भनेर व्याख्या गरेको लगायतका उदाहरणहरू सिनेटर कनेलीले संसद् समक्ष प्रस्तुत गरेकी थिइन।
यस कारण पनि, कसामको चरित्रको आधारमा, उनलाई अस्ट्रेलिया प्रवेशका निमित्त आवश्यक पर्ने भिसा नदिन सरकार समक्ष ती लेबर सभासदले आग्रह गरिन।
लेबरको उक्त प्रस्ताव बारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै रहिम कसामले भने कनेलीद्वारा आफ्नो मानहानि भएको आरोप लगाउँदै मुद्दाको डरले कनेलीले संसद्को सहारामा आफूबारे गलत जानकारी दिएको बताए।
आफूलाई खुला व्यापार, पुँजीवादी गैर सरकारी संस्थाको रूपमा वर्णन गर्ने लिबर्टी वर्क्स नामक संस्थाद्वारा आगामी हप्ता सिड्नीमा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो।
लिबर्टी वर्क्सका संस्थापक एन्ड्रु कूपरले रहिम कसामको सम्मेलनमा हुने भनिएको उपस्थितिलाई बचाऊ गर्दै, ती विवादास्पद छवि भएका सल्लाहकारले युरोपेली युनियन बाट बाहिरिने ब्रिटेनको निर्णयबारे केही रोचक जानकारी प्रस्तुत गर्नेमा जोड दिए।
गए केही समय यता, सङ्घीय सरकारले केही अन्य विवादास्पद व्यक्तिहरूको अस्ट्रेलियन भिसा रद्द गरिसकेको छ।
ती मध्ये दक्षिणपन्थी अभियन्ता माइलो यानोपुलोस, षड्यन्त्र सिधान्त प्रचारक डेभिड आइक र महिला र समलिङ्गी विरोधी मानिने प्राउड ब्वाइज नामक समूहका संस्थापक ग्याभिन मक्इन्निजको अस्ट्रेलियन भिसा रद्द भएका छन्।
तर कसामको उपस्थिति बारे चाहिँ सरकारले प्रतक्ष्य प्रतिक्रिया अहिलेसम्म दिएको छैन।
संसद्को माथिल्लो सदनमा सरकारको नेतृत्व गरिरहेका मथियास कोर्म्यानले चाहिँ अस्ट्रेलिया प्रवेश गर्न चाहनेहरुले देशको अध्यागमन कानुन बमोजिम चरित्र मापदण्ड पूरा गर्न अनिवार्य रहेको बताएका छन्।
वर्तमान लिबरल पार्टी सांसद एमाण्डा स्टोकर र क्रेग केलीका साथै पूर्व लिबरल उम्मेदवार वारेन मनडिन एवं जसिण्टा प्राइसको पनि सी-प्याक सम्मेलनमा उपस्थिति रहने बताइएको छ।
तर लेबर सभासद् पेनी वाङले चाहिँ लिबरल पार्टी संसदहरु उक्त कार्यक्रममा उपस्थित नभएको सुनिश्चित गर्न प्रधान मन्त्री समक्ष माग गरेकी छन्।
सभासद् स्टोकरले चाहिँ सम्मेलनमा एक वक्ताको रूपमा हुने आफ्नो सहभागिताको बचाऊ गरेकी छन्।
राजनीतिज्ञहरूले सबै विचारधाराका मानिसहरूसँग अन्तरक्रिया गर्न जरुरी रहेको उनले बताइन।
मन्त्री कोर्म्यानले गए समयमा कसामका भनाइहरू अपमानजनक र घृणाका साथ आउने गरेको बताएका छन्।
तर त्यस्ता भनाइहरू राजनीतिज्ञहरूले आफ्ना निर्वाचन स्थलहरूमा नियमित रूपमा सुन्ने गरेको पनि उनले बताए।

US President Donald J. Trump hugs a US flag before speaking at the 46th annual Conservative Political Action Conference (CPAC). Source: AAP