करिब एक वर्षको तयारीपछि हुन लागेको नेपालीहरूको पहिलो अस्ट्रेलिया स्तरीय क्रिकेट प्रतियोगितामा व्यस्त एडिलेड नेपलिज क्रिकेट एसोसिएसन एन्काका अध्यक्ष विजय जोशीले एसबीएस नेपालीलाई बताए। एन्काको आयोजनामा यही आउँदो मार्च १५ देखि १७ सम्म दक्षिण अस्ट्रेलियामा पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको हो।
विजय जोशीका अनुसार सो प्रतियोगितामा अस्ट्रेलियाका पाँच राज्यबाट छ वटा नेपाली क्रिकेट टोलीहरूले भाग लिदैछन् ।
“अहिलेलाई सामाजिक एकता र सद्भाव बढाउने प्रयासको रूपमा लिउँ, राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन गर्न सकियो भने हाम्रो अहोभाग्य।”
न्यु साउथ वेल्सबाट नेपलिज क्रिकेट एसोसिएसन अस्ट्रेलिया, क्वीन्सल्याण्ड बाट टिम क्वीन्सल्यान्ड राइनो र नेपलिज क्रिकेट क्लब ब्रिस्बेन, भिक्टोरियाबाट नेपलिज क्रिकेट एसोसिएसन, तास्मानियाबाट गुर्खाज लिजेनड क्रिकेट क्लब र आयोजक एन्का रहेको जानकारी आयोजकले दिएका छन् ।
युनिभर्सिटी अफ एडिलिडको वेस्टबीच क्रिकेट मैदान र एडिलेडको पार्कको मैदानमै हुने यो प्रतियोगितामा अहिले नेपालबाट खेलिरहेका राष्ट्रियस्तरका खेलाडी र यही राज्य स्तरीय क्रिकेट लिग खेलिरहेका थुप्रै खेलाडीको सहभागिता रहने छ।
खेलको मुख्य उद्देश्य विभिन्न राज्यमा छरिएर रहेको नेपाली क्रिकेट प्रेमीबिच भाइचारा बढाउने रहेता पनि यस्ता प्रतियोगिताहरूले अस्ट्रेलियन नेपालीको नयाँ पुस्तामा क्रिकेट प्रेम बढाउने र नेपाली क्रिकेटरहरूको प्रतिभा निखार्ने विश्वास जोशीले लिए ।
जोशीका अनुसार यो प्रतियोगिता हरेक २ वर्षमा हुने र यसमा कानूनी रुपममा दर्ता भएका क्लबले मात्र खेल्न पाउने छन् ।
सन् २०१४ मा दर्ता भएर दक्षिण अस्ट्रेलियाको नेपाली समुदायमा क्रिकेट खेल गराउँदै आएको एन्काले यो राष्ट्रिय स्तरको प्रतियोगिताबाट अस्ट्रेलिया स्तरीय नेपाली क्रिकेट क्लब स्थापना गर्ने अवसर खोलिदिने जोशीको विश्वास छ।





