कोरोनाभाइरस महामारीका कारण करिब ६ हप्ता अगाडी सुरु गरिएका सामाजिक प्रतिबन्धहरू, सङ्क्रमण दर घट्दै गर्दा क्रमिक रूपले खुकुलो बनाउने घोषणा प्रधानमन्त्री स्कट मरिसनद्वारा गरिएको हो।
प्रतिबन्धहरू हट्दै गर्दा खुद्रा व्यापार पुनः सुचारु हुने र त्यसका साथ-साथै राज्यको एक स्थानबाट अर्को स्थानसम्मको आवतजावतमा पनि सहज हुने शुक्रवारको घोषणामा उल्लेख छ।
तर हाल लागू कडा प्रतिबन्धहरू केही राज्यहरूमा भने, अझै केही समयसम्म लम्बिने सङ्केतहरू पनि प्राप्त नभएका होइनन्।
विशेष गरी भिक्टोरिया तथा न्यु साउथ वेल्समा नयाँ सङ्क्रमणका मामिलाहरू सार्वजनिक हुँदै गर्दा अस्ट्रेलियाका अन्य भूभागमा सामाजिक प्रतिबन्धहरू बिस्तारै हट्ने क्रम सुरु भए पनि यी दुई राज्यहरूमा जनजीवन सहज हुन थप समय लाग्ने देखिएको हो।
आगामी दुई महिनामा तीन चरण गरेर सामाजिक बन्देजहरू हटाउने मार्गचित्र माथि शुक्रवारको राष्ट्रिय मन्त्रिपरिषद् बैठकमा छलफल भएपछि प्रधानमन्त्री मरिसनले क्यानबेरामा आयोजित एक पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन्।
घोषणामा घर बाहिर हुने १० जनासम्मको सामाजिक भेलाहरू माथि लागेको प्रतिबन्ध सबैभन्दा पहिले हट्ने उल्लेख छ।
पहिलो चरणमा मानिसहरूले पाँच जनासम्म पाहुनाहरू आफ्नो घरमा बोलाउन सक्ने, घर बाहिर १० जनासम्मले भेला हुन पाउने, पुस्तकालयहरूको पुनः खोल्ने, सामुदायिक केन्द्रहरू, खेल मैदानहरू, पौडी पोखरी, शपिंग सेन्टर, क्याफे- रेस्टुरेन्टहरू पुनः खुल्नेछन्।
त्यसै गरी स्थानीय र क्षेत्रीय रूपमा गर्न मिल्ने यात्रा पनि पहिलो चरणको फुकुवामा परेका छन्।
दोस्रो चरणको प्रतिबन्ध फुकुवामा भने घर बाहिर जम्मा हुन सकिने सङ्ख्या अधिकतम २० जना तोकिएको छ।
जिम, ब्यूटी स्यालन, सिनेमा घर, र सङ्ग्रहालयहरू सहित र केही अन्तर राज्य यात्रालाई पनि दोस्रो चरणको फुकुवामा प्रधानमन्त्रीले राखेका छन्।
तेस्रो चरणमा भने १०० जनासम्मको भेलालाई अनुमति दिइने बताइएको छ र जस अन्तर्गत फुड कोर्ट, नाइट क्लब, पब, र सौनाहरू जस्ता ठाउँहरूको पुनः खुल्नेछन्।
योसँगै तेस्रो चरण अन्तर्गत सबै अन्तर्राष्ट्रिय यात्राको पुनः स्थापना र अस्ट्रेलिया एवं न्युजील्याण्ड बिच हुने भ्रमणहरू, र अन्तर्राष्ट्रिय विद्यार्थी यात्राको विचार गरिने पनि स्कट मरिसनले बताएका छन्।
मरिसनका अनुसार यो वर्षको जुलाई महिनासम्ममा यी तीन चरणहरू पार गरेर कोभिड सुरक्षित अर्थतन्त्र प्राप्त गर्नु उनको लक्ष हो।
यी योजनाहरूको समीक्षा राष्ट्रिय मन्त्रिपरिषद्ले हरेक तीन हप्ताको अन्तरालमा गर्नेछ।
प्रमुख चिकित्सकीय अधिकृत ब्रेण्डन मर्फी भन्छन् कि यी तिन वटै चरणमा अस्ट्रेलियालीहरूले भौतिक दुरी सम्बन्धी नियमहरूको पालना गर्दै, हात राम्ररी धुने र सन्चो नभएको खण्डमा घरमै आराम गरेर बस्नु जरुरी छ।
अर्थतन्त्रलाई पुनर्जीवन
कोरोनाभाइरसका नयाँ सङ्क्रमणहरू बिस्तारै घट्दै जाँदा प्रधानमन्त्रीको ध्यान अब ओरालो लागेको अर्थतन्त्रलाई पुनर्जीवन दिने तर्फ बढेको छ।
हाल अस्ट्रेलियाका लगभग आधा जसो कामकाजी मानिसहरू कि त जबकीपर योजनामा नभए जबसीकर भुक्तानीको मुख हेरेर बस्न बाध्य रहेको बताइँदै गर्दा प्रधानमन्त्री मरिसन जति सक्दो चाँडो अर्थतन्त्रलाई सुरक्षित तवरले सुदृढ गर्न लागि परेका हुन्।
तर, विभिन्न राज्य एवं प्रदेशहरूद्वारा आफ्नै गतिमा विद्यालयहरू पुनः सञ्चालनबारे निर्णय कार्यान्वयन गरिरहेको परिप्रेक्ष्य भने जानकारहरू स्कट मरिसनलाई आफ्नो एजेन्डा लागू गराउन सोचे जत्तिको सजिलो भने नहुने सोच राख्छन्।

अस्ट्रेलियन च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रमुख कार्यकारी जेम्स पियर्सन यदि सबै राज्य तथा प्रादेशिक सरकारहरूले प्रधानमन्त्रीको कदमसँग कदम मिलाएर नहिँडे समस्या खडा हुने बताउँछन्।
“व्यापार व्यवसायहरूको ग्राहक अनि त्यसै सप्लायरहरू कुनै एक राज्य विशेषमा भन्दा अस्ट्रेलियाभर छरिएर रहेको अवस्थामा चुस्त रूपले सञ्चालित हुन पनि सबैले एउटै रूपरेखा पछ्याउनु आवश्यक छ,” उनी भन्छन्।
यसका साथै सामाजिक दुरी सम्बन्धी नियमहरू बारे पनि अधिकारीहरू स्पष्ट हुनुपर्ने पियर्सनको माग छ।
“मानिसहरू बिच १.५ मिटरको दुरी कायम गरिनुपर्ने हो कि चार वर्ग मिटरमा एक व्यक्ति हुनुपर्ने हो?” उनी प्रतिप्रश्न गर्छन्।
“हामीलाई यस सम्बन्धमा पनि थप स्पष्टता चाहिएको छ।”
तर, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडीस बेरिजिक्लियनले भने राष्ट्रिय क्याबिनेटले प्रतिबन्धहरू फुकुवा गर्ने बारे बिचार गरे पनि आफ्नो राज्यमा त्यस अनुरूपको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने सङ्केत दिएकी छिन्।
“मदर्स डे भन्दा अगाडी न्यु साउथ वेल्समा केही गर्न सकिन्न, म स्पष्ट पार्न चाहन्छु,” उनले बिहीबार भनेकी छिन्।
भिक्टोरियाली प्रिमियर ड्यानियल एण्ड्रुजले पनि सोमबारदेखि केही हल्का रूपमा प्रतिबन्धहरू आफ्नो राज्यमा हट्न सक्ने बताए पनि त्यस बारे निर्णय हुन बाँकी नै रहेको उनको भनाई आउँदै गर्दा क्विन्सल्याण्ड, नर्दन टेरोटेरि, वेस्टर्न अस्ट्रेलिया र साउथ अस्ट्रेलिया जस्ता राज्य एवं प्रदेशहरूमा भने बिस्तारै प्रतिबन्धहरू खुकुलो पारिने क्रम जारी छ।
एण्ड्रुजका अनुसार आगामी सोमबार - मे ११ देखि भने उनले नियमहरूमा हुने परिवर्तन बारे घोषणा क्रमिक रूपमा गरिनेछ तर ती तत्काल लागू भने हुने छैनन्।
भिक्टोरियालीहरू जति सक्दो चाँडो सामान्य जीवनमा फर्केको आफूले हेर्ने चाहे पनि उक्त कार्य सुरक्षित तवरले हुनुपर्ने उनले बताए।
क्यानबेरामा अब उप्रान्त १० जनासम्म भेला हुन सक्नेछन् भने क्विन्सल्याण्डमा पहिलो परिवर्तनहरू १६ मे देखि लागू गरिने छन्।
साउथ अस्ट्रेलियामा भने आगामी सोमबार देखि केही प्रतिबन्धहरू फिर्ता लिइने उक्त राज्यका प्रिमियर स्टिभ मार्सलको भनाई छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

