Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

किन नमनाउने नेपाली भाषीले भुटानी राष्ट्रिय दिवस?

Bhutanese Flag Hoisting FED SQ MELB 2019

भुटानको ११२ औँ राष्ट्रिय दिवसमा नेपाली भाषीको नेतृत्वमा मेलबर्नमा झण्डोत्तलन समारोहमा परशुराम शर्मा लुइँटेल Source: आभास पराजुली/एसबीएस

अस्ट्रेलियामा रहेका नेपाली भाषीहरूले भुटानको राष्ट्रिय दिवस मनाउनु आवश्यक नरहेको केहीको धारणा रहेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा रहेका नेपाली भाषीहरूले भुटानको राष्ट्रिय दिवस मनाउनु आवश्यक नरहेको केहीको धारणा रहेको छ।


मङ्गलवार मेलबर्नमा भुटानको ११२ औँ राष्ट्रिय दिवसको अवसरमा नेपाली भाषी समुदायद्वारा झण्डोत्तलन समारोहको आयोजना गरिनु  औचित्यहीन रहेको बिचार व्यक्त गरेका छन् भुटानी पृष्ठभूमिकै कवि यति राज अजनबीले।

आफ्नो आधारभूत अधिकार पाउनु पर्ने आवाज उठाउँदा दमन गरिएको राष्ट्रको राष्ट्रिय दिवस यसरी मनाउन पर्छ भन्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।

"जीवन यापन गर्नको लागी चाहिने न्यूनतम आधारभूत अधिकारहरूको उपभोग गर्न पाउनु पर्छ भनेर हल्का आवाज उठाउँदा दमन गरियो हामीलाई, हामी देशबाट निष्कासित भयौँ। त्यो भएकोले गर्दा खेरि नै यो राष्ट्रिय दिवसको औचित्य म देख्दिन।"

Yati Raj Ajnabee_ Bhutanese National Day_ Nepali Speaking Community
भुटानी पृष्ठभूमिका कवि यति राज अजनबीले अष्ट्रेलियामा रहेका नेपाली भाषीहरूले भुटानको राष्ट्रिय दिवस मनाउनु आवश्यक नरहेको बिचार राखेका छन्। Source: Supplied

आफू भुटानबाट निष्कासित र दमन गरिएको परिवारको सदस्य भएको हिसाबले र वर्षौँ सम्म शरणार्थी शिविरमा रहँदाको मनोदशा भोगेको कारण सोही देशको राष्ट्रिय दिवस मनाउन नचाहेको बिचार उनले व्यक्त गरे।

साहित्य र सङ्गीतमा रुचि राख्ने यति राज अजनबीले भुटानको राष्ट्रिय दिवस मनाइएको सन्दर्भमा कविता समेत लेखेका छन्।

यसको विरोधमा अभियान चलाएको र समर्थनका लागी त्यो कविता नलेखेको भन्दै उनले यसलाई नितान्त आफ्नो बिचार बोकेको सिर्जना भनी व्याख्या गर्छन्।

र त्यो कविता लेखेकै आधारमा कसैले उनलाई किन यस्तो लेखेको भनेर प्रश्न पनि नउठाएको उनको भनाइ छ।

Bhutanese Flag Hoisting FED SQ MELB 2019
झण्डोत्तलन समारोहका सहभागीहरू सामुहिक तस्विर खिचाउँदै Source: आभास पराजुली/एसबीएस

'राष्ट्रिय दिवस' नामक कविताको छोटो अंश:

म त्यो आतेस लाग्दो विगत बिर्सिन सक्दिनँ

बिर्सेको जस्तो गर्न पनि सक्दिनँ

बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ

मसँग मस्तिष्क नभए नि मन छ

चेतना नभए नि चेत छ

विवेचना नभए नि वेदना छ

संवेदना छ

मलाई माफ गर यार

म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय दिवस मनाउन सक्दिनँ !

आफू जन्मे हुर्केको देशको माया धेरै भएकै कारण डिसेम्बर १७ मा उत्पन्न भावनाहरू मात्र पोखेको उनी बताउँछन्।

"यो कुनै त्यस्तो एउटा प्रोपगाण्डा गर्नको लागी मैले लेखेको हैन, मेरो आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दै मलाई आफूलाई लागेको कुराहरू अभिव्यक्त गरेको हुँ।"

कविता कै एक अर्को हरफमा लेखिएको छ।

अङ्ग्रेज क्याटल फारमरले चौपाया चिन्न अङ्कको चिन्ह

तिनका अङ्गमा लगाएर वर्गीकृत गरे झैँ

त्यो राष्ट्रद्वारा सात नम्बरको बिल्ला बाँधिएको

हाँसको बथानभित्रको यौटा बकुल्लो हुँ म

कवितामा उल्लेख गरिएको सात नम्बर बिल्लाका बारेमा यति राजले भने "तात्कालिन सरकारले विशेष गरी दक्षिणी भेगमा बस्ने नेपाल मूलका जनतालाई वर्गीकरण गर्‍यो उसले, एक नम्बर देखि लगेर सात नम्बर सम्म। "

र उनले  सात नम्बर भनेको पुर्खाको त्यहाँ अस्तित्व नभएको गैर नागरिककै दर्जा दिइएको भनेर पनि स्पष्ट पारे।

यति राजको भुटान सम्बन्ध

सन् २००८ मा शरणार्थी भिसामा अस्ट्रेलिया आएका यति राज अजनबीले आफू १४ वर्षको हुँदा भुटान छोडेका थिए।

भुटान छोडेपछि उनले नेपालका झापा, बाँके, बर्दिया, विराटनगर लगायत विभिन्न स्थानमा १५ वर्ष भन्दा बढी बिताएका छन्।

In the early 1990s, close to 100,000 Bhutanese were forced out of their homeland.
In the early 1990s, close to 100,000 Bhutanese were forced out of their homeland. Source: Alexandra Reynolds

आफू बस्दै आएको भुटानको दक्षिणी भू-भागका विद्यालयहरू बन्द भए पछि पढ्ने रहर हुँदा हुँदै पनि अजनबी त्यो अवसरबाट वञ्चित भए।

आफ्ना साथी भाइले  अन्य स्थानमा गएर अध्ययनलाई निरन्तरता दिन सक्ने भए पनि उनले भने त्यो अवसर पनि पाएनन्।

यसको प्रमुख कारण आफ्ना बुवा  जेल पर्नु रहेको उनले एसबीएस नेपालीलाई बताए।

पढेलेखेको र शिक्षित भएको कारण कसैले कुरा लगाइदिएकै आधारमा बुबा  पक्राउ परेपछि घर परिवारको जिम्मेवारी पूर्णतया जेठा छोरा यति राजको काँधमा आइपर्‍यो।

तर १८ महिना पछि बुबा  जेलबाट छुटेको १५ दिन पछि नै सन् १९९२ मा घरबाट बजार जान्छु भनेर भागेका थिए उनी।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now