कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन नदिन भन्दै गत एक महिना भन्दा बढी समय देखि अस्ट्रेलिया भर नै विभिन्न प्रतिबन्धहरु सुरु गरिंदा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सहयोग पुर्याउन यहाँका धेरै संघ संस्था र स्वयंसेवीहरु सक्रिय भइरहेका छन्।
शेर्पा सङ्घ भिक्टोरिया तिनै सहयोगी मध्येको एक सामुदायिक संस्था हो।
उक्त संस्थाका एक पदाधिकारी पेम्बा शेर्पाका अनुसार विद्यार्थीहरू अन्य आप्रवासीभन्दा बढी कमजोर र असुरक्षित देखिएकाले उनीहरूलाई मद्दत गर्न आफूहरू लागि परेका हुन्।
“अरूहरूको त जब लस हुँदा सरकारले अलिकति भए हेरिदिएको छ - विद्यार्थीहरू भने अलपत्र र अन्योलको स्थितिमा रहेको हामीले पायौ। सबै नभए पनि हाम्रै शेर्पा समुदायका भाइबहिनीहरूलाई मात्रै भए पनि अलिकिती हेल्प गर्न सकियो भने सबैलाई सजिलो हुन्छ भन्ने ठानेर अघि बढेका छौँ,” शेर्पाले एसबीएस नेपालीलाई भने।

हालसम्म लगभग दुई दर्जन जति विद्यार्थीहरूलाई तत्काल राहत स्वरूप खाद्यान्न वितरण गरेको उक्त सामुदायिक सङ्गठनले भिक्टोरियाको मात्र नभएर नर्दन टेरोटेरीमा बस्नेलाई पनि आफ्नो सहयोग विस्तार गरेको उनको भनाई छ।
“हामीले विशेष रूपमा मेलबर्नको कोबर्ग वरिपरि बस्ने विद्यार्थीहरू माथि केन्द्रित भए पनि मेलबर्न कै च्याडस्टोनदेखि रिजनलमा पर्ने ब्यालाराट र डार्विनमा रहेका विद्यार्थी भाइबहिनीहरूलाई रिलिफ स्वरूप खानेकुराहरू वितरण गरेका छौँ,” पेम्बा शेर्पा भन्छन्।
“हामीले (खानेकुरा) उहाँहरूलाई आगामी दुई महिनासम्म पुग्ने अनुमान गरेका छौँ।”
सहयोगको पहिलो चरण स्वरूप हाललाई खाद्यान्न वितरणमा ध्यान दिएता पनि आगामी दिनहरूमा विकसित हुने घटनाक्रम अनुरूप नै अन्य सहयोगका लागि पनि अगाडी बढिने शेर्पा सङ्घ भिक्टोरियाले जनाएको छ।
यसै गरी भिक्टोरियामा बस्ने महिलाहरूको उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी)ले पनि विद्यार्थीहरूलाई खाद्यान्न लगायतका अन्य सहयोग पुर्याईरहेको उक्त संस्थाकी उपाध्यक्ष प्रभा श्रेष्ठले एसबीएस नेपालीलाई बताइन।

“सहयोग गरिदिनु पर्यो भनेर अहिलेसम्म १७४ जना भाइबहिनीहरूले हामीलाई रिक्वेस्ट पठाई सक्नुभएको छ,” श्रेष्ठले भनिन्।
“त्यस मध्ये हामीले ६८ जनालाई पहिलो चरणमा सहयोग वितरण गरिसकेका छौँ। अलि व्यवस्थित तरिकाले काम होस् र कसैले दुई पटक लगालग कसैले एक पटक पनि केही नपाउने स्थिति न आओस् भनेर हामीले असेस्मेन्ट एन्ड रेस्पोन्स युनिट बनाएर काम गरिरहेका छौँ।”
सङ्कटको बेला मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने बारे आफूहरू सजग रहेको बताउँदै, उनले यसबारे सचेतना फैलाउने र आवश्यक परेको खण्डमा सम्बन्धित पेशेवर सहयोग प्रदान गर्ने विभिन्न निकायहरूसँग डीबीएसभीले समन्वय र कार्यगत एकता गरिरहेको बताइन।
साथै, बासको समस्या परे पनि विद्यार्थीहरूको अवस्था हेरेर आगामी दिनमा त्यस सम्बन्धी सक्दो सहयोग गर्न पनि दिदी बहिनी समाज भिक्टोरियाका सदस्यहरू तत्पर रहेको प्रभा श्रेष्ठले जनाइन।
श्रेष्ठ भन्छिन् कि आफूहरूले विद्यार्थीहरूको विवरण सङ्कलन गरेता पनि गोपनीयतामा पूर्ण ध्यान दिइएको छ र अन्य सेवा प्रदायकहरूसँग समन्वयका क्रममा उक्त विवरण बाँड्नु परे विद्यार्थीहरूसँग सो बारेमा पूर्व अनुमति लिएर मात्र अगाडी बढ्ने आफूहरूको नीति छ।
“सबै सहयोग हामी आफै दिन सक्षम छैनौँ। हामीले रिसोर्स प्रोभाइडर्ससँग लिङ्क गरिदिने काम गर्छौँ, ए यी भाइबहिनीहरूलाई सहयोगको खाँचो छ - अहिलेको स्थितिमा उनीहरू यहाँको नागरिक वा पिआर होल्डर छैनन् भनेर नपन्छिदिनुहोस् भनेर सफलतापूर्वक एड्भोकेसी गरेका छौँ,” उनले आफूहरूद्वारा गरिने कामको बयान गर्दै भनिन्।

सिड्नीका स्वयंसेवक
सिड्नीमा परोपकारी काम गर्दै आएको भिजन फर मोटिभेसन नामक संस्थाले पनि कोरोना भाइरस संक्रमणका बीच रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल परेकाहरूका लागी सहयोगको हात अगाडी बढाएको छ।
सिड्नीमा परोपकारी काम गर्दै आएको भिजन फर मोटिभेसन नामक संस्थाले पनि कोरोना भाइरस सङ्क्रमणका बिच रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल परेकाहरूका लागी सहयोगको हात अगाडी बढाएको छ।
'मिल फर मेट्स' नामक अभियान मार्फत समस्यामा रहेका आफ्नो साथीहरूलाई सहयोग गर्ने मूल मन्त्रका साथ गत महिना देखि किराना सामग्रीहरू बाँड्न सुरु गरेको थियो।

एक महिना को समय अवधिमा मा भीएफएमले अहिले सम्म ४०० भन्दा बढीलाई खाद्य सामाग्री उपलब्ध गराएको संस्थाका संस्थापक मध्येका एक महेश प्रसाईँले जानकारी दिए।
अस्ट्रेलियामा रहेका युवाहरूकै सक्रिय सहभागिता रहने भीएफएमले नेपाली युवाहरूको सहायताका लागी बेला बेलामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरूको पनि आयोजना गर्दै आएको छ।
महेश प्रसाईँ आफैँ पनि सन् २००८ मा आएको बेला काम पाउन गाह्रो हुने समयका एक पीडित थिए। र अहिले जस्तो अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सहयोगका लागी खासै कुनै संस्था सक्रिय पनि थिएनन्। धेरै सङ्घ संस्था र व्यक्तिहरू सहयोगको लागी अगाडी बढिरहेको यो परिस्थितिमा उनी अहिलेका विद्यार्थीहरूलाई भाग्यमानी पनि भन्न रुचाउँछन्।
सो संस्था मार्फत खाद्य सामाग्रीहरू उपलब्ध गराउने सहयोगी हातहरूको पनि कमी छैन।

"विशेष गरी अस्ट्रेलियाका स्थानीय व्यवसायीहरूले सहयोग गर्नु भएको छ। हामी रकम माग्दैनौँ उहाँहरूले खाद्य सामाग्रीहरू उपलब्ध गराउनु हुन्छ।"
भीएफएमले प्रत्येक हप्ता आफ्नो फेसबुक पेजमा सहयोगका लागी आग्रह गर्ने विद्यार्थीहरूका लागी सहयोग स्वरूप खाद्य सामाग्री हरूको प्याकेज उपलब्ध गराउँदै आएको छ। जस अन्तर्गत शनिवार पनि रक्डेल र ग्रानभिलबाट विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराएको छ।
"यसरी सामग्रीहरू उपलब्ध गराउँदा पनि विद्यार्थीहरूको फेसबुक प्रोफाइल हेरेर नोभेम्बर र फेब्रुअरीमा आएका विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राख्दै सहयोग उपलब्ध गराउने गरेका छौँ।"
चामल, दाल, आलु, अण्डा लगायतका सामग्रीहरूको एक प्याकेजले चार जनालाई एक महिनाका लागी पुग्ने बताइएको छ।
राहत भन्दा पनि साथीलाई साथीले गर्ने सहयोगका रूपमा सञ्चालित रहेको यो अभियानमा नेपाली समुदाय बाहेकका व्यवसायीहरूले पनि सहयोगी हात अगाडी बढाइरहेका छन्।
र भीएफएमले पनि सहयोगको आवश्यकता रहेका जो कोही अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने बताएको छ। प्रसाईँले अहिले सम्म ४ जना नेपाल बाहेकका राष्ट्रबाट आएका विद्यार्थीहरू सहयोग गरिसकेको बताए।

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) को भुमिका
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष्य केशव कँडेलका अनुसार कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिले सम्म २,२०० भन्दा बढी विद्यार्थीहरु बाट सहायताका लागि आवेदन आएका छन्।
ती मध्ये ८५० भन्दा बढीले अहिलेसम्म खाद्यान्न सहयोग पाइसकेको पनि उनको भनाइ छ।
अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशमा रहेका ८५ भन्दा बढी नेपाली सामुदायिक संगठनहरु द्वारा प्रदान गरिएको नगद र खाद्यान्न सहयोगका साथ् प्रभावितहरुका लागि राहत वितरण गर्न आफुहरु सफल भएको कँडेल बताउछन्।
"आफ्नो हिसाबले सक्दो सहयोग गर्नुहुने सम्पूर्ण सबै संघसंस्थाहरुलाई मा हृदय देखि धन्यबाद दिन चाहन्छु", उनले भने।

साथै आफ्नो सहयोग खाद्यान्न वितरणमा मात्र सीमित नरही विद्यार्थीहरुका लागि रोजगार सम्बन्धि प्रशिक्षण कार्यक्रमहरु पनि संचालन गर्ने योजना रहेको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष्यले जोड दिएका छन्।
रेजुमे बनाउने, वृद्ध स्याहार वा कृषि उद्योग जस्ता मागमा रहेका पेशाहरुमा काम खोज्नेबारे जानकारी प्रदान गर्ने लगायतका सुचनामुलक कार्यक्रमहरु सुरु गर्ने योजना रहेको कँडेलले बताए।
एनआरएनएद्वारा हाल संचालन गरिएको कोभिड-१९ कार्यदलमा सहयोग पुराउने संस्थाहरुमा भिक्टोरिया स्थित एप्प्पिङ्ग-वलर्ट नेपाली संघ पनि एक रहेको छ।
उत्तरी मेलबर्नमा रहेको उक्त संस्थाका रोशन उपाध्याय भन्छन् कि सहरको केन्द्रमा भन्दा अलि पर कम सङ्ख्यामा विद्यार्थीहरू बस्ने हुँदा आफूहरूले संस्थाको क्षमता अनुसारको एनआरएनएको नेतृत्वमा रहेको एककृत राहत कोषमा रकम दाखिला गरेका छौँ।
“हाम्रो हिसाबमा हामीले बुझाएको रकमले १५ जनालाई कम्तीमा पनि १० दिन जतिको राहत सामाग्री उपलब्ध हुनेछ,” उपाध्यायले एसबीएस नेपालीलाई भने।
उता, एडिलेडमा बस्ने विद्यार्थी सहितको एक सामुदायिक संस्था - नेपाली इन एडिलेडले पनि अन्य विद्यार्थीहरूलाई राहत बाँडी रहेको प्रकाश गैरेले बताए।
“विद्यार्थीहरूको मुख्य चिन्ता भनेको घर भाडालाई लिएर छ - किनभने धेरै जना घर भाडा बापतको रकम तिर्न असमर्थ हुनुभएको हामीले पाएका छौँ। खाद्यान्नलाई लिएर पनि समस्या छन्। हामीले सक्दो सहयोग पुर्याउने कोसिस गरिनै रहेका छौँ,” गैरेले भने।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

