हाल चालु संसद्को बैठकलाई सम्बोधन गर्दै उनले सबै अस्ट्रेलियाली राज्य तथा प्रदेशहरूले मिलेर काम गर्दै देशको आन्तरिक सिमा सुचारु हुनुपर्ने आग्रह गरेका हुन्।
कोरोनाभाइरस प्रतिबन्धका कारण अन्तरराज्य सिमाहरू बन्द रहँदा सङ्घीय सरकार अहिले राज्य तथा प्रादेशिक सरकार प्रति रुष्ट बनेको छ।
अस्ट्रेलियामा महामरी सुरु भएर केही राज्यमा संक्रमण निकै बढे पछि वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, तास्मानिया, क्विन्सल्यान्ड र नर्दन टेरोटेरीले कोरानाभाइरस रोकथाम तथा नियण्त्रण भन्दै आ-आफ्ना सिमाहरू बन्द गरेका थिए।
विशेष गरेर आफना मतदाताका चहाना बुझेका र सिमा बन्द राखेका राज्य तथा प्रदेशहरुका नेतृत्वले कोभिड-१९ को महामारी अन्त्य वा खोप उपलब्ध नहुँदासम्म यसमा परिवर्तन गर्न रुचि देखाएका छैनन्।
तर व्यापारीक प्रतिष्ठानहरुले यस बारे सङ्घीय सरकारलाई बारम्बार पहल गरिदिन अनुरोध गर्दै आइरहेको छ र प्रधानमन्त्री पनि अन्तर-राज्य यात्रा सम्बन्धी सरकारको विशेषज्ञ मेडिकल प्यानलबाट कुनै खास स्वास्थ्य सल्लाह जारी गरिएको छैन भनिरहेका छन्।
"अहिले सिमाहरू बन्द किन छन् भनेर बुझ्न सकिन्छ," प्रधानमन्त्रीले संसद्को प्रश्नोत्तरकालका बखत भने।
"तर हामीले के गर्नु पर्ने छ भने अस्ट्रेलियालीहरूलाई यो थाहा दिनुपर्नेछ कि क्रिसमसबाट उनीहरू एक साथ रहन बस्न सक्नेछन् भनेर।"

राज्य र प्रदेशहरुले लागू गरेका प्रतिबन्धहरूलाई सहज बनाउने गरी दबाब दिन शुक्रबारको राष्ट्रिय क्याबिनेट बैठकमा कोरोनाभाइरस हटस्पट सम्बन्धि नयाँ परिभाषाको समर्थन गर्न प्रधानमन्त्री स्कट मरिसनद्वारा प्रिमियर तथा मुख्य मन्त्रिहरु समक्ष आग्रह गरिने बताइएको छ।
यसैको पहिलो कडि स्वरुप उनले सोमबार न्यु साउथ वेल्स तथा भिक्टोरियाका प्रिमियरहरूसँग संयुक्त बैठक गरेक थिए जसमा "सुरक्षित" हुना साथ ती दुई ठुला राज्यहरू बिचको सिमा खोलिने बारे वार्ता भएको थियो।
कोरोनाभाइरसको पहिलो लहर पछि क्रमिक रुपमा प्रतिबन्धहरू खुकुलो बनाइएको जस्तै आउँदा दिनमा पनि बिस्तारै रुकावटहरु हटाइनु पर्ने प्रधानमन्त्रीको भनाइ छ।

व्यापार मन्त्री साइमन बर्मिङ्घमले पत्रकारहरूसँग बोल्दै राज्य तथा प्रदेशहरुले "एकनासे निती" अबलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
"हामीले देशभरि धेरै-धेरै रोजगारहरू हराइरहेको देखिरहेका छौं र ती हाम्रो भ्रमण अनि पर्यटन क्षेत्रबाट गायब हुनेछन्," उनले भने।
"विशेष गरी सीमा वरपर बस्ने समुदायमा धेरैको जीवन यसले कष्टकर बनाएको छ।"

उता, विपक्षी दलका नेता एन्थोनी अल्बनिजेले भने प्रधानमन्त्री स्कट मोरिसनद्वारा केवल लेबर नेतृत्वका राज्य एवम् प्रादेशिक सरकारहरु माथि मात्र खनिएको आरोप लगाएका छन्।
"न त त्यो राष्ट्रिय हो न त क्याबिनेट नै," उनले फोबीसी रेडियोसँग भने।
"स्कट मोरिसनले यी बैठकहरूको अध्यक्षता गर्छन् र प्रिमियरहरूलाई उनीहरुले के गर्ने हो सो भन्छन्। त्यसपछि उनी बाहिर निस्कन्छन् र एक प्रेस सम्मेलन गरेर त्यस बारे घोषणा गर्छन्।"
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
