भिक्टोरियाकी स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले सोमबार एक ट्विट मार्फत आफ्नो राज्यमा आइतबारको दिन थप दुई मानिसहरूले कोभिड -१९ सङ्क्रमणका कारण ज्यान गुमाएको पुष्टि गरेकी हुन्।
ट्विटरमा लेख्दै मिकाकोसले ती पछिल्ला घटनामा ५० वर्ष कटेका एक पुरुष र ८० वर्ष काटेकी एक अर्की महिला रहेको बताएकी हुन्।
उनले ती मृतकका परिवार आफ्नो मनमा रहिरहेको पनि उल्लेख गरेकी छिन्।
यस अघि, आइतबार कोभिड-१९ सङ्क्रमणका ८७ नयाँ मामिला दर्ता गरेको न्यु साउथ वेल्स राज्यमा, सोमबार बिहान जारी गरिएको आधिकारिक सूचना अनुसार, थप ५७ नयाँ मामिलाहरू पछिल्लो २४ घण्टामा भेटिनुका साथै ८६ र ८५ उमेरका दुई वयोवृद्ध मानिसहरूले कोभिड-१९ का सङ्क्रमणका कारण ज्यान गुमाएको पुष्टि भएको छ।
सप्ताहान्तभर कम परीक्षण भएकाले पनि नयाँ मामिलाहरूमा ह्रास आएको हो।
आइतबार नै न्यु साउथ वेल्स प्रहरीका महानिरीक्षक मिक फुलरले विवादास्पद क्रुज जहाज रुबी प्रिन्सेस माथि आपराधिक गतिविधिमा संलग्न रहेको बारे अनुसन्धान हुने बताउँदै गर्दा ती दुई वयोवृद्ध मानिसहरूले कोभिड-१९ का सङ्क्रमणका कारण ज्यान गुमाएको पुष्टि भएको हो।
उक्त पानी जहाजमा सवार भएर अस्ट्रेलिया प्रवेश गरेका दुई हजार भन्दा बढी मानिसहरू मध्ये ६२२ जनालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ भने ती मध्ये ११ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।

“राष्ट्रिय जैविक सुरक्षा कानूनहरू र हाम्रो राज्य कानूनहरू तोडिएका छन् कि छैनन् भनेर निर्क्योल गर्ने एक मात्र उपाय भनेको आपराधिक अनुसन्धान मात्र हो,” फुलरले भने।
उनका अनुसार, क्रुज जहाजमा बिरामी यात्रुहरूको स्वास्थ्य स्थिति बारे पारदर्शिता अनुसन्धानको लागि महत्त्वपूर्ण प्रश्न रहने छ।
मिक फुलरद्वारा घोषित अनुसन्धानले न्यु साउथ वेल्स बन्दरगाह प्राधिकरण, राज्य प्रहरी र एम्बुलेन्स एवं रुबी प्रिन्सेस जहाजका सञ्चालक - कार्निभल अस्ट्रेलिया सबै माथि अनुसन्धान हुने बताइएको छ।
सोमबार बिहान रुबी प्रिन्सेस जहाज वलङ्गगङ्ग नजिकैको पोर्ट केम्ब्लामा रोकिएको छ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार स्वास्थ्य परीक्षण, उपचार वा जहाजका कर्मचारीहरूलाई आपत्कालीन अवस्थामा त्यहाँबाट निकाल्न, रुबी प्रिन्सेस आगामी १० दिनसम्म सोही बन्दरगाहमा रहने व्यवस्था गरिएको छ।
उक्त जहाजमा रहेका एक हजार भन्दा बढी कर्मचारी लगायतका मानिसहरू मध्य २०० जतिले कोरोनाभाइरस सङ्क्रमितलाई देखिने लक्षणहरू प्रदर्शन गरेको बताइएको छ।
सोमबार बिहानसम्म अस्ट्रेलिया भर कुल ५,७५० मानिसहरू कोभिड-१९ बाट सङ्क्रमित भइसकेका मध्ये अर्को ठुलो राज्य भिक्टोरियामा मात्र १,१३५ मामिलाहरू पुष्टि भएका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
