पश्चिमी मेलबर्न स्थित सेडर मिट्सको ब्रुकलिन स्थित मासु प्रशोधन केन्द्रबाट अघिल्लो महिना सुरु भएको सङ्क्रमणले भिक्टोरियामा नयाँ मामिलाहरू थपिएको हो।
बुधवार बिहान पुष्टि भएका थप चार सङ्क्रमणका घटनासँगै हालसम्म उक्त मासु प्रशोधन केन्द्रका कारण कुल ४९ मामिलाहरू थपिएको बताइएको छ।
अप्रिल महिनाको २ तारिखमा सेडर मिट्ससँग सम्बन्धित पहिलो सङ्क्रमणको मामिला भेटिए पनि राज्यका स्वास्थ्य अधिकारीहरूले उक्त मासु प्रशोधन केन्द्रलाई त्यसबाट जोखिम नभएको भन्दै सञ्चालनमा बन्देज नलगाएको बुझिन आएको छ।

अधिकारीहरूले उक्त पहिलो मामिलासँग सम्बन्धित कर्मचारीद्वारा सङ्क्रमण पुष्टि हुँदा सेडर मिट्समा नगएको भनेकाले उक्त मासु प्रशोधन केन्द्रलाई जोखिमयुक्त नमानेको दि अस्ट्रेलियनले लेखेको हो।
भिक्टोरिया राज्यको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार हाल फैलावट भएको कोभिड-१९ सङ्क्रमणको लहर भने अप्रिल २४ मा भेटिएको मामिलाबाट सुरु भएको हो।
राज्यको स्वास्थ्य विभागले अप्रिल २९ मा आएर मात्र थप आवश्यक कारबाही सुरु गरेको र त्यस अवधिमा उसले राम्रोसँग उक्त मासु प्रशोधन केन्द्रसँग सम्बन्धित मामिलाहरूको जाँच र सेडर मिट्सको नाम सार्वजनिक नगरेको भन्दै सार्वजनिक आलोचनाको सिकार हुनुपरेको छ।
“ती परीक्षणका नतिजाहरू सकेसम्म चाँडो आउने आसा गरिएको छ र ती हरेक दिन सार्वजनिक गरिन्छ। वधशालालाई १४ दिन बन्द रहन सुझाव जारी गरिएको छ र स्वास्थ्य सम्बन्धी अरू जानकारी आएपछि त्यसको पनि समीक्षा हुनेछ,” विभागले भनेको छ।
अप्रिल २४ मा दोस्रो मामिला भेटिएपछि भने हाल उक्त वधशालामा कार्यरत सबै ३५० कर्मचारीहरूको कोरोनाभाइरस सङ्क्रमण परीक्षण सम्पन्न भएको बताइएको छ।
राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले भने भिक्टोरियाले नयाँ मामिला बढ्ने क्रमलाई राम्ररी रोक्न सफल रहेता पनि कोभिड-१९ विरुद्धको आफ्नो अभियान समापन भन्दा निकै टाढा रहेको टिप्पणी गरेका छन्।
“हामीले भने अनुसार नै व्यावसायिक केन्द्रहरूले समुदायमा जोखिम फैलनबाट रोक्ने सबै काम गरिरेको अवस्थामा उनीहरू सबैको नाम यदि सार्वजनिक गरिदिने हो भने यो ती व्यापारिक संस्थानहरू प्रति विश्वास नगरेको जस्तै हुन्छ,” सटनले भने।
उनका अनुसार अब उप्रान्त भने यस्ता कार्यस्थलहरूको नाम सार्वजनिक गर्ने कि नगर्ने बारे आफ्नो नीति बारे समीक्षा हाल जारी रहेको छ।
“मेरो बिचारमा आश्वासन दिन र खुल्ला एवं पारदर्शी हुन अनि हामीसँग लुकाउनु पर्ने त्यस्तो केही पनि नभएको अवस्थामा सबैको नाम लिनु उपयुक्त हुनसक्छ,” भिक्टोरियाली प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले भने।

उता, सेडर मिट्स अस्ट्रेलियाका प्रबन्ध निर्देशक टोनी काइरुजले पहिलो पटक आफ्ना कुनै कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएको आफूले अप्रिल २७ मा मात्र थाहा पाएको बताएका छन्।
उक्त दिन सेडर मिट्सका एक कर्मचारीलाई काम गर्दा गर्दै दुर्घटनामा परे पछि अस्पताल लागिएको थियो जहाँ उनको शल्यक्रिया पश्चात् गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
उता, राज्यको विपक्षी दलले यस काण्डलाई भिक्टोरियाली प्रिमियर ड्यानियल एण्ड्रुजको “रुबी प्रिन्सेस” क्षण भनेको छ।

राज्यमा प्रतिपक्षको नेतृत्व गरिरहेका लिबरल गठबन्धनका माइकल ओब्र्यानले र राज्य सरकार एवं स्वास्थ्य विभागद्वारा सङ्क्रमण फैलन दिएर सेडर मिट्स क्लस्टर स्थापना हुन खेलेको भूमिका बारे एक स्वतन्त्र जाँच हुनुपर्ने माग अघि सारेको छन् ।
“हामीले कोरोनाभाइरसको प्रकोप व्यापक रूपमा फैलिरहेको देखिरहेका छौँ। सङ्क्रमणको सङ्ख्या हाम्रो राज्य भरि बढ्दै छ, र सरकारले यो स्थितिसम्म कसरी आइपुगियो भनेर बुझाउनु आवश्यक छ,” ओब्र्यानले भने।
त्यसै गरी राज्यकी विपक्षी स्वास्थ्य प्रवक्ता जर्जी क्रोजीएरले आम मानिसहरूले यस घटना बारे पहिल्यै थाहा पाउनु पर्ने बताएकी छिन्।
“यो क्लस्टर यत्रो ठुलो कसरी भयो भन्ने बारे थुप्रै प्रश्नहरू अनुत्तरित नै छन्,” क्रोजीएरले भनिन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

