कोरोनाभाइरस सङ्कटका कारण बन्द भएका रेस्टुरेन्ट तथा क्याफेहरूलाई जुन महिनादेखि पुनः सञ्चालनमा ल्याउन रेस्टुरेन्ट एण्ड केटरिंग अस्ट्रेलियाद्वारा योजना अघि सारिएको हो।
रेस्टुरेन्ट एण्ड केटरिंग अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत वेस ल्याम्बर्टद्वारा राष्ट्रिय मन्त्रिपरिषद् समक्ष प्रस्तुत गरिएको उक्त खाका अनुसार कोभिडसेफ एप नभएका मानिसहरूलाई रेस्टुरेन्ट एवं क्याफेहरूमा आउँदा उनीहरूले आफ्नो नाम र सम्पर्क नम्बर दिए मात्र प्रवेश दिने प्रस्ताव उल्लेख छ।
अघिल्लो हप्ता नै राष्ट्रिय मन्त्रिपरिषद् समक्ष बुझाइएको उक्त प्रस्ताव माथि क्याबिनेटले समीक्षा पुरा गरेर हाल क्विन्सल्याण्ड राज्य सरकारसँग आगामी जुन महिनादेखि त्यहाँका रेस्टुरेन्ट र क्याफेहरू पुनः सञ्चालनमा कसरी ल्याउन सकिन्छ भन्ने बारे बिचार विमर्श गरिरहेको बताइको छ।
ल्याम्बर्टद्वारा प्रस्ताव गरिएका उपायहरूमा टेबलहरू बिचको दुरी १.५ मिटर कायम गरिने, एक पटक प्रयोग गरेर फ्याँक्न मिल्ने मेनुहरूको प्रयोग, टेबलहरू माथि नुन, चिनी, मरीच आदी मर-मसला नराखिने बरु त्यसको सट्टा ह्याण्ड स्यानीटाइजहरू उपलब्ध गराइने र मानिसहरूलाई उनीहरूको बस्ने पालो नआएसम्म सामाजिक दुरी कायम हुने गरी प्रतीक्षा गर्न व्यवस्था गरिने जनाइएको छ।

उनका अनुसार यी उपायहरू अत्यन्त व्यावहारिक र अत्यन्त कम लागतका छन्।
कोभिडसेफ एप नभएको खण्डमा आफ्नो नाम र आफूलाई सम्पर्क गर्न मिल्ने टेलिफोन नम्बर उपलब्ध गराउनु ज्यादा जटिल कार्य नभएको बताउँदै वेस ल्याम्बर्टले यसलाई टेबलमा एक घण्टा बस्ने अनुमतिको संज्ञा दिए।
“हामी उक्त एपलाई पूर्ण समर्थन गर्छौँ र त्यसको अनुपस्थितिमा सम्पर्क विवरण लिनु सर्वोत्तम व्यवस्था हो,” उनले भने।
“कुल क्षमताको २५ प्रतिशत ग्राहकलाई मात्र प्रवेश दिए व्यवसायीहरूले पैसा कमाउन वा प्रभावकारी रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्दैनन्,” उनले भने।
कोरोना सङ्कटका कारण थुप्रै रेस्टुरेन्टहरू टेक अवे तर्फ आकर्षित भएर आफै डेलिभरी गर्ने वा खाना डेलिभरी गर्ने अन्य सेवा प्रदायकहरूसँग सहकार्यको थालनी गरेको बताउँदै वेस ल्याम्बर्टले अब यस्तो व्यवस्था कोरोना सङ्कट पछिको समयमा पनि चलिरहने बताए।
यसको साथै, जबकीपर भुक्तानी सेप्टेम्बर मसान्त पछि पनि कायम रहिरहनुपर्ने माग उक्त सङ्गठनले अघि सारेको छ।
“रेस्टुरेन्टहरूलाई सुरक्षा उपायका रूपमा पनि, उनीहरूको व्यापार अघिल्लो वर्षको भन्दा ३० प्रतिशतले कम रहुन्जेल, सरकारले सहयोग उपलब्ध गराउनुपर्छ,” ल्याम्बर्टले स्पष्ट पार्दै भने।
उनका अनुसार कोरोना सङ्कट सुरु भएपछि घोषणा गरिएका अधिकांश सुविधाहरू व्यापार सामान्य नभएसम्मका लागि लागू हुनु जरुरी छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

