कोभिड-१९ का कारणले थुप्रै नेपालीले जागिर र कतिले बस्ने ठाउँ समेत गुमाएर सरकारलाई उद्धारको अपिल गरेपछि सरकारले त्यस्तो आश्वासन दिएको हो।
गत हप्ता विदेशमा रहेका नेपाली श्रमिकलाई सम्बोधन गर्दै श्रम मन्त्री रामेश्वर राय यादवले भने, “के कस्तो प्रणाली अवलम्बन गरी यहाँ तपाईंहरुलाई स्वदेश फिर्ता ल्याउने भन्ने कुरामा हामीले गम्भीरताका साथ अध्ययन गर्दै आवश्यक गृहकार्य गरिरहेका छौँ।”
“हाम्रो क्षमता यसलाई थेग्न सक्छ कि सक्दैन भन्ने कुरामा पनि सचेत रहनै पर्ने हुन्छ। अतः विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा असक्त व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनु पर्ने नै हुन्छ।"
नेपालका करिब ४० लाख मानिस वैदेशिक रोजगारीका क्रममा संसारभर छरिएर रहेका छन् र ती मध्ये धेरैजसो खाडी मुलुकमा छन्।

कोरोनाका कारणले उनीहरूलाई काम दिने कतिपय रोजगारदाताहरु नै बन्द भएका छन्।
कतिपय मुलुकले आप्रवासी कामदारलाई फिर्ता जान भनिसकेका छन्।
कुवेतले भिसाको समयावधि सकिसकेका मानिसहरूलाई आम माफी दिएको छ र कुवेत सरकारले नै विमान चार्टर गरेर उनीहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेको छ।
संयुक्त अरब इमिरेट्सले आफ्ना कामदार फिर्ता लैजान सम्बन्धित मुलुकलाई सूचित गरेको छ र नलगेमा त्यस्ता देशसँगको श्रम सम्झौता पुनर्विचार गर्ने चेतावनी दिएको छ।
स्वास्थ्यका दृष्टिकोणले पनि आप्रवासी कामदारको अवस्था खराब देखिएको छ।
बहराइनमा १५० भन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमित भएका छन्।

अन्य खाडी मुलुकले कामदारको मुलुक छुट्ट्याएर जानकारी दिएका छैनन्, तर त्यहाँ पनि धेरै नेपाली सङ्क्रमित भएको आशङ्का गरिएको छ।
कामदारहरू अव्यवस्थित तरिकाले सानो ठाउँमा बस्ने भएकाले सङ्क्रमण चाँडै फैलिने डर रहेको छ।
यस्तै परिस्थितिका कारण खाडी मुलुकका राजदूतहरूले नेपाल सरकारलाई चिठी लेखेपछि नेपालले आगामी जुन महिनामा उनीहरूलाई नेपाल फिर्ता ल्याउने तयारी थालेको हो।
यो भन्दा अगाडि नै सर्वोच्च अदालतले एउटा रिट निवेदनमा फैसला गर्दै विदेशमा रहेका मानिसलाई क्वारेन्टाइनको प्रबन्ध सहित फिर्ता ल्याउने आदेश दिइसकेको छ।
ह्युमन राइट्स वाच र एम्नेस्टि इन्टर्नेश्नल जस्ता संस्थाहरूले विदेशमा रहेका नेपालीको घर फिर्ता आउने हक रहेको र उनीहरूलाई फिर्ता आउन नदिनु गैर कानुनी भएको बताएका छन्।
तर हाल भने नेपालले देश भित्र आउने सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको हुनाले स्वेच्छाले आउन चाहने मानिसहरू पनि फिर्ता आउन सकेका छैनन्।
जुन महिनापछि पनि सरकारको योजना कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने आशङ्का रहेको छ, किनकि आप्रवासी कामदारको सङ्ख्या ठुलो छ।
कामदारहरू बाहेक विदेशमा अलपत्र परेका नेपाली विद्यार्थी र पर्यटक समेतले नेपाल सरकारसँग घर फिर्ता आउन पाउनु पर्ने माग गरेका छन्, तर सरकारले यस विषयमा केही बताएको छैन।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:












