अस्ट्रेलियाली ट्रेड युनियन परिषद् (एसीटीयु)ले अस्ट्रेलियाको अर्थतन्त्रलाई पुनः उँभो लगाउने कुशल एवं निष्पक्ष बाटोको रूपमा सबैभन्दा निम्न आय हुने श्रमिकहरूको ज्याला दर केही वृद्धि हुनु नितान्त आवश्यक रहेको बताएको हो।
कोरोना सङ्कटका कारण न्यूनतम ज्याला दरमा केही परिवर्तन हुन नहुने जिकिर रोजगारदाताहरुको छ।
तर एसीटीयुका अनुसार यदि जुलाईदेखि न्यूनतम ज्याला दर बढाउन फेयर वर्क कमिसनले स्वीकृति नदिए, समग्र रूपमा नै ज्याला दर एक प्रतिशत भन्दा कम मात्र वृद्धि हुनेछ।
यसका साथै एसीटीयुले फेयर वर्क कमिसनको न्यूनतम ज्याला दर सम्बन्धी एक विशेषज्ञहरूको प्यानललाई, सङ्घीय सरकारद्वारा रोजगारदाताहरूलाई तलब बढाउनु अगाडी कामदारहरूलाई रोजगारी मै राख्ने बारे सोच्न गरिएको आग्रह नमान्न पनि भनेको छ।

“प्यानलले यो धारणा लिनु हुँदैन कि सबै व्यवसायहरूलाई कुनै पनि हालतमा चालु रहनुपर्छ र तदनुसार कम ज्याला दिएर भए पनि काम सुचारु राख्नुपर्दछ जसले गर्दा उक्त लक्ष्य हासिल गर्न सकियोस्,” एसीटीयुले फेयर वर्क कमिसनद्वारा जारी एक पत्रको जवाफमा भनेको छ।
विशेष गरी खुद्रा, आवासीय सेवा प्रदायक र खाद्य सेवा जस्ता व्यापार व्यवसायहरू पुनः सञ्चालन गर्न हाल बन्देज लागिरहेको बेला कसरी न्यूनतम ज्याला बढ्दैमा रोजगारी सुधार हुन्छ भनेर फेयर वर्क कमिसनले परिषद्लाई सोधेको थियो।
युनियनका अनुसार सरकारद्वारा रोजगारी र बन्द व्यापार जोगाइ राख्न गरेको घोषणा यस अर्थमा पनि महत्त्वपूर्ण छ कि बजार पुनरुत्थान तर्फ लाग्ने क्रमसम्म पनि ती सहयोगहरू जारी नै रहनेछन्।

उसका अनुसार यी विशेष व्यवस्थाहरू अर्थतन्त्र स्वतः आफै बजार व्यवस्थापनका कारण धराशायी नभई महाविपद्को नियन्त्रण गर्न चालिएका कदमहरूका कारण रहेको र स्थिति बिस्तारै सामान्य बन्दै जाँदा बजार पुनः उँभो लाग्ने तर्फ पनि सम्बन्धित पक्षहरूद्वारा बिचार गरिनुपर्छ।
सरकारले सुरुमा ६ महिनाका लागि बन्देजहरू लागू हुने बताए पनि हालको अवस्था हेर्दा अधिकांश प्रतिबन्धहरू जुलाईसम्ममा निकै कम भई सक्ने पनि एसीटीयुको आङ्कलन छ।
अर्को तर्फ रोजगारीमा आएको भारी गिरावटका कारण पनि नयाँ आर्थिक वर्षमा उपभोक्ताहरूले निकै कम पैसा खर्च गर्ने अनुमान पनि अस्ट्रेलियाली ट्रेड युनियन परिषद्को छ।
“यस्तो अवस्थामा अलिकति भए पनि तलब वृद्धि हुनु भनेको हाम्रो देशलाई आर्थिक मन्दीबाट निकाल्नु हो,” ट्रेड युनियन परिषद्को जवाफी पत्रमा भनिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

